arrow

तरकारी खेतीबाट बार्षिक ५ लाख कमाई

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
tomotor-crops.jpg.jpeg
कालीकोट। दाँहा–७ कालीकोटका मीमबहादुर शाहीलाई आजभोली मान्म बजारमा टमाटर बेच्न भ्याइ नभ्याइ छ। उनी प्रायः एक दिन बिराएर आफ्नो बारीको टमाटर बोकेर मान्म बजार आइ पुग्छन र बेचेर साँझ घर फर्किन्छन्। सानो बारीमा थालिएको तरकारी खेतीले आफ्नो जीवनमा ठुलो परिवर्तन ल्याएपछि उनी तरकारी खेतीतर्फ आकर्षित भएको बताउँछन्। 
 
‘एक बोरा मकै उत्पादन हुने बारीमा तरकारी खेती गरे पछि १३ बोरा मकै किन्ने पैसा कमाएँ’ उनले भने, ‘त्यसपछि अन्नबाली लाउनु भन्दा तरकारी खेती गर्न मन लाग्यो र व्यवसायिक तरकारी खेती सुरु गरेको हुँ। एक महिनामा टमाटर बिक्रिबाट एक लाख रुपैयाँभन्दा बढी आम्दानी भएको बताउँने शाहीले आफ्नो पुख्र्यौली सबै जग्गामा परम्परागत खेती छोडेर तरकारी खेती थालेपछि आर्थिक परिवर्तनमा सफल भएको बताए। 
 
शाहीले थालेको तरकारी खेतीको सफलता उनको आर्थिक स्तर बृद्धिसंम्म मात्र सिमित भएन जसले उनको गाउँको नामाकरण समेत परिवर्तन गरि दियो। दाँहाको वडा नं. ७ को नेप्टेगाउँलाई आलुखेतको नामले पहिचान बनाउन शाहीले थालेको व्यावसायिक तरकारी खेतीको भुमिका नै भएको गाउँलेहरु बताउँछन्। मीमबहादुर शाहीले पनि यो कुरालाई स्वीकार गरे। ‘मैले तरकारी खेती सुरु गर्दा आलु लगाएको थिएँ’ उनले भने, ‘आलु लगायो भनेर गिज्याँउँदै गाउँलेले पहिले आलुखेत नामाकरण गरेका हुन् पछि त्यही नाम गाएँको पहिचान बनेको छ।’ 
 
जिल्लाको पूर्ववर्ती दाँहामा शाहीले धान, मकै र गहुँखेती छाडेर तरकारी खेती थाले पछि उनको आर्थिक बिकास भएको हो। मकै, धान र गहुँखेतीबाट भन्दा तरकारीखेतीबाट तेब्बर फाइदा भएपछि परम्परागतखेती छाडेर तरकारी खेतीमा लागेको उनले बताए। परम्परागत मकै र धानखेती छाडेर व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेपछि आर्थिक स्थितिमा सुधार आएको उनले बताए। छ, सात बर्षअघि यही समयमा परम्परागत रूपमा गरिने धान र मकैखेती गर्न व्यस्त शाहीले अहिले भने व्यावसायिक तरकारी खेतीबाट बार्षिक ५ लाखसम्म कमाउन थाले पछि उनी कस्सिएका छन्। ‘धान र मकै खेतीबाट वर्षमा ३ महिना खाना पुर्‍याउन पनि मस्किल थियो’ उनले विगत सम्झिदै भने, ‘अहिले तरकारी खेती गर्न थालेपछि वर्षमा पाँच लाखसम्म कमाउन सकेको छु।’ 
 
बारी र खेतमा खुर्सानी, सिमी, बोडी, गोलभेडा, भान्टा लगाएका थुप्रै तरकारी लटरम्म फलेका छन्। उनले सिजन अनुसारको तरकारी खेतीबाट आफूले मासिक राम्रो कमाइ गर्ने गरेको बताए। परम्परागत खेतीबाट भन्दा सीप र मेहनतले व्यावसायिक तरकारी खेतीबाट बढी फाइदा लिन सकिने विश्वास शाहीको छ। कुनै बेला जीवन निर्वाहका लागि बन्चरो र बरियोसंग मितेरी गाँसेर मान्म बजारमा दाउरा बेच्दै जीवन धानेको बताउने शाहीले २० बोट काउली रोपेर तरकारी खेती सुरु गरेको स्मरण गरें। ‘शुरुको बर्ष सिप्रेड नाम गैर सरकारी संस्थाले समूहमा बाँडेको २० बोट काउलीबाट राम्रो आम्दानी गर्न सकेपछि तरकारी खेतीमा हौसला मिलेको हो’ शाहीले भने।
 
तरकारी खेती गर्न थालेपछि उनले आफ्नो बारीमा फलेको तरकारीबाट अन्न साट्ने गरेको बताए। शाहीलेको तरकारी खेती हेरे पछि उत्साहित भएका जिल्ला कृषि बिकास कार्यालय कालीकोटका बरिष्ठ कृषि बिकास अधिकृत सुनिलकुमार सिंहले मेहनती किसानहरु आत्म निर्भर बन्न सफल भएको बताए। ‘शाहीको मेहनत र लगनशिलताले म खुशी भएको छु’ सिंहले भने, ‘जिल्लाका अगुवा कृषकहरुलाई नमूनाको रुपमा अरुलाई चिनाउने खालका कार्यक्रम तयार गर्ने छु।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ