arrow

कास्कीमा मतदाता नामावली दर्ता गराउन नागरिकको उत्साह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
Matadata.jpg

पोखरा । कास्कीमा मतदाता नामावली दर्ता गराउन नागरिकको उत्साह बढेको छ ।

आगामी निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य शुरु गरेपछि नागरिकको उत्साह बढेको हो ।

नागरिकको उत्साह बढेसँगै निर्वाचन कार्यालयमा निकै भीड बढेको छ । निर्वाचन कार्यालयका कर्मचारीलाई भीड थेग्न हम्मे हम्मे परेको छ ।

प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेश पोखरामा बिहान ९ देखि साँझ ५ बजेसम्म नै भीड लाग्ने गरेको छ ।

निर्वाचन कार्यालयमा पाँच वटा डेक्स राखेर नामावली सङ्कलन भइरहेको छ । यसका अलावा जिल्ला र इलाका प्रशासन कार्यालयबाट पनि नामावली सङ्कलन भइरहेको छ ।

करिब ४ घण्टा लाइनमा बसेर नागरिकले नाम दर्ता गराएका छन् । 

निर्वाचन विशेष कार्यक्रम पुस १७ गतेसम्म भए पनि निर्वाचनको मिति घोषणा नहुँदासम्म नाम दर्ता गर्न सकिने प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेश पोखराका प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।

निर्वाचन विशेष कार्यक्रम अन्तर्गत कास्कीका चार वटा पालिकामा करिब आठ हजार मतदाता थपिएका छन् ।

अघिल्लो पुसमा दुई लाख ६५ हजार मतदाता रहेको कास्कीमा अहिले करिब दुई लाख ७५ हजार पुगेको छ ।

मतदाता थपिने क्रम जारी रहेकाले कास्कीमा करिब तीन लाख पुग्ने अनुमान गरिएको प्रदेश निर्वाचन अधिकारी पराजुलीले बताए ।

नामावली दर्ता कसरी गर्ने ?

मतदाता सूचीमा नामावली दर्ता गराउन आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र साथमा लिएर निर्वाचन कार्यालय पुग्नुपर्दछ । त्यहाँ पुगेर सम्पूर्ण विवरणसहितको फाराम भर्नुपर्दछ । 

त्यसपछि निर्वाचन कार्यालयका कर्मचारीले फोटोसहितको विवरण अनलाइनमार्फत नामावली दर्ता गर्नेछन् । यसका लागि अन्य कुनै कागजात आवश्यक पर्दैन भने शुल्क पनि लाग्दैन ।

चनाखो हुनुपर्ने

यदि तपाईँले एक पटक नामावली दर्ता गराइसक्नु भएको छ भने पुनः दर्ता गर्नुपर्दैन ।

यदि पुनः दर्ता गर्न लाग्नुभयो भने तपाईँको नामावली रद्द हुन सक्छ या कानून बमोजिमको सजायको भागीदार बन्नुपर्दछ ।

तपाईँ अन्यत्र जिल्लाको हुनुहुन्छ र अहिले बसिरहेको ठाउँमा नामावली दर्ता गर्न या सार्न चाहनुहुन्छ भने बसाइसराइ बाहेक अन्य कुनै पनि कागजातले काम गर्दैन ।

यदि तपाईँले कसैको वा कुनै कार्यालयको सिफारिस लिएर निर्वाचन कार्यालय जाँदै हुनुहुन्छ भने दुःख पाउनु पर्दैन । किनकि त्यो कागजले केही काम गर्दैन ।

यो पनि...

प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट जुनसुकै जिल्लाका नागरिकको पनि नाम दर्ता गराउन सकिनेछ ।

साथै मतदाता नामावली सार्न पनि सकिने व्यवस्था रहेको छ । यसका लागि नामावली जुन जिल्लामा रहे पनि अहिले सार्न चाहेको स्थानमा बसाइ सराइ भएको हुनुपर्नेछ । 

यस्तै, विवाह गरि एक ठाउँबाट अर्को ठाउँमा पुगेकी महिलाले नामावली दर्ता गर्न चाहेमा विवाह दर्ताको प्रमाणपत्र अनिवार्य आवश्यक पर्दछ । 

विवाह दर्ता प्रमाणपत्र भएपछि अन्यत्र नामावली भएको भए सम्बन्धित ठाउँमा सार्न र नभएको भए नयाँ नामावली दर्ता गराउन सकिनेछ । 

तपाईँ ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त एवं बच्चाको आमा हुनुहुन्छ भने नामावली दर्ता गर्दा लाइनमा बस्नुपर्दैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ