arrow

हामी कसरी स्वस्थ बन्न सक्छौँ ?

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ पुष २९ बिहिबार
sivapuri-baba.jpg

गौरीघाट । श्री शिवपुरीबाबा सँग एक जनाले प्रश्न गरेका थिए । उनको प्रश्न यस प्रकार थियो, प्रभु, हामी कसरी स्वस्थ बन्न सक्छौँ ?

श्रीबाबाको उनलाई जवाफ थियो, दानले मानिसलाई आनन्दित तुल्याउँछ र हामी स्वस्थ पनि बन्न सक्छौँ । एक मिनेटको रिसले वीर्य स्खलन भएको भन्दा पनि बढी नोक्सान गर्छ र शरीरलाई ज्यादै भद्रगोल बनाइदिन्छ । शरीरमा करिब ४०० प्रकारका रोगहरू छन् । यसरी रिस निकाल्नाले सयौँ रोगहरू एकै पटक देखा पर्न थाल्छन् ।

एक पटक म कुनै सभामा बसेको थिएँ । प्रसङ्गवश एउटा व्यक्तिले "मलाई क्रोध आउँदै आउँदैन” भन्यो । मैले उसलाई एक मुड्की हानेँ। ऊ रिसाउन थाल्यो । मैले उसलाई “अहिले भर्खर तिमीले मलाई रिस आउँदैन भनेका थियौ । यो रिस कहाँबाट आएको त ?” भने । त्यसैले बोलेर मात्र हुँदैन । बोलेअनुसार पुऱ्याउनु पनि पर्छ ।

जीवन दुःखपूर्ण छ। जति भोग्यो उति नै दुःख पनि पाइन्छ। दुःख पाउनु शरीरको धर्म नै हो । शरीरले दुःख पायो त के भयो ? पन्छाउनै नसकिने कुराबाट आउने परिणामको फल भोग्नु नै पर्छ । दुःख नपाउने कोही पनि छैनन् । किन चिन्ता ? काम, क्रोध, लोभ, मोह आदिले कडाभन्दा कडा रोग निम्त्याउँछ । त्यसैले काम क्रोधबाट मुक्त हुन्।

ईश्वरलाई सम्झना गरिरहनू।

आवश्यकभन्दा बढी खाना र निद्राले आधा तागत खिच्छ। स्वास्थ्यको मात्र चिन्ता लिइरहेर बढी छटपट गर्नु पनि उचित हुन्न। जरो आएको छ भने वा कुनै रोगले छोएको छ भने आराम गर्नु । त्यस्तो समयमा हलुका खानु, नहिँड्नु र दिनमा सुते पनि हुन्छ। यस्तो स्थितिमा मकहाँ नआए पनि हुन्छ।

एक जना अवकाशप्राप्त व्यक्ति म कहाँ आएर “अब म स्वतन्त्र भइसकेँ” भने । मैले उनलाई “के तिमी दिसा, पिसाब, भोक, तिर्खा तथा जन्म मृत्युको चक्कर आदिबाट पनि स्वतन्त्र भइसक्यौ त ?” भन्ने प्रश्न गरेँ । मेरो प्रश्न सुनेर ऊनी चुप लागे।

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।) इमेल :aamodita@gmail.com 



नयाँ