'जुनसुकै बेला निर्वाचन भए पनि गठबन्धनको दुई तिहाइ बहुमत'
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
818
Shares
काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले स्थानीय तहको निर्वाचन संविधानमा भएको व्यवस्थाअनुसार नै हुने बताएका छन् । उनले भने,'स्थानीय तहको निर्वाचन हामी संविधानको सीमाभित्र नै रहेर गराउँछौँ । अहिले हामी छलफलकै क्रममा छौं ।'
आज रिपोर्टर्स क्लब नेपालमा बोल्दै मन्त्री श्रेष्ठले स्थानीय तहको निर्वाचनबारे अहिले बाहिर विभिन्न बहस भइरहेकोमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरे । उनले भने-'हाम्रो मन्त्रालय स्थानीय तहको सन्दर्भमा एउटा कोअर्डिनेटिङ मिनिष्ट्री, अर्थात् लाइन मिनिष्ट्रिी पनि भएको हुनाले यसको लागि हाम्रो मन्त्रालयले होमवर्क पनि गरिरहेको अवस्था हो । अहिले संविधानको व्यवस्था के छ, त्यो हेर्नुपर्छ । संविधानमा व्यवस्थापिका र कार्यपालिकाको सम्बन्धमा अलग-अलग व्यवस्था देखिन्छ । संविधानको धारा २१५ मा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र सदस्यहरूको कार्य अवधि ५ वर्ष हुनेछ भनिएको छ । त्यस्तै, संविधानको २१६ मा नगरपालिकाका मेयर, उपमेयर र सदस्यहरूको कार्यकाल पनि ५ वर्ष हुनेछ भनेर प्रस्ट व्यवस्था गरेको छ ।'
उनले व्यवस्थापिकाको कुरा गर्दा धारा २२५ ले गाउँ सभा र नगर सभाको कार्यकाल ५ वर्षको हुनेछ भनेर व्यवस्था गरेको सुनाए । उनले भने,'कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन हुनेछ भन्ने प्रस्ट व्यवस्था गरेको छ । यो संविधानसँग स्थानीय तहको ऐन आयो (बाझिनेगरि) भन्ने प्रश्न उठेको छ । कतिपय कानून व्यवसायीहरूले मुद्दाको पनि तयारी गरिरहेको अवस्था छ, स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ मा कार्यकाल सकिनुभन्दा २ महिना अघि निर्वाचन गर्नुपर्छ भनेको छ ।'
मन्त्री श्रेष्ठले संविधानमा नै संविधानसँग बाझिएका सबै कानुनहरू स्वतः बदर हुन्छ भनिएको स्मरण गराउँदै उनले भने-'स्थानीय तहको निर्वाचन असार र असोजमा भएकोहरुको कार्यकाल के हुने त ? कार्य अवधि नपुगेको कुरा उठेको छ । सही समाधान कसरी दिने त ? भनेर अहिले हामी छलफलमा छौं । हामीले अहिले बहस गरिरहेका छौं । विज्ञ र कानून व्यवसायीहरूसँग छलफल गरिरहेका छौं । अहिले नै हामी ठोस निष्कर्षमा पुगेका छैनौँ । सबैको पाँच वर्ष पनि पुग्ने र पद रिक्त पनि नहुनेगरि हामी निर्वाचनको तयारीमा जुटेका छौं । खास गरी हामी साँप पनि मरोस् र लाठी पनि नभाँचियोस् भन्ने पक्षमा हो । एक दिन, एक घण्टा र एक मिनेट पनि जनप्रतिनिधिहिरुविहीन नहोस् भन्ने सचेतना अपनाएर बाटो खोज्नुपर्छ । संवैधानिक व्यवस्थाअनुसार र आवश्यकता अनुसार कानून संशोधन गरेर भए पनि यो व्यवस्थालाई व्यवस्थित गर्नेछौँ ।'
उनले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अहिले सरकार छलफलकै क्रममा रहेको सुनाए । उनले थपे-'यसको बारेमा हामी अन्डर डिस्कसनमा छौं । यस सम्बन्धमा विभिन्न विचार प्रवाह भएका छन् । कसैको पनि पदावधि ६ महिनाभन्दा ननाघोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । पहिलो चरणमा वैशाख ३१मा भएको हो । जेठ ५ गते कायम गर्दा, मङ्सिरमा निर्वाचन गराउँदा हुन्छ ।'
उनले अहिले रहेको पाँच दलीय सत्तारुढ गठबन्धन निर्वाचनसम्म नै कायम रहने पनि विश्वास दिलाए । उनले भने,'म सङ्घीय मामिलाको मन्त्रीको हिसाबले के प्रस्ट पार्छु भने, प्रधानमन्त्रीले जुन मिति त्यहाँ प्रस्तुत गर्नुहुन्छ, त्यही डेटमा चुनाव हुन्छ । गठबन्धनको समन्वय समिति छ । यसबारेमा सरसल्लाह भइरहेको छ । गठबन्धनले जे निर्णय गर्छ, त्यो सहमतिमा गर्छ । गठबन्धन टुटिदिए हुन्थ्यो र फुटिदिए हुन्थ्यो भन्ने पनि छन्, कतिपय व्यक्तिले यही भनेर धमिलो पानीमा माछा मार्न खोज्दै छ । तर हाम्रो गठबन्धनको पानी स्वच्छ छ । हाम्रो मुहान नै सफा छ । गणतन्त्र, संविधान र सङ्घीयतालाई जोगाउने सन्दर्भमा हामी एकजुट भएको हुँदाखेरि नेपालमा सङ्घीयता र समावेशिताको युगमा नेपालमा प्रवेश गरेको अवस्थामा कोलिशन गभर्मेन्टमात्रै होईन कोलिशन कल्चर पनि आवश्यक पर्छ ।'
उनले गठबन्धन लामो समयसम्म आवश्यक पर्ने पनि सुनाए । उनले भने,'अहिले प्रि-पोल गठबन्धनमा जान्छौँ । निर्वाचनपछि गठबन्धन पनि गर्न सकिने अवस्था छ । गठबन्धनको एउटा मात्रै मोडालिटि हुँदैन । यसबारेमा आम सहमति छ ।' उनले जुनसुकै बेला निर्वाचन भयो भने पनि वर्तमान गठबन्धनको दुई तिहाइ बहुमत आउने अवस्था रहेको दाबी गरे । उनले भने,'निर्वाचनबारे हामीलाई प्रतिकुलता छैन । संविधानसम्मत हुन्छ कि हुँदैन ? यो मुख्य प्रश्न हो ।'