arrow

माघ १९ अर्थात् राजाको उपहार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
x-king-gyanendra1.jpg
तस्बिर– फाइल

काठमाडौं । माघ १९ अर्थात् राजाको उपहार । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको एक प्रकारको ‘कू’ । शासकीय महत्वाकांक्षाले शासन हातमा लिएको दिन । यो दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा ‘कालो दिन’ को रुपमा लिने गरिन्छ ।

प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील तुल्याउने भन्दै पूर्वराजाले शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएका थिए । उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए । 

२०५८ साल जेठ २० गते दरबार हत्याकाण्ड लगत्तै राजा बन्न पुगेका शाहले अति महत्वाकांक्षा पालेसँगै माघ १९ को घटना गराएका थिए । उनले आफ्नो विरोधमा बोल्ने कसैलाई पनि नछाड्ने कथन दरबार निकटकाहरुबाट बकाउने गर्दथे । 

उनले पञ्चायती व्यवस्थालाई मलजल गर्ने पूर्व पञ्चहरुलाई बटुलेर सरकार चलाए । उनीहरुको सल्लाहले देश उँभो नलाग्ने निश्चित प्रायः थियो । किनकि उनीहरु ‘फेलुअर’ असफल सिद्ध भइसकेका थिए । उनीहरुकै कारण राजा महेन्द्रका गतिला योजनासमेत असफल भएका थिए । उनीहरुकै भड्काउमा लागेर महेन्द्रले पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गरेर २०१७ पुस १ गते पञ्चायत लादेका थिए । 

ज्ञानेन्द्रलाई पनि सडकको आन्दोलन मन पर्दैनथ्यो । त्यसकै कारण उनले देशमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरे । त्यतिमात्र हैन मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराए । 

सञ्चारमाध्यमहरुमा सेना खटाएर नियन्त्रण गरियो । एफएम रेडियोहरुबाट समाचार वाचन गर्न बन्द गराए । त्यसपछि रेडियो नेपालबाट मात्र आफ्नो गुणगानका समाचार पढ्न लगाए । 

माघ १९ कै कारण थुप्रै रेडियो पत्रकारले जागिरबाट हात धुनु परेको थियो । 

संविधान प्रदत नागरिकका मौलिक अधिकार निलम्बन गरी राजा ज्ञानेन्द्रले प्रमुख राजनीतिक दलका नेताहरुलाई पक्राउ गर्दै नजरबन्दमा राखे । 

ज्ञानेन्द्रको त्यही शाहीकालका कारण सात राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीबीच दिल्लीमा १२ बुँदे सहमति भयो । जसका कारण २०६२ चैत २४ गते दोस्रो जनआन्दोलन शुरु भयो । 

१९ दिनसम्म चलेको जनआन्दोलनका कारण २०६३ बैशाख ११ गते राजा ज्ञानेन्द्र संसद पुनर्स्थापना गर्न वाध्य भए । 

पूर्वराजाको यही हर्कतलाई सम्झेर दलहरुले राजतन्त्र नै छिने । २०६४ साल चैतमा सम्पन्न संविधान सभाको पहिलो बैठकले मुलुकबाट राजतन्त्र अन्त्यको घोषणा गर्‍यो ।

पूर्वराजाले जनतालाई दिएको त्यो माघ १९ को उपहार उनैलाई महङ्गो पर्यो । अन्ततः दुई सय ४० वर्ष पुरानो राजसंस्था नै ढल्यो । 

तर दलहरुले पनि गणतन्त्रलाई सही ढङ्गले प्रयोग नगरेको जनगुनासो बढिरहेको छ । नेताहरु दलीय स्वार्थका पछाडि लागेको गुनासो बढेको हो । 



नयाँ