arrow

रोल्पा मकैमा आत्मनिर्भर बन्दै

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ साउन २२ शनिबार
ropako-makai-krs.JPG.jpeg
रोल्पा ।  रोल्पा जिल्ला मकै खेतीका लागि निकै कहलिएको ठाउँ हो ।  विगतका दिनहरुमा यस जिल्लामा परम्परागत रुपमा  स्थानीय जातका मकै खेती गरिदै आएकामा ५ वर्ष यता उन्नत बीउको उत्पादन एवं कृषक वर्गमा उन्नत बीउको प्रयोगमा उल्लेखनीय वद्धि भएसंगै रोल्पा जिल्ला मकैमा आत्मनिर्भर बन्दै गएको हो ।  
 
जिल्ला कृषि विकास कार्यालय रोल्पाका अनुसार जिल्लामा करिब  ११ हजार ३ सय ५ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको छ । रोल्पा जिल्लालाई उन्नत मकै बीउमा  आत्मर्निभर बनाउन यस वर्ष दुई सय ५० हेक्टर जमिनमा मकैको बीजवृद्धि कार्यक्रम (मूल बीउ र उन्नत बीउ) उत्पादन भइराखेको बरिष्ठ कृषि विकास अधिकृत किशोरप्रसाद पन्तले जानकारी दिए । 
 
पन्तका अनुसार रोल्पा जिल्लालाई उन्नत मकैको बीउमा आत्मनिर्भर बनाउन करिब ३ सय मेट्रिकटन बीउ आवश्यक पर्नेमा गत वर्ष २ सय मेट्रिकटन मकैको मूल बीउ र उन्नत बीउ उत्पादन भएको थियो । जिल्लामा खेती गरिएका विभिन्न मकैका उन्नत जातहरुमा मनकामना ३, देउती, रामपुर कम्पोजीट र अरुण प्रमुख रुपमा रहेका छन् ।
 
गत आर्थिक वर्षमा कृषि विकास कार्यालय प्यूठानले १७ क्वीन्टल मनकामना ३ जातको मकैको मूल बीउ रोल्पाका विभिन्न बीउ उत्पादन सहकारी संस्थाबाट खरिद गरेको थियो । यस बाहेक सल्यान, प्यूठान, दाङ र नेपालगन्जका किसानहरु र एग्रोभेटहरुले पनि रोल्पामा उत्पादित उन्नत बीउहरु खरिद गरेका थिए ।
 
जिल्लाको सबै क्षेत्रमा उत्पादन योग्य जमिन भएपनि विशेषगरी गैरीगाऊँ, मिरुल, लिवाङ, थबाङ, मसिना, जौलिपोखरी, जंकोट, कोर्चावाङ, मिभिmङ, गजुल, खुुं्रग्री, जुगार, माडिचौर, झेनाम र वडाचौर क्षेत्रमा मकैको बीउ उत्पादन हुन्छ ।  
 
गएको आर्थिक वर्षमा जिल्ला कृषि विकास कार्यालय रोल्पाबाट बीउ उत्पादनको लागि ५० प्रतिशत अनुदानमा मूल बीउ र ७५ प्रतिशत अनुदानमा उन्नत बीउ गरी २४ मेट्रिकटन मकैको बीउ विभिन्न क्षेत्रका कृषि सेवा केन्द्रहरुमार्फत वितरण गरिएको थियो ।
 
जिल्ला कृषि विकास कार्यालय रोल्पाले जिल्लालाई खाद्यान्न बालीको बीउ उत्पादनमा आत्मनिर्भर बनाउन किसानको लागि उन्नत बीउ कार्यक्रम, कृषि तथा खाद्य सुरक्षा आयोजना, एकिकृत बाली तथा जलस्रोत व्यवस्थापन आयोजना, मध्य पहाडी बृहतर मकै खेती कार्यक्रम र कृषि प्रसार कार्यक्रममार्फत बीउ उत्पादन कृषक पाठशालाहरु, बीउ उत्पादन सम्बन्धि तालिमहरु, गोदाम घर निर्माण, गुणस्तर निर्धारण, प्रमाणिकरण गर्न र बजारीकरणका लागि सहयोग र बीउ उत्पादन गर्ने कृषक समूहहरुलाई अनुदानको पनि व्यवस्था गरेको छ ।
 
जिल्लामा उत्पादित बीउको व्यवस्थापनको लागि जिल्लाका ४ स्थानमा एकिकृत बाली तथा जल व्यवस्थापन आयोजनाले ४० टन क्षमताको अत्याधुनिक भण्डार गृह निर्माण गरेको छ  । यस कार्यबाट किसानले उत्पादन गरेको बीउको गुणस्तरीय एवं बजारीकरणका लागि पनि सहयोग पुग्ने सरोकारवालाहरु बताउँछन् ।  
 
जिल्लामा बीउ उत्पादन कार्यमा जिल्ला कृषि विकास कार्यालयको अलावा गैह्र सरकारी संस्थाहरु, कृषक समूहहरु र सहकारी संस्थाहरु र नीजिस्तरका  एग्रोभेट पनि संलग्न छन् ।
 
जिल्लामा मकै बीउको राम्रो संभावना देखेर राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्र रामपुर चितवन र कृषि अनुसन्धान केन्द्र दशरथपुरले कृषक समूह र सहकारी संस्थासंग मिलेर मकैको मूल बीउ र उन्नत बीउ उत्पादन कार्यक्रम पनि संचालन गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ