उत्तेजनाको राजनीति देश र समाजका लागि घातक : गगन थापा
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
630
Shares
फाइल तस्वीर
पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताएका छन् । नेपाली कांग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै उनले कम्युनिष्ट उत्तेजनाको राजनीति गरिरहेको बताए ।
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा कम्युनिष्टले दोहोरो भूमिका खेलेर जनतालाई उत्तेजित बनाएको उल्लेख गर्दै उनले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यति ठूलो परियोजनामा सबैलाई मिलाउन सफल बनेको बताए ।
महामन्त्री थापाले जनताबीच कांग्रेसको परिचय फरक रहेको उल्लेख गर्दै कांग्रेसले सधैँ उत्तेजना फैलाउने नभई चेतना फैलाउने, भड्काउने नभई मिलाउने जस्ता चरित्र देखाउँदै आएको बताए ।
आशन्न निर्वाचनका लागि पार्टी सङ्गठनलाई मजबुद बनाउँदै अघि बढ्न आग्रह गर्दै उनले भने, “कांग्रेससँग अहिले १०० जनामा ३३ जना मतदाता छन्, यसलाई बढाएर ४५ भन्दामाथि पुर्याउनुछ ।”
महामन्त्री थापाले उम्मेदवार टुङ्ग्याउने जिम्मा महानगरको हकमा नगर र जिल्लाको सिफारिसमा केन्द्रले टुङ्ग्याउने र अन्यका हकमा प्रदेश, नगर, क्षेत्र र जिल्लाले टुङ्ग्याउने गरी कार्यविधि केन्द्रले ल्याउने जानकारी दिए । आगामी निर्वाचनमा ठूलो वा सानो जोसुकै नेता भए पनि उसले आफ्नो टोललाई सम्हाल्ने जिम्मा लिनुपर्ने उनले बताए ।
नेपाली कांग्रेस मादी गाउँपालिका सभापति यामबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य गुरु बराल, पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञबहादुर थापा, कांग्रेस नेतृ कोपिला रानाभाट, कृष्णचन्द्र बराल लगायतले आसन्न निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टीका रुपमा स्थापित गर्नेगरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।