arrow

देशको अबको नेतृत्वकर्ताका लागि हुनुपर्ने बहस

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०७८ फागुन २८ शनिबार
rajendra-panthi-article-25.jpg

अब नयाँ वर्ष २०७९ को आगमनसंगै नेपाली राजनीतिमा आवधिक निर्वाचनको चर्चा परिचर्चा हुन थालेको छ र बहस तातेको पनि देखिन्छ । आगामी वर्ष स्थानीय, प्रदेश र संघीय तीनै तहको आवधिक निर्वाचन हुन गइरहेको छ । बैशाख ३० का लागि स्थानीय तहको निर्वाचनको मितिसमेत तोकिएको अवस्था छ । यस्तै संघीय निर्वाचनका बारेमा पनि ‘अर्लि’ निर्वाचनको बहस शुरु हुन थालेको सन्दर्भमा अब नेपाली जनताले कस्तो जनप्रतिनिधि रोज्ने भनेर आजैदेखि छलफल चलाउनु पर्छ । 

नेकपा एमालेका कारण संसद विगत सात महिनादेखि निर्वाध रुपले सञ्चालन हुन सकेको छैन । यस्तो संसद के चलाउने बरु बन्द गरी अर्लि निर्वाचनमा जाने भनेर दलहरू सहमत भएको अवस्थामा नेपाली जनता पनि यसका लागि तयार हुनुपर्छ । त्यसैले विगतका जनप्रतिनिधिले गरेका राम्रा नराम्रा सबै कामलाई मूल्यांकन गरी नयाँ जनप्रतिनिधिलाई चयन गर्नुपर्छ । 

छिटो वा समयमै जे जस्तो निर्वाचन हुन्छ जनता तयारी भइ बस्नुपर्छ । दलहरूबाट पटक पटक धोका खाएको परिस्थितिमा आगामी निर्वाचनमा फेरि पनि धोका खाइयो भन्न नहुने तरिकाले निर्णय गर्नुपर्छ ।

आधुनिक नेपालको निर्माण भएपछि पनि परिवर्तनका नाममा नेपाली राजनीतिमा धेरै उथल पुथल भए । पछिल्लो चरणमा प्रजातन्त्रको पुनः बहाली भएको तीन दशक बितिसक्दा पनि देशमा आशालाग्दो उपलब्धि केही हुन सकेको छैन । पटक पटक व्यवस्था परिवर्तनका नाममा ठूल्ठूला आन्दोलन भए । तर जसो गर्दा पनि अवस्था ज्यूँको त्यूँ नै छ भन्दा फरक पर्ने अवस्था छैन । 

नेपाली जनता धेरै पटक झुक्किए ।अब पनि नेपाली जनताहरूले हामी  झुक्कियौ भनेर धर पाउने अवस्था छैन । अब कति झुक्किने ? अबको निर्वाचनमा गहन निर्णय गर्नुपर्छ । विगतका निर्वाचन र सरकारबाट शिक्षा ग्रहण गरी आँखा चिम्लेर एक पटक त हो भनेर महान् गल्ती गर्नु हुँदैन । हामी पुरानो दल, हामी नयाँ दल वा हामीलाई तिनले काम गर्न दिएनन् भनेर अनेक बहाना बनाई भोट माग्न आउनेलाई उनीहरूको विगतको दूराचारी र भ्रष्टाचारी प्रवृत्तिलाई आलोचना र खण्डन गरी ओठे जवाफ दिनुपर्छ । सोझै भोट दिन नसक्ने भनेर दल वा उम्मेदवारलाई फर्काइदिने तागत जनतामा हुनुपर्छ ।

२०४६ सालको परिवर्तनपछि केही वर्ष नेपाली कांग्रेसको एकलौटी शासन भयो । सत्ता र शक्ति उन्मादले सांसदको किनबेच हुँदै कांग्रेसमा गुट उपगुट भई पार्टी नै फुट्यो । कम्युनिष्टको सरकार हेर्दा मनमोहन अधिकारीको नौ महिने छोटो कार्यकालमा केही प्रचारमुखी र प्रसादमुखी काम भए । तर ती कामले निरन्तरता पाउन सकेनन् । त्यही एमाले पटक पटक फुट्यो । 

जनयुद्धको समयमा नेपालले सामाजिक र आर्थिक लगायतका ठूलो क्षति व्यहोर्नु पर्यो । संविधान निर्माणको नाममा आठ वर्ष बित्यो । देशको सामाजिक, आर्थिक, शैक्षिक, प्रशासनिक कुनै उपलब्धि हुन सकेन । राजनीतिलाई माग्ने र ठगी खाने भाडो बनाउँदा देशमा विकृति र विसंगतिले जरो गाड्दा केही सीमित वर्ग र नेताले प्रजातन्त्र र लोकतन्त्रको नाममा ब्रम्हलुट नै गरेको अवस्था छ ।

गरिब, दीनदुःखी, अशिक्षित जनतालाई गुमराहमा पारी देशलाई लुटिएको अवस्था छ । आज नेपालको राजनीति लाजनीतिमा परिणत भएको छ । राज्यको हरेक अङ्गमा फोहरी राजनीतिको दुर्गन्ध फैलिएको छ । कुनै पनि अङ्ग चुस्त र दुरुस्त छैनन् । कानूनको कार्यान्वयन सम्बन्धित निकायले गराउन नसक्दा देश अस्तव्यस्त भएको छ र जिम्मेवार दलहरूको अनुत्तरदायी र असक्षमताले पनि नेपाली जनताहरू आजित भएका छन् ।

२०७२ सालमा  नयाँ सङ्घीय गणतन्त्रात्मक संविधान आएपछि पनि जनताका कुनै समस्या सम्बोधन हुन सकेनन् । कम्युनिष्टले दुईतिहाई मत लिएर पनि आन्तरिक कलहले संविधानलाई च्यातच्युत पारी व्यवस्थाकै अन्त्य गर्न लागेको परिस्थिति देखियो । अन्ततः फेरि देशलाई नै बन्धक बनाई झन् दलहरू सत्ताको लुछाचुडीमा चुर्लुम्म डुबे । 

विश्वव्यापी फैलिएको कोरोनाको महामारीमा समेत दलहरू एकजुट भई जनतालाई राहत दिने कार्यमा जुट्न सकेनन् । नेपाली राजनीतिलाई दुर्गन्धित बनाई यसैको आडमा दलका नेता र कार्यकर्ता पालिने परिपाटीको निरन्तरताले भ्रष्टाचारले जरो गाडिरह्यो ।  राजनीतिको आडमा भ्रष्टाचारको जरो मौलाएका कारण राज्यका सबै अङ्गहरू झन् दुर्गन्धित हुँदै गएका छन् ।

आज देशका प्रशासनिक, शैक्षिक, न्यायिक जस्ता प्रमुख निकाय अस्तव्यस्त छन् । कुनै पनि वर्षको बजेटले रोजगारी सिर्जना, आयात प्रतिस्थापन र उद्योग स्थापना गर्ने जस्ता पूँजीगत काम हुन सकेका छैनन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा नागरिकले परिवर्तनको अनुभूति हुन लायक कुनै उपलब्धि छैन । अहिले पनि करिब १७ प्रतिशत नेपाली गरिबीको रेखामुनी रहेका छन् ।

दैनिक २५ सय युवा विदेशिएका छन् । आन्तरिक उत्पादन घढ्दो छ भने विदेशी अनुदान घढ्दो र ऋण बढ्दो छ । वर्षाैदेखि अर्थतन्त्रका कुनै पनि सूचकहरू सकारात्मक छैनन् । दुर्गन्धित राजनीतिको भूमरीमा नेपालको अर्थतन्त्र फसेको छ । देशको विकास र समृद्धिको लागि राजनीतिक दलहरूमा विश्वास, सहमति र सहकार्य हुन सक्दैन । नेपाली जनतामा निराशा छाएको छ ।

लोकतन्त्रको एउटा सुन्दर पक्ष भनेको आवधिक निर्वाचन नै हो । जेसुकै भए पनि निर्वाचनको प्रक्रिया र परिणामलाई स्वीकार्नुको विकल्प केही छैन । लोकतन्त्रमा फेरि पनि उपयुुक्त दल वा  प्रतिनिधिलाई रोज्नुको विकल्प केही छैन । विकल्पमा सर्वोपयुक्त विकल्प रोज्नु पर्ने हुँदा अब नजिक आइरहेको निर्वाचनमा वितृष्णा बोकेर होइन आशावादी भई उपयुक्त उम्मेदवारलाई निर्वाचित गर्नुपर्छ ।

नेपालका प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, राप्रपा आदिबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यशैली र कार्यकाल हेरिएको अवस्थामा अब कसलाई रोज्ने त ? अब पनि रोज्ने भनेको यिनै दल र दलका प्रतिनिधिलाई भएको हुँदा विकल्पमा त्यही सर्वोपयुक्त दल वा व्यक्ति नै हो । 

राजनीतिक इतिहासमा सकभर कुनै दाग नलागेको अथवा हुन नसकेको अवस्थामा कम दाग लागेको व्यक्तिलाई निर्वाचित गरिनुपर्छ । नेपाली जनताहरू आजैदेखि चनाखो भई कस्तो जनप्रतिनिधिलाई रोज्ने भनेर बहस, छलफल चलाउनु पर्छ ।

आगामी सङ्घीय निर्वाचनबाट कुन दलको जनप्रतिनिधिलाई प्रधानमन्त्री बनाउने भनेर पनि जन बहस सुरु गरिनुपर्छ । प्रधानमन्त्री भनेको देशको नेतृत्व र देशलाई अग्रगतिमा डोहोर्याउने जिम्मेवार पद हो । देशले एउटा राम्रो प्रधानमन्त्री पाउन सकेमा देशको आमूल परिवर्तनको सम्भावना सहजै हुनसक्छ । प्रधानमन्त्रीमा दृढ सङ्कल्प, सपना र योजना हुनुपर्छ । 

राज्य सञ्चालनको मुटु भनेको प्रधानमन्त्री हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश बुझेको र बुझ्न सक्ने क्षमतावान व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकियो भने नेपाली जनताले केही सुखको सास फेर्न सकिएला । देश र जनताको विकास र समृद्धिको लागि निष्ठावान र जनउत्तरदायी बन्न सक्ने प्रतिनिधि प्रधानमन्त्री बनाउने प्रणका साथ चुनावी माहोल तताउनु पर्दछ ।

अहिलेको वर्तमान परिदृश्यलाई हेर्दा पूर्व प्रधानमन्त्री वा पुरानो पुस्ताबाट रुपान्तरणको आशा गर्न सकिन्न । फेरि पनि उही देउवा, ओली, माधवकुमार नेपाल, प्रचण्डको लागि नेपालीहरूले अनाहकमा बहस गर्नुहुन्न । अब यीबाट केही हुन सक्दैन । नेपाली जनताले एक पटक होइन पटक पटक यिनैलाई दोहोर्याइ तेहेर्याइ हेरिसकियो ।

फेरि पनि विकल्प भनेको कसैलाई बाहिरबाट टपक्क टिपेर ल्याएर हुने कुरा होइन । नेपालका दल र यिनै नेताबाट रोज्नु पर्ने अवस्था भएकाले सबैभन्दा राम्रो चयन गरिनुपर्छ । अबको एउटा आशाको त्यान्द्रो भनेको युवाशक्तिलाई देशको नेतृत्व हाक्ने अवसर दिनु हो । सर्वोपयुक्त विकल्प भनेको सरकारको नेतृत्व युवा पुस्ताले लिनुपर्छ र सम्पूर्ण निराशालाई आशामा रुपान्तरण गर्नुपर्छ । 

नेपाली जनताले एक कदम अगाडि गएर उही पुरानै व्यक्तिको पछाडि लागेर आफ्नो मतलाई आँखा चिम्लेर खेर फाल्नु हुँदैन । अन्धभक्त हुने परिपाटीलाई अन्त्य गर्नुपर्छ । अबको एउटा नयाँ कदम भनेको दलका पछाडि भन्दा राम्रो व्यक्ति चयन गर्नुपर्ने देखिन्छ ।

दलको दृष्टिले पनि नेपालको प्रजातन्त्रको स्थापनाको महत्वपूर्ण भूमिका खेलेको नेपाली कांग्रेस र व्यक्तिको दृष्टिकोणले पनि नेपालमा बहुदलीय प्रजातन्त्रको पुनः स्थापनादेखि अहिलेसम्म निरन्तर लोकतन्त्रको रक्षाको लागि लडिरहेको युवापुस्ताको आशावादी नेता गगनकुमार  थापालाई सर्वोपयुक्त विकल्पको रुपमा आगामी प्रधानमन्त्रीको लागि चयन गरिनु पर्ने देखिन्छ । कांग्रेसका नव निर्वाचित महामन्त्री गगन थापालाई कांग्रेसले आगामी निर्वाचनमा प्रधानमन्त्रीको रुपमा अगाडि सार्नु पर्छ । 

किन गगन ?
गगन थापाको नेपाली राजनीतिक इतिहासमा व्यवस्था परिवर्तन र लोकतन्त्रको रक्षाका लागि तुलनात्मक रुपमा महत्वपूर्ण योगदान रहेको देखिन्छ । गगन थापा आफ्नो दलमा मात्र नभएर आम नेपाली जनताका बीचमा लोकप्रिय नेताको रुपमा स्थापित छन् । गगन थापाले छोटो समय स्वास्थ्य मन्त्री भएर केही लोकप्रिय कामहरू पनि गरेका थिए ।

उनले केही तत्काल गर्न सकिने र केही दीर्घकालीन नीतिगत, कानूनी र संस्थागत संरचनाका सुधारात्मक कार्यहरूको थालनी गरेका थिए । उनकै कार्यकालमा राष्ट्रिय स्वास्थ्य बिमा विधेयक आएको थियो र त्यो अहिले कार्यान्वयनको चरणमा छ । गगन थापाको राजनीतिक पृष्ठभूमि हेर्दा २०४६ को राजनीतिक परिवर्तन पछि लगातार नेपाली राजनीतिमा अग्रपङ्तिमा जोडिएको नाम हो ।

२०३३ सालमा काठमाडौंमा जन्मिएका गगन २०४६ मा कक्षा नौ मै पढ्दा राजनीतिमा जोडिएको देखिन्छ । २०५१ मा त्रिचन्द्र क्याम्पसको स्ववीयूु सदस्य, २०५३ मा सचिव र २०५५ मा सभापति भएका थिए । गगन थापा २०५७ मा नेविसंघको उपाध्यक्ष र २०५९ मा महामन्त्री भएका थिए । त्यसैबेला गगन थापाले गणतन्त्रको मुद्दा बोकेको भनेर तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले नेविसंघको अध्यक्ष बनाउन चाहेनन् भन्ने चर्चा पनि चलेको सुनिन्थ्यो । 

२०६२–०६३ को आन्दोलनमा प्रखर वक्ता भई  नेतृत्व गरेका गगन थापा विद्यार्थी आन्दोलनका क्रममा पनि पटक पटक हिरासत र जेलमा बसेका थिए ।

उनी २०६४ मा नेपाली काङ्ग्रेसको तर्फबाट समानुपातिक सभासद बनेका थिए भने दोस्रो सविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ बाट सभासद्मा निर्वाचित भएका थिए । गगन थापा २०७३ सालमा छोटो समयका लागि स्वास्थ्य मन्त्री बनेका थिए र अहिले उनी काठमाडौंका क्षेत्र नम्बर ४ का सांसद छन् । 

समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरेका गगन ०६७ मा सम्पन्न नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा सर्वाधिक मत लिएर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । १३ औं महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धामा पराजित भएका थिए भने गत मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा अत्यन्तै लोकप्रिय मतसहित महामन्त्रीमा विजयी भएका थिए ।

भर्खरै पनि नेपाली राजनीतिमा गिजोलिएको एमसीसीका सवालमा जिम्मेवारपूर्वक  समस्याको समाधानका लागि अग्रणि भूमिका निर्वाह गरेका गगन थापा अहिलेको युवापुस्ताका आशावादी नेता हुन् । कांग्रेसले गुट र उपगुटमा नअल्मलिइ गगन थापालाई अगाडि सारेको अवस्थामा दललाई पनि र सम्पूर्ण नेपाली जनताको लागि राम्रो अवसर हुन सक्छ । (लेखक पन्थी अमेरिकाको भर्जिनियामा बस्छन्) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ