arrow

निर्वाचनका लागि गठबन्धनमा प्रचण्डको रणनीति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
prachanda-final1.jpg
तस्बिर– फाइल

काठमाडौं । यतिबेला नेकपा माओवादी केन्द्र देशव्यापी संगठन सुदृढीकरणमा लागेको छ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि माओवादी केन्द्र देशव्यापी संगठन सुदृढीकरण, प्रशिक्षण र जनपरिचालनमा लागेको हो । 

माओवादीको केन्द्रीय महाधिवेशन सकिएको तीन महिनासम्म पदाधिकारी चयन नगरे पनि प्रदेश स्तरीय भेला प्रशिक्षण र संगठनमा देखिएको उत्तारचढावको विषयमा सघन छलफल गरिरहेको छ । स्थानीय तहको निर्वाचनलाई ध्यान दिएर माओवादीले यो कार्यक्रमको आयोजना गरेको हो । 

अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनबाट अनुमोदन भएको विषयलाई लिएर पछिल्लो पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टीभित्रै प्रहार हुन थालेपछि उनले पार्टी पंक्ति र गठबन्धनलाई खुशी पार्न दुई वटा रणनीति लिएर कार्यकर्ता माझ पुगेका छन् । 

पहिलो रणनीतिमा नेपाली कांग्रेससँगको गठबन्धन कायमै राख्ने र दोस्रो त्यो गठबन्धन कायम राख्नको लागि एमसीसीलाई व्याख्यात्मक अनुमोदन गर्नु परेको भन्दै औचित्य पुष्टि गर्न थालेका छन् । प्रचण्डले गठबन्धन कायमै राख्न कांग्रेसलाई फकाउने नीतिलाई प्राथमिकतामा राखेका छन् । 

उनले कांग्रेसलाई फकाउन विगतमा माओवादीबाट भएका भूलको  समीक्षा गर्न थालेका छन् । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि माओवादी अध्यक्ष प्रचण्डले आफूबाट दुईवटा भूल भएको भन्दै समीक्षा गर्न थालेका हुन् । 

कांग्रेससँग गठबन्धन कायम गरेर स्थानीय, संघीय संसदको निर्वाचनमा जाने तयारी गरेको बेला आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले विगतमा गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूबाट गल्ती भएको बताएका थिए । 

कांग्रेसका धेरै नेताहरुले स्थानीय तहको निर्वाचनमा स्थानीय तहलाई नै गठबनधन गर्ने जिम्मेवारी दिने बताइरहेका बेला माओवादी अध्यक्ष प्रचण्डबाट कांग्रेसलाई फकाउन यस्तो अभिव्यक्ति आएको अनुमान गरिएको छ ।

‘ठूलो पार्टीका रुपमा स्थापित भएपछि हाम्रो खुट्टा भुइँमा भएन, गिरिजाप्रसाद कोइराला विचरा, त्यो बुढो मान्छे, जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भएको हो,उहाँले राष्ट्रपति बन्न खोज्दा दिइएन, खुरुक्क गिरिजाप्रसादलाई राष्ट्रपति दिन पाएको भए पाँचै वर्ष हाम्रो सरकार हुन्थ्यो, अहिले फर्केर हेर्दा अनौठो लाग्छ,’ उनले निकै पश्चतापको शैलीमा भावुक अभिव्यक्ति दिएका थिए । 

विगतमा रुक्मांगद कटवाललाई प्रधानसेनापतिबाट हटाउन डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादलले अनावश्यक दबाब दिएको भन्दै त्यतिबेलाको घटनालाई उनीहरुतिर दोष देखाएर प्रचण्ड आफू चोखो हुन थालेका छन् । 

तीन महिनामा कार्यकाल सकेर घर जान लागेका कटवाललाई चलाउँदा माओवादीले सरकारको नेतृत्वसहित धेरै विषय गुमाएको पनि बताउँदै पश्चात्ताप गरेका छन् ।

‘दायाँ र बायाँ बस्नेहरु ठोक भन्छन्, म अलि उदार मान्छे। दायाँ बाबुराम छन् बायाँ बादल छन्, बडो क्रान्तिकारी भएर तीन महिनापछि जान लागेको रुक्मांगद कटलाललाई हटाउँदा सरकार, राष्ट्रपति सबै गयो’, उनले भनेका थिए  । 

आफू प्रधानमन्त्री थिए भने बाबुराम अर्थ तथा बादल रक्षामन्त्री थिए । प्रचण्डले ०७४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा र मधेस केन्द्रित दलका नेता बारम्बार आफ्नो निवास खुमलटार आएर पाँच वर्षका लागि एकलौटी प्रधानमन्त्री बन्न आग्रह गर्दासमेत बाम गठबन्धनको भावनाअनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाएको बताएका थिए ।

त्यसैगरी स्थानीय तहको निर्वाचनमा कांग्रेसका अधिकांश नेताहरु तल्लो तहबाटै गठबन्धनको निर्णय हुने बताउँदै आएका बेला प्रचण्डले प्रदेश सरकारको मूख्यमन्त्री परिवर्तन गर्ने विषय उठाएका छन् । 

बाग्मती प्रदेश र प्रदेश १ मा नेकपा एस पार्टीको मुख्यमन्त्री रहेकोमा त्यसमध्ये एक प्रदेशको मूख्यमन्त्री कांग्रेसलाई दिनुपर्ने आशयका साथ परिवर्तनको कुरा उठाएका हुन् । 

संघीय संसदको निर्वाचन आउन एक वर्ष बाँकी रहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मूख्यमन्त्री परिवर्तन गर्ने विषयलाई जोड दिए । प्रचण्डले सोमबार सुदूरपश्चिम प्रदेशको कार्यक्रममा बोल्दै मुख्यमन्त्री परिवर्तन गर्ने र एस पार्टीले लिएको मूख्यमन्त्री पद कांग्रेसलाई दिनुपर्ने बताएका थिए ।  

कांग्रेस, माओवादी, समाजवादी सहितको सत्ता गठबन्धन दलले केन्द्रदेखि प्रदेश सरकारसम्म आफूहरुले भागबण्डा लगाएर सरकार चलाइरहेका बेला अध्यक्ष प्रचण्डले कांग्रेससँग सहकार्यका लागि मूख्यमन्त्री पनि दिनुपर्ने भन्ने अवस्थामा पुगेका छन् । 

केन्द्रदेखि सातै प्रदेशमा एमालेलाई सत्ताबाहिर राखेर गठबन्धन दलले सरकारको नेतृत्व गरिरहेका हुन् । सोही आधारमा अहिले कांग्रेस, माओवादी, र एकीकृत समाजवादीले दुई–दुई प्रदेश र जनता समाजवादी पार्टी (जसपा) ले एक प्रदेशमा प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । 

गठबन्धन दल ६ वटा प्रदेशमा संयुक्त साझेदारीमै सरकारमा पनि सहभागी छन् । तर सुदूरपश्चिममा भने कांग्रेस सरकारमा सहभागी हुन पाएको छैन । 

माओवादी र एकीकृत समाजवादीका सांसदहरुको संख्या जोड्दा मात्रै पनि बहुमत रहेका कारण कांग्रेसले त्यहाँको प्रदेश सरकारमा सहभागिता जनाउन चाहेको पनि छैन । 

सबै स्थानमा भागबण्डा मिलाउनकै लागि प्रचण्डले यस्तो धारणा राखेको माओवादीका एक नेताले बताए । ‘अहिलेको गठबन्धनलाई बलियो बनाउन माओवादी अध्यक्षले यस्तो धारणा राखेको हुन सक्छन्’, ती नेताको दाबी थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ