arrow

‘हाम्रो लागि लाइफ एण्ड डेथको लडाइँ भएर आउँदैछ गठबन्धनको भर नपर्नू’ : प्रचण्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ५ शनिबार
prachanda-final-action.JPG
तस्बिर– फाइल

काठमाडौं । कांग्रेस नेताहरुले स्थानीय तहको निर्वाचनमा कांग्रेस कार्यकर्ताले रुखमा बाहेक अर्को चुनाव चिन्हमा भोट हाल्न नसक्ने अभिव्यक्ति सार्वजनिक गरिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको भर नपर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

विराटनगरदेखि धनगढी, बुटवलसम्मको यात्रामा माओवादी अध्यक्ष प्रचण्डले कार्यकर्तालाई आफ्नै खुट्टामा उभिन निर्देशन दिँदै गठबन्धनको भर नगर्न आग्रह गरेका हुन् । कांग्रेस नेता तथा कार्यकर्ताहरुले माओवादीका उम्मेदवारलाई असहयोग गर्न सक्ने संभावनालाई ध्यानमा राखेर माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा आवश्यकता हेरेर गठबन्धन गर्न निर्देशनसमेत दिएको छ । 

अधिकांश जिल्लाबाट एमालेसँग मिलेर चुवान लड्नु पर्ने सुझाव आएपछि माओवादी केन्द्रले कांग्रेससँगै मिलेर निर्वाचन लड्नुपर्ने बाध्यता नभएको भन्दै आवश्यकता हेरेर चुनावमा गठबन्धन बनाउन निर्देशन दिएको हो । ‘कांग्रेसको त्यति भर देखिएन आगामी स्थानीय तह चुनाव एक्लै लड्ने मानसिकता बनाउन थालिएको छ’, माओवदी केन्द्रका एक नेताले भने । 

सत्तागठबन्धन दलभित्रको प्रमुख पार्टी नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनबारे केही नबोल्नु र कांग्रेसका नेता कार्यकर्ताले निर्वाचनमा माओवादीसँगको सहकार्यलाई नरुचाउनुले पनि माओवादी केन्द्र अप्ठेरोमा परेको छ । 

कांग्रेसका कतिपय नेताहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धन नगरी एक्लै सहभागी हुनुपर्ने बताउन थालेपछि माओवादी केन्द्रले पनि गठबन्धनको भर नभएकाले एक्लै चुनाव लड्ने मानसिकता बनाउन थालेको माओवादी केन्द्रका नेताको दाबी छ ।

माओवादी अध्यक्ष प्रचण्डले पछिल्ला पार्टीका प्रदेशस्तरीय प्रशिक्षणमा पुगेर पनि सत्तागठबन्धन चुनावमा पनि रहला र खाउँला भन्ने कुनै नेता कार्यकर्तालाई नसोच्न आग्रह गर्दै आफ्नै तागतका साथ चुनावलाई जीवनमरणको विषय बनाएर जित्ने योजनाका साथ लाग्न निर्देशन दिए । 

त्यसको अर्थ गठबन्धनप्रति प्रचण्डको विश्वास कम भएको आँकलन गर्न सकिन्छ । ‘माओवादी देशब्यापी संगठन भएको पार्टी हो, अहिले पनि धेरै स्थानमा एक्लै स्थानीय तहको निर्वाचन जित्न सक्छ । त्यसकारण गठबन्धन भए पनि नभए पनि एक्लै निर्वाचनमा जाऔँ भन्ने कार्यकर्ताको मनोभावना छ’, माओवादी केन्द्रका केन्द्रीय सदस्य शिबबहादुर बस्नेतले भने । 

उनका अनुसार प्रचण्डले पनि अहिलेको अवस्थामा पार्टीको परीक्षणसमेत हुने भएकाले गठबन्धन विना नै निर्वाचनको तयारी गर्न निर्देशन दिएका हुन् । अध्यक्ष प्रचण्डले काठमाडौंमा गैह्र भौगोलिक प्रदेश अन्तर्गतका विशेष र सम्पर्क प्रदेश समितिका नेता–कार्यकर्तालाई अब गठबन्धनको भर नपर्न निर्देशन दिएका थिए ।

‘आउनेवाला निर्वाचन चाहे त्यो स्थानीय वा प्रदेश र संघको होस् त्यो सबै हाम्रा लागि सामान्य औपचारिक निर्वाचनमात्रै रहेको छैन । हाम्रो लागि यो लाइफ एण्ड डेथ (जीवन मरण) को लडाइँ भएर आउँदैछ । त्यसका लागि पनि पहिले हामीले आफ्नै खुट्टामा उभिएर आफ्नै तागतका साथ चुनाव जित्ने गरी लाग्नुपर्ने छ’, प्रचण्डले भने । 

सो कार्यक्रममा त्यसो भनेका प्रचण्डले बुटवलको एउटा कार्यक्रममा कांग्रेसले लखेटेमा एमालेसँग सहकार्य हुन सक्ने भन्दै कांग्रेसलाई धम्क्याएका थिए । स्थानीय तहको निर्वाचनमा ‘जसको नीति उसकै नेतृत्व’ को नारा लिएर मतदाताको घरघर पुग्ने योजना माओवादीले बनाएको छ । माओवादीकै एजेण्डाका आधारमा अहिले गाउँगाउँमा सिंहदरबारको अधिकार र करोडौं बजेट आउने स्थिति बनेको र गाउँको विकास र समृद्धिका लागि अब केन्द्रमा आएर सिंहदरबार धाउने वातावरणको अन्त्य भएको माओवादीको भनाइ छ । 

जसको नीति, उसैको नेतृत्व नहुँदा स्थानीय तहमा कतिपय अन्तरविरोधहरु देखा परेको भन्दै माओवादीले विगतमा कमजोरी भएको भए त्यसमा माफी दिएर सच्चाउने मौका दिन र एकपटक फेरि माओवादीलाई जिताउन अपिलसहित घरघर जाने योजना बनाएको छ । 

‘स्थानीय तहमा कांग्रेसभन्दा एमालेसँग सहकार्य गर्न सहज हुनेछ भन्ने सुझाव आएको छ केन्द्रीय तहमा यसको विषयमा छलफल हुनेछ’, अर्का एक केन्द्रीय सदस्यले भने । ती सदस्यका अनुसार सोहीअनुसार माओवादी केन्द्रका नेताहरुले आवश्यकताको सिद्धान्त लागु गर्न तल्लो तहका नेताहरुलाई निर्देशन दिएका हुन् । 

सत्ता गठबन्धनको शीर्ष तहमा स्थानीय तह चुनावमा गठबन्धन निर्माण बारेको छलफलमा पछिल्लो दिनमा कांग्रेसले त्यति रुची देखाएको छैन । 

केन्द्रीय स्तरमा सत्ता गठबन्धन दलमा आवद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुको मन राखिदिनका लागि मात्रै केन्द्रीय संन्यत्र बनाईदिने र त्यसले गठबन्धनको बारेमा नितिगत धारणा बनाएर तल्लो कमिटिलाई सुझाव दिने तर सीधा गठबन्धन नै गर्न निर्देशन भने नदिने गरी जान खोजेपछि माओवादीले पनि स्थानीय तहमा जोसँग सहकार्य गर्दा फाइदा हुन्छ उतै सहकार्य गर्ने रणनीति बनाउन लागेको स्रोतको दाबी छ । 

त्यसका लागि उसले २८ वटा केन्द्रीय कमाण्ड बनाएर पार्टीका केन्द्रीय सदस्यहरुलाई चुनावमा परिचालन गरेको छ । जसअन्तर्गत प्रदेश २ र गण्डकी प्रदेश बाहेक अन्य २१ वटा कमाण्ड हेर्ने नेताहरुको जिम्मेवारी तोकिसकेको छ । मधेस प्रदेशमा बस्ने ४ वटा कमाण्डको नेतृत्व र केन्द्रीय नेताहरुको जिम्मेवारीका लागि केही दिनमै मधेस प्रदेशका केन्द्रीय सदस्यहरुको वैठक बस्ने र त्यसैले टुग्गो लगाउने भएको छ । यो टुग्गो लगाएपछि प्रचण्ड ८ चैतमा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुने छन् ।

उता गण्डकीले भने ६ गते प्रचण्ड प्रदेशस्तरीय प्रशिक्षणका लागि पोखरा पुगेर फर्केपछि चैत ८ गते केन्द्रीय सदस्यहरुको बैठक बसेर प्रदेश अन्तर्गतका कमाण्डदेखि केन्द्रीय नेताहरुको जिम्मेवारी तय गर्ने तयारी गरेको छ । प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले भने केन्द्रीय कमाण्डका नेताहरुको जिम्मेवारी तय गरिसकेको छ । 

एक केन्द्रीय सदस्यले कम्तीमा एउटा पालिका जित्ने गरी खटिनुपर्ने गरी निर्देशनसमेत जारी भएको छ । माओवादीले सबै केन्द्रीय सदस्यहरुलाई गाउँ पठाउने र त्यही खटाउने रणनीतिसमेत अख्तियार गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ