arrow

वाम तालमेलबारे एमालेमा विवाद, भुषाल छुट्टै धारणा राख्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
ncp-uml-party-head-office-hq-oli.jpg
तस्बिर– फाइल

काठमाडौं । स्थानीय तहको निर्वाचनमा वाम तालमेल गर्ने विषयमा विवाद हुँदा घनश्याम भुषालले छुट्टै धारणा सार्वजनिक गर्ने भएका छन् । सोमबार एमालेको पोलिटव्यूरो बैठकमा वाम एकता, तालमेलबारे बहस हुँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तत्कालै वाम एकता हुन नसक्ने बताएपछि भुषालले मंगलबार छुट्टै धारणा राख्ने भएका हुन् । 

एमाले, माओवादी केन्द्र र समाजवादी केन्द्रसहितको वाम एकताको आवश्यकता र औचित्यबारे भुषालले सो धारणा राख्ने भएको हुन् । उनले  किन र के का लागि ? कसरी एकता संभव छ ? यी प्रश्नको विषयमा हुने आफ्नो धारणा राख्ने उनी निकट नेताहरुले बताएका छन् । 

वाम एकताबारे नेकपा एमालेभित्र विवाद देखिएको छ । स्थानीय तहको निर्वाचन लक्षित केन्द्रीय तहका बैठकमा वाम तालमेल वा स्थानीय तहमा अनुकुलतामा तालमेल भन्ने बारेमा विवाद देखिएको नेताहरुले बताएका छन् । 

संसदमा एमसीसी अनुमोदन गर्ने बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पुनः पार्टी एकताको प्रस्ताव लिएर जाँदा ओलीले इन्कार गरेका थिए । तर अहिले एमालेभित्रै यसको बहस र छलफल शुरु भएको छ । 

दशौं महाधिवेशनपछि एमालेभित्र वाम एकताको विषयमा पहिलो पटक छलफल शुरु भएको हो । एमालेको पोलिटव्यूरो बैठकमा माओवादी केन्द्रसहितको बृहत वाम एकताको विषयमा मौखिक छलफल शुरु भएको छ । 

केन्द्रीय कमिटीको पूर्वसन्ध्यामा बसेको एमाले पोलिटव्यूरो बैठकमा बोल्ने अधिकांश वक्ताहरुले सत्ताधारी गठबन्धनलाई पराजित गर्न स्थानीय तहमै तालमेल गर्न छुट दिनुपर्ने आवाज उठाएका थिए । 

तर पार्टी अध्यक्ष ओलीले नेपालमा वाम पार्टी नै नभएकाले तालमेल हुन नसक्ने बताएका थिए । सोमबारको पोलिटव्यूरो बैठकमा सहभागी नेताहरुले स्थानीय तहको निर्वाचन एमाले विरुद्धको घेराबन्दी भएकै कारण तालमेलको ढोका खुला राख्नुपर्ने बताएपछि ओलीले गठबन्धन वा तालमेल नहुने संकेत गरेका थिए ।  

ओलीले एमाले सरकार ढाल्ने कुनै पनि तत्वसँग तालमेल नहुने बताउँदै एमालेबाट ढोका फोरेर, सिसा फुटाएर बाहिर जानेहरुलाई चुकुल नखोल्नेसमेत बताएपछि तत्काललाई वाम एकताको संभावना टरेको भनिए पनि भुषाल लगायतका नेताहरुले फेरि यसको आवश्यकतालाई उठाएका छन् ।  

बैठकमा घनश्याम भुषाल, रघुजी पन्त, ठाकुर गैरेले स्थानीय तहमा तालमेल गरेर जानुपर्ने सुझाव दिएका थिए । तर महेश बस्नेत, हिक्मत कार्की, कर्ण थापा लगायतका नेताहरुले वाम तालमेल गरेर अल्मल्याउने काम गर्न नहुने भन्दै भुषाललाई काउण्टर दिएका थिए । 

ओली निकट रहेका कार्की, बस्नेत र थापाले भुषाल, पन्त र गैरेको भनाइलाई खण्डन गरेका थिए । नेताहरुले बहुसंख्यक मानिसहरु वाम एकताको पक्षमा रहेको बताए पनि ओलीले त्यसलाई पत्याएनन् ।  उनले अझै एमाले एक्लैले चुनाव जित्ने र त्यसका लागि वातावरण बनाउन लागि पर्ने बताएका थिए । 

‘अहिले कसैसँग एकता हुँदैन, देशमा वाम नै छैन, के को एकता ?’, अहिले वामपन्थी एकता हुँदैन । चुनावी एकता हुन्छ’, ओलीले भनेका थिए । ओलीको जोड भने त्यहाँ गएका नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिएर फर्काउनु पर्नेमा रहेको थियो ।

बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बैठकमा वा एकता र तालमेलको कुरा उठेको बताए । तर उनले हल्लाखल्ला गरेर वामतालमेल नहुने बताए । 

‘अधिकांश साथीहरुले चुनावी तालमेलबारे ठोस निर्णय होस भन्नुभएको थियो तर हामी अहिले हल्लाखल्ला गरेर वाम एकता भनेर जादैनौँ,’ प्रचार विभाग प्रमुख गुरुङले भने । 

प्रचार विभागका अनुसार रिपोर्टिङ, राजनीतिक प्रतिवेदन, विभागको गठन, स्थानीय तह उम्मेद्वार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्रको तयारी, निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदनलगायत एजेण्डा केन्द्रीय कमिटी बैठकमा पेश गरिने भएको छ । 

बैठकले केन्द्रीय कमिटी बैठकको प्रस्ताव अनुमोदन गरेको छ । ९–१० चैतमा बस्ने केन्द्रीय कमिटी बैठकमा एघार प्रस्ताव पोलिटब्यूरोबाट पारित भएको छ । यसअघि एमाले सचिवालय बैठकले नगरपालिकाको प्रमुख÷उपप्रमुखको उम्मेद्वारको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने एमालेको निर्णय छ । महानगर र उपमहानगरको उम्मेदवार भने प्रदेशको सिफारिसमा केन्द्रले गर्ने तय भएको छ ।

लोकप्रियताको, जनाधार, पार्टी प्रतिको निष्ठा लगायतका ६ वटा मापदण्डका आधारमा उम्मेद्वार तय हुने एमालेले जनाएको छ । प्रचार विभाग प्रमुख गुरुङका अनुसार स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यहरुको वडा कमिटीले सिफारिस गर्ने र त्यसको निर्णय पालिका कमिटीहरुले गर्नेछ । 

त्यसैगरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसैको आधारमा सम्बन्धित जिल्ला कमिटी सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्ने गरी मापदण्ड बनाएको हो । 

नगरपालिकाको मेयर, उपमेयरको प्रदेश कमिटीले नै निर्णय गर्नेछ । उपमहानगरपालिका र महानगरपालिकाको मेयर, उपमेयर भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेछ । 

विगतको कामको मूल्यांकन, उनीहरुको कार्यक्षमता, विकास र सुशासनप्रतिको उनीहरुको दृष्टिकोण उम्मेदवार चयनका मुख्य मापदण्ड भएको एमालेले जनाएको छ । त्यस्तै लोकप्रियता, चुनावमा जित्ने आधार पनि अर्को मापदण्ड बनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ