arrow

संविधान रक्षा र संवैधानिक सर्वोच्चता रेडियो प्रसारणको लक्ष्य बन्नुपर्छ : मन्त्री बडू

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
crnc.PNG

नेपालगन्ज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले संविधान रक्षा र संवैधानिक सर्वोच्चता रेडियो प्रसारणको लक्ष्य बन्नुपर्ने बताएका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को १६औं वार्षिक साधारण सभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको बुधबार बिहान नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडूले रेडियोहरूको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले रेडियो प्रसारणले सामाजिक रूपान्तरण र राजनीतिक स्थायित्वका पक्षमा निरन्तर पैरवी गर्नुपर्नेमा जोड दिए ।

 २०६२/६३ को जनआन्दोलनपछि रेडियो अभियानले नयाँ गति लिएको मन्त्री बडूको भनाई छ । उनले रेडियोहरूको नवीकरण शुल्क छुट, रोयल्टीमा ५० प्रतिशत छुट, विद्युत् महसुलमा छुट लगायतका काम सरकारले गरेको बताए । 

मन्त्री बडूले विशेष परिस्थितिमा विशेष दायित्वका साथ अहिलेको सरकार बनेको उल्लेख गर्दै खतरामा पर्नै आँटेको संविधान रक्षा सरकारको मूल जिम्मेवारी भएको बताए। सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीले राज्यको स्पष्ट नीति नहुँदा सामुदायिक रेडियोहरूले थुप्रै चुनौतीहरूको सामना गर्नुपरेको बताए। सामुदायिक रेडियोहरूको अलग पहिचान स्थापित गर्न राज्यले विशेष ध्यान दिनुपर्ने गिरीले बताए । 

उद्घाटन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्याल, नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशोक कोइराला, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

साधारण सभा एवम् सम्मेलनमा पाँच जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । सामुदायिक रेडियो अभियन्ताहरू पूर्व अध्यक्ष मीन बहादुर शाही र मोहन चापागाईँ, संस्थापक मध्येका एक दधिराम सुवेदी, थारु समुदायको बरघर एवम् थारु अगुवा बर्दियाका पतिराम थारु र कला क्षेत्रका साधक नेपालगन्जका कलाकार श्यामानन्द सिंह ठकुरीलाई प्रमुख अतिथि मन्त्री बडूले सम्मान गरेका हुन् ।

दुई दिनसम्म चल्ने १६औं वार्षिक साधारण सभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनमा देशभरका ७७ जिल्लाबाट ३६१ सामुदायिक रेडियोका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको छ । नेपालगन्ज घोषणापत्र जारी गर्दै सम्मेलन भोलि सकिने सामुदायिक रेडियो प्रसारक सङ्घका महासचिव किशोरजंग थापाले जानकारी दिएका छन् । 

सम्मेलनमा भाषाभाषीको संरक्षण र प्रवर्द्धनमा सामुदायिक रेडियोको भूमिका, विपद् तथा महामारी लगायतका नयाँ चुनौतीहरूको सामना गर्न सक्ने समुदाय निर्माणमा सामुदायिक रेडियोको भूमिका, सामुदायिक रेडियोले आफ्नो प्रसारणमा प्राथमिकता दिनुपर्ने क्षेत्रहरू, दिगो विकासका साथै नेपाली समाजमा विद्यमान विभिन्न कुरीति तथा परम्परागत हानिकारक अभ्यासको अन्त्यका लागि सामुदायिक रेडियोको बुझाई र योगदानका विषयमा संवाद गरिने अध्यक्ष गिरीले जानकारी दिए । "संविधानले व्यवस्था गरे अनुरूप तीन तहको सरकार निर्माण भइसकेको र नयाँ कानुनहरू समेत निर्माण भइरहेको अवस्थामा सामुदायिक रेडियोले निर्वाह गर्ने दायित्वमा समेत विचार र संवाद गरिनेछ," गिरीले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ