- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एक जना जिज्ञासुले शिवपुरी बाबासँग बाबा, हामीलाई माया (लौकिक वस्तु) ले अलमल्याउँछ । के यो पनि भगवान्कै शक्ति हो त ? भनी प्रश्न गरे । त्यसको जवाफमा श्री बाबाले भन्नुभयो : हो, स्वधर्मपालन गर्दै जाँदा हामीले मायाको मान्यता पनि गर्नुपर्छ तर त्यसमै अलमल नगरी त्यसबाट पारि जानुपर्छ । काम, क्रोध, लोभ मोह आदि मायाकै उपज हुन् । यसलाई एकदमै हटाउन पनि सक्तैनौं। हामीमा विवेक भयो भने कुन स्थितिमा कहाँ र कसरी के कति आवश्यक छ ? बुझेर प्रयोग गर्न थाल्छौँ ।
संसारमा केही गल्ती छ भने आफूमै छ । अरूसँग छैन । तर जीवनमा आइपर्ने दुःख हटाउन स्वधर्मपालन बाहेक अरू उपाय पनि छैन । कर्तव्यमा मात्र मनलाई व्यस्त नराखेमा जीवनमा आइपर्ने दुःखले हामीलाई पागल गराउने सम्भावना पनि हुन्छ । तपाईँहरू आफ्नो लक्ष्य प्राप्त गर्न विल्वमङ्गलजस्तै दृढनिश्चयी पनि हुनुपर्दछ।
विल्वमङ्गल पहिले सन्त स्वभावको थिए । तर बाबुको मृत्युपछि खराब सङ्गतले गर्दा नगरवधू (वेश्या) को पछि लागे जुन नगरवधू नदीपारिको गाउँमा बस्थिन् । एक दिन उनी बाबुको श्राद्धको दिनमा सबैले सम्झाउँदा पनि नमानी नगरवधू कहाँ जान लागे तर नदी तर्ने डुङ्गा पाएनन्। अँध्यारोमा नदीमा बगी आएको मुर्दालाई डुङ्गा सम्झी चढेर गए । नगरवधू पनि घरमा सुतिसकेकी थिइन् । ढोका खुलेन ।
सर्प झुण्डिएको रहेछ । त्यही सर्पलाई डोरी सम्झेर माथि गए । नगरवधूले उसलाई देखिन् र सबै कुरा सोधिन् । उनले सबै बताए । नगरवधूले “हेर ! एउटा मासुको डल्लाका लागि यसरी मरिमेट्यौ । यसको सट्टा परमात्मा-चिन्तनमा तल्लीन भएको भए कस्तो हुन्थ्यो भनिन्।
नगरवधूको कुराबाट उनको आँखा खुल्यो र महात्माको सङ्गत गर्न गए। फलस्वरूप उनी भगवान्को नाम सङ्कीर्तन गर्दै समय बिताउन पनि लागे । यति गरेर पनि प्रारब्ध बाँकी भएको हुँदा एउटी स्त्रीमा मोहित भए। एक पटक युवतीलाई हेरे र बेलको काँडा लिएर “यही आँखाले गर्दा मलाई पुनः पतन गरायो” भनी आँखा घोचे र अन्धो बने ।
आफूलाई धिक्कारे, अनि भगवान्को कीर्तन गर्दै नाच्न लागे। भोक-प्यास केही नभनी "कृष्णकृष्ण" भन्दै भगवान्को दर्शन पाउने इच्छाले जङ्गल र गाउँ घुम्दै समय बिताउन लागे।
एक दिन श्रीकृष्ण बालक रूपमा आएर उनलाई “हे सूरदास! तिमीलाई भोक लाग्यो। मैले मिठाइ पानी ल्याएको छु” भनी खान दिनुभयो। उनले भगवान्सँग नाम के हो ? काम के हो ? भनी सोधे। भगवान्ले म नजिकै बस्छु । जसले मलाई बोलाउँछ उसैकहाँ जान्छु, बस्छु र गाई चराउँछु । जसले मलाई प्रेम गर्छ उसैसँग प्रेम गर्छ” आज्ञा भयो र “भोलि पनि तिमीलाई खाना ल्याउँछु” भनी फर्की जानुभयो।
भगवान्को वाणी सुनेपछि उनको मन भगवानमै लागिरह्यो र सोच्न लागे स्त्रीको मोहबाट उम्के । तर यी बालकको मोहमा परेँ ।”
भोलिपल्ट श्रीकृष्ण आउनुभयो र “वृन्दावन जान्छौ ?” भनेर सोध्नुभयो भगवान्को मुखारविन्दबाट वृन्दावनको नाम सुन्नासाथ दङ्ग परेर “म अन्धो छु, कसरी जाऊँ ?” भने । श्रीकृष्णले “म लट्ठी दिन्छु । यसलाई समात र म तिमीलाई डोऱ्याएर लैजान्छु” भन्नुभयो र डोर्याउँदै वृन्दावन पुर्याउनुभयो ।
वृन्दावन पुगेपछि श्रीकृष्णले आफ्नो हात छुटाई भाग्न लाग्नुभयो । उनले भगवान्को हात समातिराखे र भने, “हे कृष्ण! तिमी बल गरेर मेरो हात छुटाउँछौ, त्यसमा के आश्चर्य भयो ? तर तिम्रो वीरता त्यति बेलामा मात्र गनिन्छ, जुन बेला मेरो मनबाट तिमी छुट्टिएर जान सक्छौ ।"
(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।) इमेल :aamodita@gmail.com