arrow

यी हुन् नेपालगञ्ज उपमहानगरमा मेयरका आकांक्षी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
nepalgunj-mayour-candidate.jpg

नेपालगञ्ज । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूको चर्चाले बजार तातेको छ । चोक, चिया पसलमा कुन पार्टीबाट को उम्मेदवार बन्लान्, कसले जित्ला वा को बढी लोकप्रिय छ भन्ने विषयको चर्चा-परिचर्चा बाक्लिएको छ । उम्मेदवारी मनोनयनका लागि एक महिना भन्दा कम समय रहँदा मुख्य दलहरूले कसलाई उम्मेदवार बनाउँछन् भन्ने आमचासो छ । 

बाँकेमा आठ स्थानीय तह छन् । सबै पालिकाहरूमा मुख्य दलहरूको चुनावी गतिविधि तीव्र छ । सबैतिर अभियान चलेका छन् । लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिका मध्ये बाँकेको सदरमुकाम समेत रहेको नेपालगञ्ज उपमहानगरपालिकामा को-को उम्मेदवार बन्लान् भन्ने चासो छ । 

पश्चिम नेपालको मुख्य व्यापारिक केन्द्र नेपालगञ्जको नयाँ मेयर बन्न दर्जन बढी नेताहरू दौडधुपमा छन् । आ-आफ्नो पार्टीबाट आधिकारिक उम्मेदवार बन्न सबैले लबिङ गरिरहेका छन् । यद्यपि स्थानीय स्तरमा सत्ता गठबन्धन र प्रतिपक्षले समेत अन्य दलहरूसँग गठबन्धन गर्ने सम्भावना त्यत्तिकै रहेकाले चुनावी समीकरण कस्तो बन्छ र कुन पालिकामा कुन पार्टीको उम्मेदवार हुन्छ, त्यो हेर्न बाँकी नै छ। 

नेपाली कांग्रेसबाट आधा दर्जन आकांक्षी भए पनि टिकट पाउन तीन जनाबीच मुख्य प्रतिस्पर्धा छ । यसअघि मेयरको उम्मेदवार बनेर पराजित भएका डा.सुरेश कुमार कनोडिया, अहिलेकी उपमेयर उमा थापा मगर र नगर सभापति प्रशान्त विष्ट टिकट पाउने मुख्य पात्रहरू रहेको कांग्रेस वृत्तमा चर्चा छ । उनीहरू बाहेक व्यापारिक पृष्ठभूमिका नेताहरू अच्युत प्रसाईँ र ललित रौनियारले पनि दाबेदारी प्रस्तुत गरेका छन् । लुम्बिनी प्रदेश सरकारका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, महासमिति सदस्यहरू निरञ्जनसिंह सिजापति र राजकुमार बर्माको पनि चर्चा सुनिन्छ  । तर, उनीहरूले केही बोलेका छैनन् । 

नेकपा एमालेबाट केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र एकल उम्मेदवार जस्तै छन् । अघिल्लो संसदीय निर्वाचनमा सूर्य चुनाव चिन्ह लिएर उठेका मिश्र पराजित भएका थिए । केही समय अघि दलबलसहित एमालेमा प्रवेश गर्दा नै उनले मेयर टिकट कन्फर्म गरेको एमाले वृत्तमा चर्चा छ । यद्यपि पार्टीले निर्णय भने गरेको छैन । नेकपा माओवादी केन्द्रबाट व्यापारिक पृष्ठभूमिका दुई नेताहरू नन्दलाल वैश्य र आदेश अग्रवालसँगै नवीन शर्माको पनि उत्तिकै चर्चा छ । तीनै जना युवा नेताहरू उम्मेदवारी हत्याउन लागिपरेको माओवादी वृत्तमा चर्चा छ । 

राप्रपाबाट हालसम्म एक जनाको मात्रै दाबी रहँदै आएको छ। राप्रपाबाट वडा नम्बर ४ का वडा अध्यक्ष मो.सफिक बेहनाले मेयरमा दाबी गरेका छन् । जनता समाजवादी पार्टीबाट यसअघि पनि मेयरमा लडेका पार्टीका बाँके जिल्ला अध्यक्ष कमरुद्धिन राई पनि एकल दाबेदार जस्तै देखिन्छन् । नेकपा एकीकृत समाजवादीबाट मेयरमा उम्मेदवार खडा गर्ने परिस्थिति बने यसअघि एमालेबाट मेयर लडेको समसुद्धिन सिद्धिकी उम्मेदवार बन्न सक्छन् । उनी नेपालगञ्जको उपमेयर भइसकेका छन् । यी बाहेक मधेस केन्द्रित अन्य दल, कमल थापाको राप्रपा नेपाल र स्वतन्त्र ढङ्गले मेयरमा उम्मेदवारी दिने गरी केही व्यक्तिहरूले तयारी थालेको पनि देखिन्छ ।

नेपालगञ्जका अहिलेका मेयर राप्रपाका महामन्त्री डा. धवल शमशेर राणा फेरि मेयर नलड्ने भएपछि राप्रपाले एमालेलाई मेयरमा सघाउने र संसदीय निर्वाचनमा एमालेले राप्रपालाई सहयोग गर्ने गरी छलफल भइरहेको पनि बताइन्छ । सत्ता साझेदार दलहरुबीच पनि नेपालगञ्जमा चुनावी तालमेल हुने सम्भावना प्रबल रहेकाले कसले मेयर पाउँछ, त्यो आधारमा पनि उम्मेदवारको टुङ्गो लाग्ने देखिन्छ । 

मुख्य दलहरू एक्ला एक्लै लड्दा एउटा परिस्थिति र गठबन्धन बने अर्को परिस्थिति बन्ने भएकाले पहिले गठबन्धनको टुङ्गो लागेपछि को उम्मेदवार बन्ने भन्ने विषयले प्रवेश पाउने अवस्था आउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ