arrow

ब्रम्हचर्य शुकदेव यसरी बने गृहस्थ

धन्यो गृहस्थाश्रम

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ चैत १७ बिहिबार
Pareekshit-sukdev.jpg

काठमाडौं ।  वेदव्यासले शिवजीको अत्यन्त कठोर तपस्या गरेपछि उहाँकै आशीर्वादले शुकदेवको अवतरण भएको थियो । अयोनिज पुत्र शुकदेवले वृहस्पतिलाई आफ्नो आचार्य मानेर ब्रम्हचर्य व्रत लिएका थिए । उनले गुरुसँग सबै वेद धर्म, शास्त्रको अध्ययन पूरा गरेर गुरु दक्षिणा पनि अर्पण गरे । यसरी अध्ययन पूरा गरेपछि उनी आफ्नो बुबा वेदव्यासको आश्रममा आएर बस्न लागे ।

आफ्नो छोरा विवाह गरेर गृहस्थ धर्ममा प्रवेश गरुन् भन्ने व्यासको आशय थियो । उनी बारम्बार यही कुरा सोची रहन्थे ।  उनले छोरालाई ,  ' हे बाबु, तिमीले सबै वेदको अध्ययन गर्‍यौ । अव गृहस्थमा बसेर पितृ ऋण तिर्नु पर्ने समय भइसकेको छ, जसको छोरा छैन त्यसको अगति हुन्छ, त्यसैले विवाह गर ' भने । व्यासले शुकदेवजीलाई प्रशस्त धन पनि दिने कुरा बताए । उनको कुरा सुनेपछि शुकदेवले आफ्नो बाबुलाई विषयमा आशक्त भएको पाए ।  

उनले आफ्नो बाबुलाई अनेक तर्क, उपमाहरू दिएर चित्त बुझाउन खोजे । उनले भन्दै गए  'मैले स्त्री पाएपछि म उनकै वशमा हुन जान्छु, म अयोनिज हुँ, कसरी योनियुक्त शरीरमा म रमाऊँ, कसरी यसमा अलमलिऊँ । म भविष्यमा पनि योनियुक्त शरीरबाट जन्मन चाहन्न । मैले वेदहरू पनि पढेँ । मेरा आचार्य पनि गृहस्थाश्रममा डुबिरहेको मैले पाएँ । वेदहरूले पनि कर्ममार्गमा मानिसलाई लगाउने रहेछन् । यसमा पनि हिंसा मिश्रित हुने रहेछ । मलाई उद्धार गर्न कसले सक्छ र ? रोगले ग्रस्त चिकित्सकले अर्को रोगग्रस्त बिरामीलाई कसरी उपचार गर्न सक्छ र ? बरु खम्बामा फलामको जन्जिरले बाँधिएको व्यक्ति मुक्त हुन सक्ला तर गृहस्थमा बाँधिएको व्यक्ति मुक्त हुन सक्तैन । मनुष्य चोला दुर्लभ छ, आत्मज्ञान भन्दा ठुलो सुख संसारमा छैन ।  वेद शास्त्रको अध्ययन गरिसकेपछि पनि कोही व्यक्ति घर गृहस्थमा लिप्त हुन ठिक होला र ? ' 

व्यासजी शुकदेवको कुरा सुन्दै गए र अन्तमा उपदेश दिन थाले । हे बाबु, गृहस्थाश्रम कारागार होइन । यो बन्धनको कारण पनि होइन । जो मनुष्य मनले बन्धनबाट मुक्त भएको हुन्छ त्यही नै गृहस्थाश्रममा बसे पनि मुक्त हुन्छ । गृहस्थाश्रम जस्तो पवित्र आश्रम अरू छैन । गृहस्थले वेदोक्त कर्म गरेपछि जे चिताउँछ, त्यही पाउँछ । आफ्नो बाबु पराशर, महर्षि विश्वामित्र आदि पनि स्त्रीको मोहमा परेको उदाहरण दिँदै छोरालाई गृहस्थाश्रममा प्रवेश गर्न प्रेरित हुने खालका उपदेश दिँदै तिमी पनि अव एक आश्रमबाट अर्को आश्रममा प्रवेश गर भनेर छोरालाई अर्ति दिँदै गए ।

उनको उपदेशबाट पनि शुकदेव आफ्नो अठोटबाट विचलित भएनन् । उनले आफ्नो बाबुलाई विषयमा अनुरक्त भएको देखेर भने, पिताजी मलाई बरु तत्वज्ञानको उपदेश दिनु होस्, म हजुरको आज्ञाको पालना गर्नेछु, भनेर 'आज्ञा भयो जति कुरा अहिले मलाई, त्यो सत्य हो विषयको अनुरागीलाई ' आदि भन्दै गए ।

यसरी आफ्नो पिताजीबाट उपदेश पाए पनि शुकदेवमा विचलन आएन ।  उनी भन्दै गए, जसरी व्याधाले पासो हालेर पशुलाई जालमा पार्दछ, त्यसरी नै गृहस्थको जालमा मानिस फस्दछ । धन नभए पछि गृहस्थले आफ्नो परिवारजनबाट पनि अपमान खेप्नु पर्दछ । बरु एउटा कुनै पनि इच्छा आकाङ्क्षा नराख्ने भिक्षुक सुखी होला तर स्वर्गका राजा इन्द्र पनि सुखी हुँदैनन् । कसैले कठोर तपस्या गरेको देखे पनि उनको चित्त भ्रमित हुन्छ, ब्रह्मा पनि सुखी छैनन् । लक्ष्मी पाएर पनि विष्णु सुखी छैनन् । उनलाई पनि दैत्यहरुसंग लड्न परेकै छ । शिवजीलाई पनि दैत्यहरुसंग लड्नुपरेकै छ ।

उनको तर्क थियो, संसारमा जन्मेपछि दुःख, बुढो भए पनि दुःख मरणमा पनि दुःखै छ । विष्ठा, मलमूत्रले भरिपूर्ण गर्भमा बस्दा पनि दुःखै छ । मर्नुभन्दा पनि अधिक दुःख माग्नुमा छ । पेट पाल्न मात्र त जसरी भए पनि सकिन्छ, कन्द मूल, फल आदि आएर पनि गुजारा त चलिहाल्छ । त्यसैले मलाई यी कुराहरू होइन बरु योग, ज्ञान आदिको उपदेश पाउँ भनेर आग्रह गरिरहे । 

व्यासले शुकदेवको कुरा सुनिरहे । उनी चिन्तामा डुबिरहे । उनको आँखामा आँसु भरियो । पिताजीको यस्तो स्थिति देखेपछि उनले आफ्नो बाबुलाई बुवा, हजुर यत्रो ज्ञानी पुरुष, यत्रा पुराणहरू रचना गर्नुभयो, तैपनि तपाईँमा मायाको जालले भ्रममा पारेको छ । यो कर्मभूमिमा मानिस जन्मन्छ, त्यसमा पनि ब्राह्मण (ब्रम्हज्ञ) त कोही कोही मात्र जन्म लिन्छन् । 

यस्ता कुरा सुनेपछि फेरि पनि व्यासले शुकदेवजीलाई आफूले रचना गरेको पाँच लक्षणले युक्त श्रीमद्‌देवीभागवत अध्ययन गर्न सुझाउनु भयो । (पाँच लक्षण भन्नाले श्रृष्टि, प्रलय, देवताको उत्पत्ति र वंश परम्परा, मन्वन्तर र मानव वंशको विस्तारलाई भनिन्छ )। आफ्नो पिताको आज्ञा शिरोपर गरेर शुकदेवले उक्त ग्रन्थ अध्ययन गर्न थाल्नु भयो, तैपनि उहाँलाई शान्ति भएन र कम खाने, टोलाएर बस्ने हुनुभयो । उहाँमा व्याकुलता देखिन्थ्यो । यसरी आफ्नो उपदेशले पनि शुकदेवले शान्ति प्राप्त गर्न नसकेको बुझेर उहाँले छोरालाई मिथिलापुरमा गएर राजा जनकसँग ज्ञान हासिल गरेर आऊ भन्नुभयो । उनको यो आग्रह पनि शुकदेवजीलाई चित्त बुझेन किनभने राजा जनक राज्य पनि गर्छन्, त्यसैले उनको शत्रु, मित्र दुवै हुन्छन् । जसरी बन्ध्या स्त्रीको छोरा छ भनेर कसैले पनि पत्याउँदैनन्, त्यसरी नै राजासँग ज्ञान होला भनेर कसरी सम्झने आदि तर्क गरिरहे तर पनि उनी आफ्नो पिताको आग्रह शिरोधार्य गरेर मिथिला पुरी जाने निश्चयमा पुगे ।  

शुकदेवजी आफ्नो पिताको आज्ञा अनुसार पितासँग आशीर्वाद लिएर मिथिला पुरी तर्फ प्रस्थान गरे । जाने वेलामा व्यासले उनलाई राजा जनकसँग ज्ञान लिएपछि आफैकहाँ आउनु भनेर अह्राए । उनी कतैतिर पनि नगई सिधा जनकपुरतर्फ लागे । बाटोमा उनले अनेक साधु महात्मा, योगी, वैष्णव आदि महापुरुषहरूलाई पनि भेटे । उनी मिथिला प्रवेश गरे र त्यहाँका जनताको सुख, समृद्धि देखेर प्रसन्न भए । व्दारपालहरुले उनलाई रोके र राजाको आज्ञा नपाईकन यस नगरी भित्र कोही पनि पस्न पाउँदैन भने । यस्तो कुरा सुन्दा पनि जवाफ सवाल नगरीकन उनी कसैसँग केही नवोली उभिई रहे । 

मिथिलाका रक्षकहरूमा ज्ञान हुने त भई गयो । उनीहरूले शुकदेवको हाव भाव देखेर प्रश्न गर्न थाले । उनीहरूले शुकदेवलाई तपाईँ त सिद्ध, ज्ञानी पुरुष हुनुहुन्छ जस्तो लाग्यो, यहाँ किन आउनु भएको हो बताउनुस् भनेर आग्रह गरे । उनले आफू विदेश नगर हेर्न आएको तर प्रवेश गर्न नपाइने रहेछ भने । मनमा भने उनलाई आफू टाढा आएर पनि कुनै काम नभएको आफूलाई भाग्यले ठगेको भन्ने भान पर्‍यो । 

शुकदेवको मनमा कसैले नबोलाएको स्थानमा आउनु परेकोमा ग्लानि भएको थियो । शुभ भए पनि अशुभ भए पनि प्रारब्ध भोग गर्नु पर्ने कुरा राज सेवकहरूसँग शुकदेवले गरे । ज्ञानले परिपूर्ण उनको कुराले ती सेवकहरूले आफूले उनलाई रोकेकोमा माफ मागे र इच्छा भएको ठाउँमा जान सक्ने स्वीकृति दिए । ढोकेहरूलाई उनले यसमा उनीहरूको दोष नभएको बताए । पराधीन व्यक्तिले अरूले जे अह्राएको छ त्यो काम गर्नु नै पर्ने बाध्यता रहेको कुरा नम्रतापूर्वक उनले सम्झाए । 

उनले संसारमा रागी पुरुष पनि छन्, विरागी पुरुष पनि छन्, सुख पाउन प्रयत्न पनि गर्नुपर्छ । विरागी पुरुष एकान्त वास रुचाउँछ । मनुष्यका काम, क्रोध, लोभ मोह आदि अनेक शत्रुहरू छन् । त्यसैले आत्म चिन्तन गर्नाले मात्र सुखी बनिन्छ भनेर अनेक उपदेश दिए । शुकदेवजीलाई राजाका मन्त्रीले पनि देखे । उनको शालीनता, विद्वत्ता आदि देखेर उनले शुकदेवलाई एक सुन्दर बगैँचामा लगेर राखे । अनेक प्रकारका फूलहरूले सजिएको त्यस बगैँचामा उनको हेरचाहका लागि सुन्दरी स्त्रीहरू खटाइए । शुकदेवजी जितेन्द्रिय हुनुभएको कुरा उनीहरूले बुझी हाले । उनले पनि सबैसँग मातृ भावले व्यवहार गरे र आफू ध्यानमा मग्न भई रहे । रातको भोजन पछि केही समयको विश्राम लिएर रातको चौथो प्रहरमा उनी आफ्नो सन्ध्या वन्दनमा लागे ।
 
शुकदेवजी विदेह नगरीमा आउनुभएको कुरा राजा जनकको कानमा पर्‍यो। आफ्ना गुरु पुत्रको पूजाका लागि उहाँले गाई तथा अनेक प्रकारका सामग्री लिएर जानुभयो । एक आपसमा भलाकुसारीको क्रम सकिएपछि जनक राजाले हजुर त निस्पृह हुनुहुन्छ, के कुराको आवश्यकता परेर यहाँ आगमन भएको हो आदि प्रश्न गरे । शुकदेवले आफ्ना पिताले विवाह गरेर गृहस्थाश्रममा बस्न आग्रह गरेको तर आफूले स्वीकार नगरेको कुरा बताए । मेरो चित्त बुझाउनलाई पिताजीले जनक राजा कहाँ गएर ज्ञान लिएर आऊ भनेर पठाएकोले आफू आएको वृत्तान्त बताए र आफ्नो पिताजी गुरु भए पनि उहाँको अर्ति आफूले नमानेकोले उचित हुने ज्ञान पाउँ भन्ने आग्रह गरे ।
   
शुकदेवजीको यस्तो आग्रह सुनेपछि जनक राजा भन्नुहुन्छ, ब्रम्हचर्याश्रम पूरा गरेपछि गृहस्थाश्रममा प्रवेश गरेर न्यायले कमाएको धनको भोजन गर्नुपर्छ, धर्मपूर्वक कर्तव्य गर्नुपर्छ । कसैसँग कुनै कुराको आशा राख्नुहुन्न । मन, वचन र कर्मले सत्य अँगाल्नुपर्छ । काम, क्रोध, लोभ, मोह,मात्सर्य, मद जस्ता ६ दुर्गुणहरू हटाउनुपर्छ । यसरी आफ्नो धर्म पूरा गरेपछि सांसारिक विषय वस्तुबाट वैराग लिएर संन्यास ग्रहण गर्नुपर्छ । यसरी क्रमैले आश्रमको खुड्किलो पार गर्नुपर्छ ।
 
जनकराजाको यस प्रकारको कुरा सुनेपछि उनले चित्तमा वैराग्य र ज्ञान विज्ञान उत्पन्न भएपछि गृहस्थाश्रममा वसीरहने कि वनमा जाने भन्ने प्रश्न गर्दा उहाँले इन्द्रियहरू बलवान् भएकोले यिनीहरूलाई वशमा ल्याउन कठिन हुन्छ । मानिस संन्यास लिन्छ तर उसले मनमा खाना, इन्द्रिय सुख, पुत्रको मोह आदि राखिरहन्छ । मानिस अग्लो खाटमा सुत्यो भने मात्र खस्ने डर हुन्छ तर भुईँमा सुत्यो भने खस्ने डर हुँदैन । त्यसरी नै सन्न्यासी व्यक्ति भ्रष्ट भयो भने ऊ कहाँ गएर चोखिन्छ ? जसरी कमिला रुखको फेदबाट रुखमा चढ्न थाल्छ र बिस्तारै फलमा पुगेर त्यसको रसास्वादन गर्दछ, त्यसरी नै हामीले पनि क्रमशः आश्रम चाहर्दै गएर जीवन सपार्नुपर्छ भन्ने ज्ञान दिँदै जानुभयो ।

जनक राजाले भन्दै जानु भयो, जो मानिस गृहस्थाश्रममा बसेर पनि शान्त भइरहन्छ, बुद्धिमान छ, आत्म ज्ञानी छ भने ऊ प्रसन्न पनि हुँदैन, खिन्न पनि हुँदैन । ऊ हानि, लाभ सबैमा बराबर हुन्छ । म राज्य त गर्छु, इच्छा अनुसार सबै काम गर्छु तर मलाई हर्ष, शोक आदि केही पनि छैन । बन्ध र मोक्षको कारण देह पनि होइन, जीवात्मा पनि होइन, मन नै बन्ध र मोक्षको कारण हो । आत्मा सदा सत्य छ, मुक्त छ । त्यो कहिल्यै पनि बन्धनमा पर्दैन । आत्मा अनुभवले मात्र जानिन्छ । यसैले मन नै महान् दुःख र सुखको कारण हो । मनले नै शत्रुता, मित्रता आदि भेदभाव गर्ने हो । संसारमा आशक्ति भए मात्र भेद बुद्धि आउने हो । विद्याले मात्र अविद्या हटाउन सकिन्छ । घाम नभईकन छाया नभए जस्तै अविद्या नहटाई विद्या पाइँदैन । विद्या पाउन वेदले प्रतिपादित गरेको आचरण गर्नुपर्छ भन्दै जनक राजाले उनको चित्त बुझाउन खोजे । 

यतिमा पनि उनको चित्त बुझेन र जनक राजालाई सोधे, वेदमा त हिंसालाई स्विकारिएको छ । हिंसामा लग्गु भएपछि कसरी कल्याण होला? मांसाहारी, सोम रसपान आदिले त कल्याण हुने देखिन्न । उनले राजा शश विन्दुले यज्ञ गर्दा पशु वध गरे, जसले पशुको छालाको पहाड नै बनेको चर्चा पनि निकाले । स्त्री सँग पुरुष आशक्त हुने र पाएमा दङ्ग पर्ने, नपाएमा खिन्न हुने हुनाले कसरी जीवन मुक्त बन्न सकिएला भन्ने शङ्का राजा समक्ष राखे । 

उनलाई चित्त बुझाउन जनक राजाले भन्दै गए, हे व्राम्हण देवता, यज्ञमा गरिएको पशु वधलाई हिंसा भनिँदैन । राग लिएर गरिने हिंसालाई मात्र हिंसा भनिन्छ । सुकेको दाउरा बाल्दा धुवाँ नआए जस्तै अहङ्कार नराखी, राग नराखी गरिएको हिंसालाई हिंसा भनिँदैन ।

शुकदेवजीले तैपनि चित्त बुझाएनन् । उनले शास्त्र ज्ञान भएर पनि, नित्य नित्य विवेक भएर पनि मानिसमा मोह जान्दैन । मोह नगएपछि मुक्त हुने कसरी ? शास्त्रको ज्ञानले मात्र पनि विवेक आउँदैन । बत्ती नबालुन्जेल अँध्यारो नहटे जस्तै विवेक नआएको ज्ञान के काम लाग्ला र ? तपाईँमा पनि त चोरलाई चोर कै आँखाले, सज्जनलाई सज्जन कै आँखाले हेर्ने र आफ्नो आर्तकाको भन्ने भेद हुँदै होला? तपाईँ यस स्थितिमा कसरी विदेह हुनुभयो ? तपाईँका पनि हात्ती, घोडा, सैन्य आदि छंदैछन्, ती सबलाई मेरो भन्नु भएकै छ, तपाईँका पुर्खाहरूले रागव्देष राखे जस्तै तपाईँ पनि रागव्देष राख्नु हुन्छ नै आदि भन्दै प्रतिप्रश्न गर्दै गए ।

शुकदेवको यस प्रकारका जिज्ञासा शान्त पार्न जनक राजाले हे बाबु, तपाईँले भन्नु भएको कुरामा म सहमत छु भन्दै आफ्नो कुरा राखे । तपाईँ जङ्गलमा गएर तपस्या गर्न लागे पनि त्यहाँका जनावरहरू सँग तपाईँको मोह हुँदै जान्छ, पृथ्वी, जल आदि महाभूतहरू जहाँ पनि छंदैछन् । वनमा पनि त दण्ड, मृग चर्मको आवश्यकता परिहाल्छ, यसको चिन्ता भई हाल्छ । त्यसैले राजा भएपछि पनि चिन्ता त भइहाल्छ । तपाईँ भ्रममा परेर नै यति टाढा आउनु भएको हो । म त सुखमा भोजन गर्छु, सुख मै शयन गर्छु, म आफूलाई बद्ध मान्दिन । म सुखी छु । तपाईँ भ्रममा पर्नु भएकोले आफूलाई बद्ध सम्झनु हुन्छ । यस प्रकारको भ्रममा नपरीकन सधैँ सुखी र स्वास्थ्य रहनुस्, आफूलाई बद्ध नसम्झनुस्, यो शरीर मेरो होइन भन्ने निश्चय गर्नुस्, यही नै मुक्ति हो । 

यसरी जनक राजाले दिएको उपदेशबाट शुकदेवलाई चित्त बुझ्यो र उनी त्यहाँबाट बिदा लिएर आफ्नो पिता व्यासको आश्रममा आए । शुकदेवलाई देखेर व्यास हर्षित भए भने जनक राजाको विदेहावस्था देखेर उनी पनि आफ्नो बाबुकै आश्रममा बसेर तपस्या गर्न लागे । उनले वर्हिषद् नामको पितृका पीवरी नामको मानसी कन्यालाई पत्नी रूपमा स्वीकारे । उनको गर्भबाट ४ छोरा र १ छोरीले जन्म लिए । यसरी केही समय बिताएर शुकदेवजी तपस्या गर्न कैलाश पर्वतमा गए । तपस्या पछि उहाँलाई परम सिद्धि प्राप्त भयो र आकाश मार्गबाट प्रस्थान गर्नुभयो । 

यति भएपछि पनि व्यासले छोराको मोह छोड्न सक्नुभएन र विलाप गर्न थाल्नु भयो । उनको विलाप सुनेपछि शिवजी प्रकट हुनुभयो र उनलाई शुकदेवको प्रतिमूर्ति सदैव रही रहने कुरा बताएर आफू अन्तर्धान हुनुभयो । व्यास आफ्नो आश्रममा गएर बसे तैपनि उनको पुत्रको मोह भने गएन ।

साधु महात्माका कुटीमा, आश्रममा विशेष उत्सवमा गरिने, गराइने भोजनलाई भन्डाराको संज्ञा दिइन्छ । साधरणतया भोजनको सुरुको समयमा गीताको १५औँ अध्याय पूरा पाठ गरिने, भोजन पूर्ण नहुन्जेल पनि अनेक प्रकारका श्लोक, स्तुति हरू गरिने चलन छ । त्यसमध्ये कहिलेकाहीँ वाचन गरिने चाणक्य द्वारा रचित श्लोकको अन्तिम शब्दबाट यस लेखको शीर्षक राखिएको छ । पूरा श्लोक यस प्रकारको छ ।
 
सानन्दं सदनं सुताश्च सुधियः कान्ता न दुर्भाषिणी, सन्मित्रं सुधनं सयोषिति रतिश्चाज्ञापरा सेवका ।
आतिथ्यं शिवपूजनं प्रतिदिनं मृष्टान्नपानं गृहे, साधो संगमुपासते हि सततं धन्यो गृहस्थाश्रम ।।
(सङ्कलित)।

(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com    



नयाँ