arrow

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता हुँदै, ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १९ शनिबार
deuba-modi.jpeg
तस्बिर– फाइल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । हिजोदेखि तीन दिने भारत भ्रमणमा रहेका देउवाले आज समकक्षी मोदीसँग वार्ता गर्न लागेका हुन् । 

भ्रमणको सबैभन्दा महत्वपूर्ण दिन नै आज हो । स्थानीय समय अनुसार बिहान १०ः४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि ११ः१० बजे हैदराबाद हाउसमा नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । 

मोदीसँगको भेटवार्तापछि हैदरबाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयुक्त विज्ञप्ति जारी गरिने छ । 
  
यसअघि हिजो राति भारतस्थित नेपाली दूतावासमा आयोजित रात्रिभोजमा सम्बोधन गर्दै प्रधानमन्त्री  देउवाले आजको मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका थिए । 

नेपाल र भारतबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुँदै
देउवा र मोदी नेतृत्वको प्रतिनिधिमण्डल स्तरीय वार्तापछि दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने भएको छ ।

नेपाली राजदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले उक्त जानकारी दिएका हुन् । साथै उनले नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदानप्रदान हुने बताए । 

नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन तथा दुई पक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्न आफू भारत भ्रमणमा आएको उनले बताए । आफ्नो यो भ्रमणबाट नेपाल भारत सम्बन्धले थप उचाइ हासिल गर्ने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन् । 

नेपालको बृहत्तर आर्थिक सामाजिक विकासलाई केन्द्रमा राखेर समुन्नत राष्ट्रको मार्गचित्र कोर्ने दिशामा सबै नेपाली पुनः एकपटक जुट्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री देउवाले देशको विकासका खातिर योगदान गर्न प्रवासी नेपालीलाई आह्वान गरेका छन् । 

आगामी बैशाख ३० गते देशभरका स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्नेगरी निर्वाचन आयोगले तयारी गरिरहेको जानकारी दिँदै उनले सङ्घीय संसद्को निर्वाचन पनि समयभित्रे सम्पन्न गरिने बताए ।

प्रजातन्त्र, मानवअधिकारको संरक्षण र सुशासन कायम गरी सङ्घीय शासन व्यवस्थाको सुदृढीकरण गर्ने अभिभारा वर्तमान सरकारका सामु रहेको बताउँदै प्रधानमन्त्री देउवाले भने, “संविधान जारी गरेपछि तीनवटै तहका निर्वाचन मेरो नेतृत्वको सरकारले सफलतापूर्वक सम्पन्न गरेको थियो । अब फेरि एक वर्षभन्दा कम समयमा प्रदेश र सङ्घीय संसद्को निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पनि यही सरकार सामु आएको छ ।” 

भारतको तीन दिने भ्रमणका क्रममा हिजो दिउँसो ५० जनाको टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा नयाँ दिल्ली पुगेका थिए । हिजै उनीसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेट वार्ता गरेका छन् । त्यस्तै भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका नेताहरुबीच पनि भाजपाको केन्द्रीय कार्यालयमा छलफल भएको छ । 

देउवा भोलि अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ