arrow

नियमित सञ्चालनमा जनकपुर–जयनगर रेल

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ चैत १९ शनिबार
janakpur-jaynagar-railway-2078-12-19.jpg

जनकपुरधाम । बहुप्रतिक्षित जनकपुर–जयनगर रेल सेवा आजदेखि नियमित सञ्चालन हुने भएको छ । शनिबार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा रेल सेवाको भर्चुअल रूपमा उद्घाटन गर्नेछन् ।

यसैगरी भारतको जयनगरमा रेल्वेलाई सजाउने कामसमेत पूरा भइसकेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । झाले प्रधानमन्त्रीद्वय देउवा र मोदीले दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा रेल्वे उद्घाटन गर्ने जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले शनिबार दुई देशका प्रधानमन्त्रीले भर्चुअल रूपमा स्विच थिचेर रेल्वेको शुभारम्भ गर्ने बताइन् । भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३४ दशमलव ९ किलोमिटर चल्ने रेल्वे दिउँसो साढे १२ बजे जयनगरबाट चल्नेछ ।

रेल्वे उद्घाटनपश्चात् प्रत्येक स्टेशनमा नागरिक अभिनन्दनका लागि रेल रोकिने महाप्रबन्धक झाले  बताए ।  अभिनन्दनका लागि हरेक स्टेसनमा छात्र–छात्राहरू नेपाल र भारतको झण्डासहित रेल्वेमा आउने छन् । कुर्थासम्म पुगेर फर्केपछि जनकपुरधाममा भव्य कार्यक्रमको आयोजना हुनेछ ।

शनिबार उद्घाटन भएपछि आइतबारदेखि दैनिक रूपमा दुई पटक आउने जाने गरी रेल चल्ने महाप्रबन्धक झाले भने। बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्ने छ भने दुई घण्टापछि कुर्था स्टेसनमा पुग्नेछ । 

महाप्रबन्धक झाका अनुसार जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि निस्किने रेल साढे १२ बजे जयनगर स्टेसनमा पुग्ने  बताए ।

जयनगर गएको रेल पुनः ३ बजे फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको  बताए । 

रेल नियमित रूपमा सञ्चालन हुने र नेपाल सरकारले खरिद गरेको दुई सेट डेमो रेल फागुन १ गते देखि ‘ड्राइ रन’ गर्दै आएको छ । सुरुमा दिनहुँ एक पटक चलाए पनि चैत १ गतेदेखि एक दिनको बिताएर यात्रु विना सञ्चालन हुँदै आएको थियो । 

शनिबार हुने उद्घाटनका लागि जनकपुरधाम रेल्वे स्टेसन र जयनगरको रेल्वे स्टेशनमा प्रोजेक्टर जडानसहित सजाउने कार्य सम्पन्न भएको जानकारी दिए।

जनकपुरधाम रेल्वे स्टेसन र जयनगर रेल्वे स्टेसनमा प्रोजेक्टरसहितको कार्यक्रम आयोजना गरिने महाप्रबन्धक झाले बताएका हुन् । शनिबार यात्रुले निःशुल्क चढ्न पाउने छन् । 

केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश पुनः जारी गरेकी थिइन् । 

भाडादर ९० देखि ४५० रुपैयाँसम्म निर्धारण
जयनगर–जनकपुरधाम–कुर्थासम्म सञ्चालन हुने रेल्वेको भाडासमेत निर्धारण गरिएको छ । नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगरसम्मको भाडा जेनरल ९० रुपैयाँ र एसीमा ४ सय ५० रुपैयाँसम्म निर्धारण गरेका छन् । 

जनकपुरधामदेखि जयनगरसम्मको सामान्य कोचको ७० र एसी कोचको ३५० रुपैयाँ भाडा निर्धारण गरिएको छ। महाप्रबन्धक झाका अनुसार जनकपुरधामदेखि परवाहा र कुर्थाको सामान्य कोचको २० र एसी कोचको १००, वैदेहीको सामान्य कोचको २५ र एसी कोचको १ सय २५, महिनाथपुरको सामान्यको ३५ र एसीको १ सय ७५, खजुरीको सामान्य कोचको ५५ र एसी कोचको २ सय ७५, इनर्वाको सामान्य कोचको ६० र एसी कोचको ३ सय  रुपैयाँ भाडा निर्धारण गरिएका हुन् ।

महाप्रबन्धक झाले कुरा गर्दै जनकपुरधाम जयनगर रेल्वेमा यात्रा गर्न नेपाली यात्रुले भारत जानका लागि यो नियमको पालना गर्नुपर्ने बताए । रेलमा यात्रा गर्दा भारतको जयनगरसम्म जानका लागि नेपाली नागरिकले केही कागजात साथमा राखेपछिमात्र प्रवेश हुने बताए ।

सुरक्षा र खुला सीमाका कारण नेपाली नागरिकले रेलमा यात्रा गर्दा पासपोर्ट वा नागरिकताको प्रमाणपत्र अनिवार्य रूपले साथमा राख्नुपर्ने जानकारी दिए। नागरिकता नभएको खण्डमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र अनिवार्य रूपले साथमा राख्नुपर्ने छ। 

यस्तै आकस्मिक प्रवेशका लागि भारतस्थित नेपालको महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफरिस पत्र वा प्रमाणपत्र साथमा बोक्न भनिएको छ । १० देखि १८ वर्ष उमेरसम्मका बालबालिकाको हकमा स्कुले आइडी कार्ड अनिवार्य साथमा राख्नुपर्नेछ । 

यस्तो छ तयारी
१९९४ सालमा इस्ट इन्डिया कम्पनी सरकारले नेपालको जंगलबाट काठ लग्नका लागि रेल्वे लाइन विस्तार गरेको थियो । त्यसबेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो ।

पछि भारत सरकारले १८ वटा बोगीसहित वाष्प इन्जिन सहयोग गरेको थियो । २०५१ सालदेखि स्टिम इन्जिनयुक्त रेल सञ्चालनमा आएको थियो । २०६१ माघ रेल बन्द भएको थियो ।

महाप्रबन्धक झाका अनुसार भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग तीन खण्डमा निर्माण हुनेछ।

परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना रहेका हुन् ।

डिजेल इलेक्ट्रिक मल्टिपल युनिट डिजेल र विद्युत दुवैबाट चल्ने यी दुवै विश्वमै नयाँ मोडेलका रेलको रूपमा तयार गरिएको निर्माण कम्पनीले दाबी छ ।
डीपीसी १९०१ र डीपीसी १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरको हो ।

प्रतिघण्टा ११० किलोमिटरको स्पिडमा चल्न सक्ने रेल एक पटकमा १ हजार ३ सयसम्म यात्रुले यात्रा गर्न सक्ने महाप्रबन्धक झाले बताए ।

एउटै इन्जिन भए पनि दुवै तर्फबाट चलाउन सकिने रेलको एउट बोगीमा ७० वटा सिट रहेका छन् ।

रेलका बोडिङमा यात्रुले आफूसँग ल्याउने झोलाहरू राख्ने स्थान बनाइएको छ भने प्रत्येक बोगीमा शौचालयको व्यवस्था गरिएको छ। एसीबाहेक अन्य जनरल बोगीमा ठाउँठाउँमा पंखा लगाइएका छन् ।

२० मिटर लामो रेलको इन्जिनबाहेक एक एसी र २ जनरल बोगी रहेको छ । प्रतिकिलोमिटर २ लिटर डिजेलको एभरेज दिने रेलमा आवश्यकता अनुसार थप ४ वटा बोगीसम्म जोड्न सकिने निर्माण कम्पनीले बताएको छ । 
  
महाप्रबन्धक झाले टिकट अनलाइन र अफलाइन दुवैको व्यवस्था गरिएको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ