arrow

केपी ओलीको मधेस मोह, यस्तो छ कांग्रेसको गढ भत्काउने योजना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
vijay-sarawagi-kp-oli.jpg
तस्बिर– फाइल

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिक आएसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीको दौडधुप बढेको छ । शनिबार दिउँसो खोटाङ पुगेर काठमाडौं फर्केका ओली आइतबार टोखामा बुद्धिजीवीको भेलालाई सम्बोधन गरे । साँझ एमालेकै भ्रातृ संगठन सामाजिक सेवा केन्द्रको घोषणा सभामा पुगेर भाषण गर्न भ्याए । 

शुक्रबार विद्यार्थीरुको भेलालाई सम्बोधन गरेका ओलीको ध्यान सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशमा रहेको छ । विगतमा मधेस प्रदेशमा एमालेलाई निषेध गर्ने अवस्था थियो । अहिले भने एमालेलाई स्वागत गर्ने अवस्था बनेको भन्दै ओलीले मधेसी दल तथा नेपाली कांग्रेसका गढ इलाका भत्काउने योजनामा रहेका छन् । 

खासगरी एमालेले माओवादी र मधेसवादी दलका नेताहरुलाई पार्टीमा ल्याएर कांग्रेसमाथि प्रहार गर्ने योजना बनाएको छ । ‘मधेसमा कांग्रेस बलियो छ भन्ने हामीलाई थाहा छ तर माओवादी र मधेसवादी दलको संगठन नभत्काइ एमाले बलियो हुँदैन । एमाले बलियो हुँदै गर्दा कांग्रेसले पनि पुरानो विरासत फर्काउने अवस्था छ’, एमालेका एक नेताको दावी छ  ‘नेपालमा दुई दल मात्रै हुनुपर्छ भन्ने तहबाट पनि बहस हुनु जरुरी छ त्यसकारण एमालेले क्षेत्रीय दलको गढ भत्काउने कोसिस गरिरहेको छ ।’ 

चैत महिनाभर एमाले अध्यक्षको ध्यान सुदूरपश्चिम र मधेस प्रदेशमा देखिएको छ । मोरङको रंगेली नगरपालिकाका मेयर दिलिपकुमार बगडिया (अग्रवाल) र उपमेयर केशवकुमारी खराललाई ओलीले पार्टीमा ल्याए । सत्ताबाट बाहिरिएर प्रतिपक्षमा पुगेको नेकपा एमालेले सत्ताधारी दल नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयरलाई ल्याएर जति चर्चा पाएनन् त्योभन्दा बढी मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जका मेयर विजयकुमार सरावगीलाई पार्टीमा ल्याएपछि चर्चा पाए । तर त्यहाँ एमालेका स्थापित नेता राजेशमान सिंह लोसपा हुँदै जसपातिर लागे । 

वीरगञ्जको प्रसौनीविर्तामा सरावगीलाई एमाले अध्यक्ष ओलीले गम्छा पहिराएर पार्टी प्रवेश गराउँदै गर्दा सिंहले एमाले छाडेको घोषणा गरे । सरावागी २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । 

त्यसअघि सरावगीको राजनीतिक पहिचान थिएन । उनी उद्योगी व्यवसायी थिए । २०७२ को तेस्रो मधेस आन्दोलनताका राजनीतिमा सक्रिय सरावगी तत्कालीन संघीय समाजवादी फोरममा प्रवेशसँगै वीरगञ्ज महानगरको मेयरको टिकट पाएर निर्वाचित भएका थिए ।

जसपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गर्ने सोच बनाएका सरावगी अचानक नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनलाई पूर्वमन्त्री मोती दुगडले अध्यक्ष ओलीसँग भेट गराएपछि एमाले प्रवेश गरेका थिए । 

बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारीलाई नेकपा एमालेका अध्यक्ष ओलीले पार्टीमा ल्याएका छन् । पालिका अध्यक्ष मुस्तुफा जनता समाजवादी पार्टी त्याग गरेर एमालेमा प्रवेश गरेका हुन् ।

मधेस सरकारको नेतृत्व गर्ने यस प्रदेशको ठूलो पार्टी जसपाका जनप्रतिनिधिलाई पार्टीमा ल्याउदै ओलीले मधेसमा आफूले गरेको विकासको फेहरिस्त प्रस्तुत गरेका थिए । 

हुलाकी सडक, सिँचाइका थुप्रै काम आफू नेतृत्वको सरकारले अघि बढाएको उनको भनाइ थियो । मधेस केन्द्रित दलले जोडदार रूपमा उठाउँदै आएको नागरिकताको समस्याको समाधान पनि एमालेले नै गर्ने उनको दाबी थियो । 

मधेसकै ठूलो दल जसपाभित्र मतभेद चुलिएको बेला यस पार्टीका असन्तुष्ट नेता तान्न एमाले केन्द्रित भएको पाइन्छ । २०७२ को मधेस आन्दोलनबाट एमाले मधेसमा करिब करिब जनमत गुमाइसकेको थियो ।

तर मधेस केन्द्रित दलकै सत्तास्वार्थका कारण एमाले मधेसमा जोडदार ‘कमब्याक’ गरेको विश्लेष्कहरू बताउँछन् । आन्दोलनका बखत संघीय समाजवादी फोरम र राजपाबीच मधेसी गठबन्धन बनेको थियो । 

मधेसी शक्तिको फुटले फाटेको मधेसी मन सिलाउन नसक्दा मधेसी दलको अखाडा (मधेस) मै कमजोर बनेको अवस्थामा एमालेका अध्यक्ष ओलीले फाइदा लिइरहेका छन् । ओलीले त्यतिमात्र होइन पञ्चालयतकाल देखिनै पार्टी र रंग बदल्न खप्पिस रहेका जामिल मियालाई पनि एमालेमा ल्याएका छन् । मियाले पैसा तिरेको हेलिकोप्टर चढेर मियालाई खादा र माला लगाइ एमालेमा प्रवेश गराएका हुन् । 

माओवादीका नेता प्रभु साहलाई पार्टीमा ल्याएपछि रौतहटका सबै विवादहरु थाती राखेर ओलीले मधेश प्रदेशमा एमालेको उपस्थिति बलियो बनाउने कोसिस गरेका छन् । 

मधेश प्रदेशमा अन्य दलका भन्दा प्रभु साहको कुरा सुनुवाइ हुन्छ । पुरुषोत्तम पौडेल, अच्यूत मैनाली लिला श्रेष्ठ, विल्टु यादवहरु अहिले छायाँमा परेका छन् । त्यस्तै ओलीले नयाँलाई प्राथमिकता दिइरहेका बेला उनीहरुले प्रभु साहको मुनि बसेर काम गर्नुभन्दा अहिले चुपचाप बस्नु वेश भन्दै मौन रहेको स्रोतले जनाएको छ । 

साहले बारा पर्सा, रौतहट, महोत्तरी, धनुषा, सिराहा सप्तरी लगायतका आठ वटै जिल्ला हेर्न पाउनु परो भन्ने माग गरेका छन् । तर ओलीले रघुवीर महासेठलाई सचिव बनाएर प्रदेशको अघोषित जिम्मेवारी दिएका छन् । अहिले महासेठ र साहबीच अघोषित शीतयुद्ध चलिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ