arrow

बेलबारी मेयरमा दर्जन बढी आकांक्षी, कसको पल्ला भारी ? 

logo
विवेक मिश्र, 
प्रकाशित २०७८ चैत २१ सोमबार
belbari-nagarpalika-morang-election-2079.jpg

मोरङ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै गाँउघरमा राजनीतिक चहलपहल शुरु भएको छ । आगामी बैशाख ३० गते हुने उक्त निर्वाचनको लागि दलहरुले स्थानीय गतिविधि मात्र बढाएका छैनन् सम्भावित उम्मेदवारको विषयमासमेत आंकलन र बहस तीव्र भइरहेको छ । 

त्यसै क्रममा मोरङको बेलबारीमा पनि मेयर पदका उम्मेदवारको विषयमा चर्चा परिचर्चा भइरहेको छ । गत निर्वाचनमा बेलबारी नगरपालिकाको मेयर नेकपा एमालेबाट ज्ञानेन्द्र सुवेदीले जितेका थिए । मेयर सुवेदी निकट मानिले व्यक्तिहरुका अनुसार सुवेदी पुनः एक पटक मेयर पदको उम्मेदवार दोहोर्याउने दाउमा छन् ।

तर सुवेदीले भने यस विषयमा औपचारिक रुपमा केही बोलेका छैनन् । तर पनि मेयरका रुपमा सबैभन्दा ठूलो दल नेकपा एमालेका तर्फबाट वर्तमान मेयर सुवेदीको बढी चर्चा छ । 

पाँच वर्षे कार्यकालमा केही ओलोचित भए पनि टिकट पाउने लाइनमा भने अघि देखिएका छन् । सुवेदीसँगै एमालेबाट राजकुमार बस्नेत, ईरान राई र प्रताप थापाको नामसमेत चर्चामा रहेको छ । राजकुमार बस्नेत पूर्व डाँगिहाट गाविसका अध्यक्षसमेत हुन् । 

नेपाली कांग्रेसका तर्फबाट टिकट पाउनेमा राजकुमार लिम्बूको सम्भावना बढी देखिन्छ । सुवेदीसँग गत निर्वाचनमा झिनो मतका साथ पराजित भएका लिम्बूको यसपटक पनि टिकट पाउने सम्भावना बलियो देखिन्छ । 

लिम्बूसँगै महेन्द्र सुवेदी पनि टिकट पाउनेमा उत्तिकै सम्भावित देखिन्छन् । कांग्रेसका तर्फबाट टिकट पाउने अन्य सम्भावित उम्मेदवारहरुमा मानबहादुर लिम्बू, नगेन्द्र जमरकट्टेल, शम्भु भट्टराई र हालका बेलबारी नगर सभापति छत्र लिम्बुकोसमेत नगरमा चर्चा रहेको छ ।

माओवादी केन्द्रबाट मेयरको टिकट पाउनेमा तिलक राईको बढी चर्चा छ । उनी अघिल्लो स्थानीय निर्वाचनमा समेत मेयरका उम्मेदवार बनेर तेस्रो मत प्राप्त गर्न सफल भएका थिए । उनी बाहेक पर्शुराम सुवेदी र अशोक दाहालसमेत सम्भावित उम्मेदवारका रुपमा रहेका छन् ।

एकीकृत समाजवादी पार्टीबाट भुपाल बस्नेत र जनता समाजवादी पार्टीबाट तिलक राईको नामसमेत सम्भावित मेयरको रुपमा चर्चा गर्न थालिएको छ ।

बेलबारीमा यसअघिको स्थानीय निर्वाचनमा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो भएका थिए । समग्रमा यसपटकको निर्वाचनमा समेत कांग्रेस र एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिष्पर्धा रहने धेरैको आँकलन छ ।

यो सँगसँगै सत्ता साझेदार दलहरु बीचको गठबन्धन कायम रहेमा नेकपा एमाले कमजोर देखिन्छ भने कांग्रेस शक्तिशाली देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ