- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा मेयर टिकटका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटघाट गर्नेहरुले राति २ बजेसम्म कुर्नुपर्ने अवस्था आएको छ । ओली निवास बालकोटमा राति २ बजेसम्म भेटघाटका लागि नेताहरु पुग्ने गरेका छन् ।
केही दिन यता पार्टी अध्यक्ष ओलीले देशभरबाट आएका नेता कार्यकर्तालाई रातभर भेटघाट गर्ने गरेका छन् । काठमाडौका पूर्व मेयर एवं बागमती प्रदेशका सांसद केशव स्थापितले राति २ बजे मात्रै भेट्ने पालो पाएका थिए ।
आइतबार राति १० बजे काठमाडौंका केशव स्थापित, विराटनगरका विनोद ढकाल, जीवन घिमिरे र गुरु बरालले भेटघाट गरेका थिए । त्यसैगरी पोखराबाट काठमाडौं आएका पुष्प अधिकारीले पनि भेटघाट गरेका थिए ।
‘रातभरि मेला लाग्ने गरेको छ समय नै पाइँदैन, पार्टी अध्यक्षले हामीलाई १ बजे मात्रै भेट्नु भयो त्यसपछि केशव स्थापित लगायतको पालो थियो’, ओली निवास पुगेका पूर्वका एक नेताले भने ।
एमालेभित्र यतिबेला राजधानी लगायतका मुलुकका ठूला शहर र महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाको नेतृत्वमा को जाने भन्ने रस्साकस्सी चलेको छ ।
सोही रस्साकस्सीको बीचमा उनीहरुले आइतबार राति ओलीलाई भेटेका हुन् । गठबन्धनभित्र काठमाडौं महानगरपालिकाको नेतृत्वमा कांग्रेसको बलियो दाबी रहेका बेला एमालेले पनि सोही प्रकारको बलियो उम्मेदवारको खोजी गरिरहेको छ ।
माधव नेपाल निकट नेकपा एस पार्टीले एमालेलाई हराउने चुनौती दिइरहेको र कांग्रेसलाई सहयोग गर्ने भएपछि एमालेले स्थापितलाई अगाडि सार्ने सम्भावना देखिएको छ ।
‘अघिल्लो निर्वाचनमा पनि केशव स्थापितले मेयर हुने चाहना व्यक्त गरेका थिए तर बाध्यतावश विद्यासुन्दर शाक्यलाई सघाएँ यसपल्ट विद्यासुन्दरको छवि त्यति राम्रो नभएका बेला उनले बाजी मार्ने संभावना रहेको छ’, काठमाडौं एमालेका एक नेताले भने ।
उता रामवीर मानन्धर पनि सक्रिय रहेको कारण स्थापितलाई टक्कर दिएकाले उनी राति राति एमाले अध्यक्षलाई भेट्न गएको बताउनेहरु पनि छन् । यद्यपि उनले विगत केही महिनादेखि नै ओलीलाई भेटेर आफ्ना कुरा राखेका थिए ।
आइतबार राति पनि सोही कुरा दोहोर्याएको स्रोतको दाबी छ । ‘काठमाडौं महानगरपालिकाको नेतृत्व कसले सम्हाल्छ र कुन राजनीतिक पार्टीले कसलाई मेयरको उम्मेदवार बनाउँछन् भन्ने चासो सर्वत्र बढ्दै गएको छ ।
काठमाडौं महानगरपालिकाको मेयर पदका लागि थुप्रै राजनीतिक पार्टीहरुले उम्मेदवार उठाउने भए पनि मुलतः सत्ता पक्षीय गठबन्धन र प्रतिपक्ष एमालेबीचमा नै प्रतिस्पर्धा हुने भएको छ ।
‘विगतमा एमालेले उपमेयर राप्रपालाई छाडेर मेयरमा मात्रै उम्मेदवारी दिएको थियो । अहिले पनि एमाले केही न केही विषयलाई अघि सारेर काठमाडौंको मेयर हात पार्ने दाउमा रहेको छ’, एमाले काठमाडौंका एक नेताले भने, ‘तर त्यति सहज भने छैन, स्थापित आए पनि ट्रस्टेड व्यक्ति हुन् ।’
काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिने गरी चर्चा परिचर्चा हुन थाले पनि सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेस र नेकपा (कीकृत समाजवादी) पार्टीको प्रमुख दावेदारी रहेको छ । गठबन्धनसँग एमालेको प्रतिस्पर्धा हुने देखिएको छ ।
‘अघिल्लो निर्वाचनमा भन्दा यसपटक करिब २१ हजार नयाँ मतदाता थपिएकाले पनि अहिले निर्वाचन कसको पक्षमा पल्लाभारी हुन्छ भन्ने यकिन छैन । त्यो समूहलाई पनि विश्वासमा लिनुपर्ने खालको उम्मेदवार एकातिर दलहरुलाई चाहिएको छ भने काठमाडौंको स्विङ मत पनि करिब ४० हजार जति भएकाले त्यो मत तान्न सक्ने उम्मेदवार चाहिएको छ । त्यसका लागि आफूमात्रै एक मात्र उम्मेदवार भएको भन्दै स्थापितको लविङ छ ।
एमालेबाट केशव स्थापित उम्मेदवार भए नेकपा (एकीकृत समाजवादी) पार्टीले काठमाडौं महानगरपालिकामा आफ्नो दाबी राखेमा बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री बसन्त मानन्धर वा संघीय सांसद जीवनराम श्रेष्ठ मध्येलाई उम्मेदवार बनाउने भएको छ ।
बसन्त मानन्धरकी श्रीमती इन्दिरा पन्त भने एमालेमै छिन् । नेकपा (एकीकृत समाजवादी) ले विगतको स्थानीय निर्वाचनमा नेकपा (एमाले) ले विजय हासिल गरेका स्थानमा आफ्नो उम्मेदवार उठाउन सत्तारुढ गठबन्धनमा माग गर्दै आएको छ ।
यद्यपि कांग्रेसले काठमाडौं सहजै छाडिहाल्ने अवस्था भने छैन । यस्तो बेलामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेभित्र पनि काठमाडौंको मेयरका लागि चार प्रतिस्पर्धी देखिएका छन् ।
एमालेबाट वर्तमान मेयर विद्यासुन्दर शाक्य, पूर्व मेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री केशव स्थापित, पूर्वमन्त्री रामवीर मानन्धर र नेतृ र्इन्दिरा पन्तले मेयरका लागि दाबी गरेका छन् ।
काठमाडौं महानगरपालिकाको मेयर भएर पनि ठोस प्रभाव दिन नसकेका कारण विद्यासुन्दर शाक्यलाई दोहोर्याउँदा पार्टीलाई घाटा लाग्ने पार्टीभित्रै एक पक्षको धारणा रहेको छ ।
अर्को पक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीको सबैभन्दा नजिक शाक्य नै रहेको बताउने गर्छन् । तर विद्यासुन्दरलाई यसपटक काठमाडौंका सबै गुठीले सहयोग गर्ने सम्भावना कम रहेको स्रोतको दाबी छ ।
पूर्वमेयर स्थापित बढी सन्की र अस्थिर रहेका कारण पनि पार्टीभित्र उनको आलोचना हुने गरेको छ । एमालेभित्र उनी मात्रै छन् भन्ने प्रश्न पनि उठेको छ । एमाले, राजाबाट मनोनित मेयर, प्रजापरिषदको अध्यक्ष, अशोक राईले एमाले विभाजन गर्न खोज्दा उतै लागेको र पार्टी राजनीतिमा निकै अस्थिर पात्र भएका कारण स्थापितको छवि भने पार्टीभित्र त्यति राम्रो छैन ।
अघिल्लो पटकको निर्वाचनमा काठमाडौंमा उपमेयरका लागि नेतृत्ववाट आश्वासन पाए पनि पछि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गर्दा उम्मेदवारी दिनबाट वञ्चित गरिएकी नेतृ ईन्दिरा पन्त यो पटक मेयरको टिकट पाउनेमा विश्वस्त छिन् ।
नेतृ पन्त मेयरको टिकट पाउनेमा जति आशावादी छिन् उनका पति बसन्त मानन्धर एमाले विभाजनवाट बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएकोले नेतृत्वले शंकाको दृष्टिले हेर्ला कि भनेर आशंका गर्नेहरु पनि पार्टीभित्र उत्तिनै छन् ।
पार्टीको केन्द्रीय सदस्यको दावेदार रहेकी पन्तलाई केन्द्रीय सदस्य बनाउँदा उनलाई काठमाडौ महानगरपालिकाभित्र कुनै न कुनै तहमा समेट्न सक्ने संभावना रहेको स्रोतको दाबी छ ।
पार्टीभित्र उनको छवि स्थापितको भन्दा राम्रो रहेको छ । वित्तीय साक्षरता, उर्जा, सहकारीता र सञ्चारमा दख्खल राख्ने महिलालाई मेयरमा ल्याउँदा पार्टीको छवि राम्रै हुने भन्दै काठमाडौं एमालेका नेताहरु लविङ पनि गरिरहेका छन् ।