- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) पार्टीले दुई दिनभित्र तल्लो कमिटीसँग ‘ग्राउन्ड रिपोर्ट’ माग गरेका छन् । मंगलबार सत्ता गठबन्धन दलका नेताहरुको बैठक बसेर बाहिर निस्किएपछि पार्टी मातहतका कमिटीबाट ग्राउण्ड रिपोर्ट माग गरेका हुन् ।
उनीहरुले पालिका तहसम्मकै ‘ग्राउन्ड रिपोर्ट’ तयार पारी केन्द्रमा पठाउन पार्टी कमिटीलाई सर्कुलर गरेको स्रोतले जनाएको छ । दुई पार्टीको ग्राउण्ड रिपोर्ट आएपछि कुन कुन स्थानमा कसरी गठबन्धन गर्न सकिन्छ भन्ने बारेमा सत्ता गठबन्धनको बैठकमा छलफल हुनेछ ।
सोही आधारमा पालिका, जिल्ला र प्रदेश स्तरमा सत्तागठबन्धन दलमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरु सम्मिलित संयन्त्रको बैठकले निर्णय गर्ने भएको छ । एमालेबाट विभाजन भएको एस पार्टीले देशभर आफ्नो संयन्त्र रहेको बताएपछि गठबन्धनका नेताहरुले ग्राउण्ड रिपोर्ट मागेको स्रोतले जनाएको छ ।
माओवादीका कतिपय पालिका र जिल्लाले प्रदेश स्तरमा आँकडा सहितको ग्राउन्ड रिपोर्ट बुझाइसकेको र त्यसलाई माओवादीको केन्द्रीय कार्यालयले अध्ययन गरिरहेको छ ।
‘दुई दिन भित्रमा हामीले सबै पालिका, जिल्ला र प्रदेश संयत्रलाई बैठक बसेर त्यहाँको वस्तुस्थितिबारे यथार्थ विवरण पठाउन निर्देशन दिएका छौं,संयन्त्रको बैठक बसेर, अगाडि बढ्नेछौ,’ नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने ।
एस पार्टीले तल्लो तहसम्म संगठन नबनिसकेकाले सबै तहबाट रिपोर्ट आउन कठिन भएको जनाएको छ । कतिपय पालिका र जिल्ला स्तरमा अझै गठबन्धन दलहरुका बीचमा छलफल चलिरहेकोले केन्द्रले मंगलबारसम्म ग्राउण्ड रिपोर्ट बुझाउन निर्देशन गरे पनि २४ गतेभित्र पार्टीको केन्द्रीय कार्यालयमा रिपार्ट आइपुग्ने एस पार्टीले जनाएको छ ।
त्यस्तै माओवादीले भने धेरैजसो पालिकाको विवरण आइसकेको जनाएको छ । रिपोर्ट नआउँदासम्म गठबन्धनको बैठक बसे पनि उपलब्धिमूलक नहुने भएकाले दुई पार्टीले आफ्नो विवरण पेश गरेपछि मात्रै जसपा र जनमोर्चाको विषयमा निर्णय गर्न सहज हुने बताइएको छ ।
यसरी प्रतिवेदन बनाउँदा गत स्थानीय तह निर्वाचनमा हाल गठबन्धनमा रहेका दलहरूको जिल्ला समन्वय समिति, जिल्लास्थित सबै पालिका तथा वडामा प्राप्त मतको अवस्था, एमाले तथा अन्य प्रतिस्पर्धी पार्टीले प्राप्त गरेको मतको अवस्था,गठबन्धनमा रहेका दलको अलग–अलग सबै स्थानीय तहमा रहेको वर्तमान सांगठनिक अवस्था (मतभारको प्रतिशत), गठबन्धनमा रहेका दलहरूको संयुक्त वर्तमान सांगठनिक अवस्था (मतभारको प्रतिशत) र एमाले तथा प्रतिस्पर्धी अन्य पार्टीको वर्तमान सांगठनिक अवस्था (मतभारको प्रतिशत) बारे अध्ययन तथा विश्लेषण गर्न सहज हुने बताइएको छ ।
माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालका अनुसार माओवादीको ग्राउण्ड रिपोर्ट आउन कुनै कठिन छैन । ‘हाम्रो पालिका र जिल्ला तहबाट प्रदेशमा पठाइएको रिपोर्टलाई पार्टी केन्द्रले मागेर अध्ययन गरिरहेको छ’, ढकालले भने ।
उनका अनुसार एमालेले जितेका स्थानीय तहको मतभार र परिणामलाई समेत ध्यानमा राखेर सो रिपोर्टको अध्धयन भैरहेको छ । माओवादीले जितेका स्थानीय तह नछाड्ने र सकेसम्म एमालेले जितेका स्थानीय तहमा पनि माओवादीले दाबी गर्ने गरी रिपोर्टिङ आएको माओवादी स्रोतले जनाएको छ ।
तर एस पार्टीको भने नगरपालिका तहको रिपोटिङ राम्रो भए पनि गाउँपालिका तहको ग्राउण्ड रिपोर्ट कतिपय जिल्लामा शून्य प्रायः हुने संभावना रहेको स्रोतले जनाएको छ ।