arrow

एमालेका हेभिवेट नै स्थानीय तहको निर्वाचनमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
ncp-uml-party-head-office-hq-oli.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले देशभर उम्मेदवार छनोट प्रकृया शुरु गरेको छ । देशभर एमालेले उम्मेदवार छनोट प्रकृया शुरु गरेका बेला महानगरपालिका र उपमहानगरपलिकामा भने उम्मेदवार सिफारिस गर्न स्थानीय कमिटीहरुलाई कठिन परेको छ । चैत मसान्तसम्म सबै कमिटीले उम्मेदवार सिफारिस गरेर पठाउनु पर्नेमा गाउँपालिका स्तरमा उम्मेदवार छनोट प्रकृया बुधबारबाट शुरु हुँदा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा भने त्यसको सुरसार भएको छैन ।
 
खासगरी एमालेले काठमाडौं, ललितपुर, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगञ्ज दाङको तुलसीपुर, चितवनको भरतपुर, झापाको दमक, मकवानपुरको हेटौंडा, बाराको कलैया, सुनसरीको धरान, इटहरी र इनरुवा लगायतका मूख्य शहरलाई जित्ने गरी टार्गेट गरेको छ । 

काठमाडौंका धेरैजसो नगरपालिकामा पनि एमालेले जित्नका लागि आफ्नो पूर्ववत योजनालाई कार्यान्वयन गर्ने तयारी गरेको छ । सो योजनाअनुसार स्थानीयस्तरमा मेयर वा प्रमुख जित्नका लागि सहकार्य गर्न सहज हुने समूहलाई आफ्नो वशमा पार्ने र उनीहरुलाई दिइनु पर्ने सीटमासमेत कन्जुस्याइँ नगर्ने नीति अघि सारेको छ । 

‘अहिलेको अवस्थामा जित्ने उम्मेदवारको खोजी हो त्यसमा धेरैजसो केन्द्रीय सदस्यहरु पनि पर्नुहुनेछ’ एमालेका एक नेताले भने । स्थानीय तहमा धेरै नेताहरुको आँखा लागिरहेको बेला एमालेले केन्द्रीय तहका नेताहरुलाई महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकामा पठाउने गरी तयारी थालेको छ । 

काठमाडौं महानगरपालिकामा केन्द्रीय सदस्यद्वय केशव स्थापित र विद्यासुन्दर शाक्य अग्रसर भएका छन् । त्यसका अतिरिक्त ईन्दिरा पन्तले पनि दाबी गरेकी छिन् । त्यस्तै ललितपुरमा यसअघि पराजित भएका हरिकृष्ण व्यन्जनकारको दाबी यथावत छ । 

व्यञ्जनकार र ज्ञानेन्द्र शाक्यको चर्चा मेयरको रुपमा गर्न थालिएको छ । सुकुमाया लामा, रमा आचार्य, उषा बज्राचार्यको नाम चाहिँ उपमेयरको रुपमा चर्चा गर्न थालिएको छ । 

विराटनगरमा एमालेको स्थायी कमिटी सदस्य, पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालुवाबु पण्डित नै अघि सरेका छन् । त्यसका अतिरिक्त प्रदेशका पूर्वमन्त्री जीवन, केन्द्रीय सदस्य विनोद ढकालले दाबी गरेका छन् । पार्टी विवादमा माधवकुमार नेपालसँग रहेका पण्डितले नवौं महाधिवेशनमा माधव नेपालको टिमबाट उपाध्यक्ष लडेका थिए । 

त्यसबेला उनी पराजित भएका थिए । ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री बन्दासम्म उनी माधव नेपालकै कोटामा मन्त्री बनेका थिए । जब पार्टीभित्र अन्तरसंर्घष चुलियो उनले माधव नेपाललाई चटक्कै छोडे । अहिले एमालेमा १० बुँदे सहमति गरेर बसेका घनश्याम भुषाल, गोकर्ण विष्ट, योगेश भट्टराईहरु भन्दा पहिल्यै उनले माधव नेपालको साथ छोडेका थिए । 

जसका कारण पनि पण्डितप्रति कतिपय नेता–कार्यकर्ताले उनलाई मनपराउने दाबी गरिएको छ । विराटनगर महानगरपालिकामा यसअघि कांग्रेसले जितेका कारण त्यहाँ एमालेले ‘हेभिवेट’ एमाले नेता पठाउन सक्ने बताइएको छ ।
 
रुपन्देहीको बुटवल उपमहानगरपालिका एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको गृहनगर तथा निर्वाचन क्षेत्र भएकाले पनि धेरै चासोमा पर्ने गरेको छ । यस क्षेत्रको राजनीतिक केन्द्रका रुपमा रहेकाले एमालेले मात्रै होइन नेपाली कांग्रेसले पनि यसलाई प्रतिष्ठाको केन्द्र बनाएपछि एमालेलाई चुनौती थपिएको छ । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारहरूलाई पराजित गरी एमालेबाट मेयरमा शिवराज सुवेदी र उपमेयरमा गुमादेवी आचार्य निर्वाचित भएका थिए । सुवेदी अहिले एमालेको केन्द्रीय सदस्य छन् । उनी दोहोर्याउने मुडमा भए पनि पार्टी कार्यकर्ताले उनलाई भन्दा अरु नै उम्मेदवार बनाउनु पर्ने बताइरहेका छन् । 

अहिले युवा नेता गोपाल राना र बाबुराम भट्टराईले दाबी गरिहेका छन् । त्यसका अतिरिक्त मेयरको आकांक्षीमा अहिलेकी उपमेयर गोमादेवी आचार्य, एमाले रूपन्देहीका नवनिर्वाचित अध्यक्ष तेजेन्द्र केसी, एमाले केन्द्रीय सदस्य सावित्रा अर्याल, प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. इश्वर गौतम, जिफन्ट उपाध्यक्ष कमल गौतम, नेता सूर्यबहादुर भट्टराईले आफ्नो दाबेदारी पेस गरिरहेका छन् । 

बुटवलमा सबैभन्दा बढी रस्साकस्सी रहेको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर घनश्याम पाण्डेले मेयर पदमा नदोहोर्याउने बताए पनि त्यहाँ पार्टी महासचिव शंकर पोखरेलले जसलाई चाह्यो त्यही व्यक्तिले मेयरको टिकट पाउने संभावना रहेको छ ।  

मकवानपुरको हेटौडामा भने एमालेले यसपटक कसलाई उम्मेदवार बनाउँछ भन्ने बारेमा केही छलफल थालेको छैन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको परिस्थिति हेरेर उम्मेदवार तय गर्ने एमालेले जनाएको छ । यद्यपि त्यहाँ पुरानै उम्मेदवार देवी ज्ञवालीलाई दोहोर्याउने संभावना रहेको छ । 

एमालेको विरासतलाई कांग्रेसले भत्काएको धरानमा यसपल्ट विरासत फर्काउन एमालेलाई कठिन देखिएको छ । ०७४ को निर्वाचनमा एमालेबाट विजयी मेयर तारा सुब्बाको २०७५ साउन १ गते निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसका तिलक राई विजयी भएका थिए । 

पहिलो निर्वाचनमा सुब्बासँगै पराजित उम्मेदवार राईले उपनिर्वाचनमा तत्कालीन नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गर्दै इतिहास बनाएपछि अहिले एमालेलाई आफ्नो विरासत फर्काउन कठिन भएको छ । 

उपमहानगरको २० मध्ये १३ वडा एमालेले जितको छ भने ६ मा कांग्रेस र एकमा माओवादी केन्द्र विजयी भएको छ । कांग्रेसका राईले २६ हजार ७ सय ९ मत ल्याउँदा प्रकाशले २३ हजार ९ सय १४ मत पाएका थिए । 

एमालेबाट मोतिराज सुनुवार र किशोरकुमार कार्की, हालकी उपमेयर मञ्जु भण्डारी, पराजित उम्मेदवार प्रकाश राइले दाबी गरिरहेका छन् । उता इटहरीको मेयरमा विवदाति मेयर द्वारिकलाल चौधरीकै दावी कायमै छ । त्यहाँ धेरै नै विवाद भएका कारण यसपटक एमालेलाई अप्ठेरो पर्ने देखिएको छ । 

पोखरा महानगरपालिकामा यसपल्ट रुपाकोट रिसोर्ट सञ्चालक पुष्पराज अधिकारीले केपी ओलीलाई भेटेर टिकट मागेका छन् । उनीलगायत युवा संघका पूर्व अध्यक्ष राजिव पहारी, रश्मी आचार्यपनि रहर गरेका छन् । 

तर पोखरामा उनीहरु बाहेक अरुलाई नै मेयरको टिकट दिनसक्ने कास्की एमालेका नेताहरुले बताएका छन् । नेकपा एमालेबाट कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको उम्मेदवारमा पार्टी जिल्ला  उपाध्यक्ष दुर्गा जोशी र नेता रणबहादुर चन्दलाई सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । 

दुर्गा जोशी २०७४ सालको स्थानीय निर्वाचनमा मेयर पदमै पराजित भएका थिए । त्यहाँ एमाले कमजोर रहेको छ । नेपालगन्जमा एमालेले राप्रपाका धवलशमशेरसँगको सहकार्यमा मेयर हात पार्ने योजनामा रहेको छ भने वीरगन्ज महानगरपालिकामा जसपाबाट निर्वाचित मेयर विजय सरावागीलाई पार्टीमा ल्याइसकेको छ । उनलाई नै टिकट दिने तयारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ