- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
होचो कद । हँसिलो चेहेरा । मिजासिलो व्यवहार र मिठो बोली । सबैलाई सम्मानपूर्वक व्यवहार । दिनरात समाजकै निम्ति दौडधुप । सूर्य लामाको यो विशेषता हो । पहिचान हो । हुनत उनी स्थानीय जनप्रतिनिधि हुन् ।
जनताका लागि खटिनु उनको जिम्मेवारी र कर्तव्य हो । जनताको सेवाका शिलशिलामा उनी गाउँका कुन कन्दरासम्म पुग्छन् । बिहान उठेदेखि साँझ अबेरसम्म उनलाई खानसमेत फुर्सद मिलाउन हम्मेपर्छ ।
‘गाउँबासीका लागि नै जन्मिएको रहेछु । समाजका लागि काम गर्ने मेरो बच्चैदेखिको सौख पनि हो, उनले भने, ‘तर काम गर्न हिम्मत र मेहेनत चाहिँ चाहिने रहेछ । जसका कारण मलाई सबैको साथ पनि मिलेको छ ।’
नेपाल–भारत सीमा नजिकै उनको घर छ । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष उनी सीमामा बस्ने नेपालीको समस्यामा मजाले भिजेका छन् । सीमाबासीको समस्या र दुःख उनलाई प्रष्ट थाहा छ ।
सीमा समस्या दुई देशबीचको कूटनीतिक समस्या भए पनि स्थानीय स्तरबाट गरिएको पहलले स्थानीयका समस्याहरु हल हुने गरेका प्रशस्त उदाहरण छन् । उनी ती समस्याहरुको समाधान गर्न पनि उत्तिकै दौडिन्छन् । खटिन्छन् । त्यतिमात्र होइन उनको वडामा प्रशासनिक काममा वडाबासीले दुःख पाउनु परेको छैन ।
विकासका कामले पनि गति लिएका छन् । ठोरी–केरुङ लोकमार्ग पक्की भएपछि त गाउँको मुहार नै फेरिएको छ । गाउँमा खानेपानी, सिंचाइ, कल्भर्ट निर्माण, कृषि सडक निर्माणले गाउँको मुहार फेरिँदै गएको छ ।
ठोरी नेपालको पुरानो सीमा नाकासमेत भएकाले यहाँ अनेक समस्याहरु आइरहन्छन् । सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको कार्यशैलीले सीमाबासीको समस्या समाधान नहुने निचोड निकालिए पनि त्यसको समन्वयन नहुँदा बेलाबेला समस्याहरु आउने गरेका छन् ।
तर सूर्य लामाले सीमाबासी नेपालीका लागि गज्जबको समन्वय गरेर खुबै तारिफ पाइरहेका छन् । वारिपारीका नेपाली र भारतीयहरुसँग सामिप्य स्थापित गर्दै उनले एउटा साहसी काम गरेर चर्चासमेत कमाएका छन् ।
केही महिनाअघि लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरोधको आवाज घन्कियो । तर सूर्य लामाले काँडेतारको आवाज उठ्नुअघि नै सीमा सुरक्षा साथै जंगली जनावरहरुलाई नेपाली बालीनालीमा भित्रिन नदिन काँडेतार लगाइदिए ।
जसले उनको चर्चा संसददेखि सडकसम्म र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुग्यो । लामाले भारतको विहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५–१ देखि ४३१–४ सम्मको करिब पाँच किलोमिटरको दूरीमा काँडेतार लगाइदिए ।
वडाध्यक्ष लामाले स्थानीय प्रशासन, प्रहरी र गाउँपालिका अध्यक्षको सहयोगमा २०७४ मंसिरबाट तार लगाउन शुरु गरिएको र ठुटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना ठूला पिल्लर रहेका करिब पाँच किलोमिटर क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्र छाडेर तार लगाएको बताए ।
‘ठूला देशले साना देशलाई हेप्ने परम्परा तोड्न म तयार छु । सीमाबासीलाई दुःखबाट मुक्त दिलाउन तयार छु, उनले भने, ‘सरकारले आफ्नो भूमि सुरक्षा गर्न हिम्मत गरोस् म गोली खान तयार छु । देशका निम्ति मलाई मर्न डर लाग्दैन ।’
लामाकै अगुवाइमा कोरोना संक्रमणका बेला सरकारले देशभर लगाएको पहिलो ‘लकडाउन’ को अवधिमा करिब १ हजार ५ सय मिटर काँडेतार लगाइएको छ । उक्त वडाभित्रका भारतसँग सीमा जोडिएका १ हजार ८ सय मिटर क्षेत्रमा केही समस्या आएपछि दुवैतर्फका प्रतिनिधि बसेर नापजाँच गरेर तार लगाइने सहमति पनि भएको छ ।
‘छिमेकी मुलुकले देशभर सीमा अतिक्रमण गर्दा कताकता दुख्दो रहेछ । मैले आफ्नो वडाअन्तर्गत पर्ने सीमा क्षेत्रबाटै भए पनि भूमि जोगाउन काँडेतार लगाउन शुरु गरें,’ वडाध्यक्ष लामाले भने ।
काँडेतारका लागि विकास बजेट कटाएर नै काम गरेको उनले बताए । गाउँपालिकाबाट वडाका लागि आएको विकास बजेटबाट छुट्याएर आफूले सीमा क्षेत्रको सुरक्षाका लागि काँडेतार लगाएको र २०७४ देखि हालसम्म विकास बजेटबाट तारबारका लागि ३५ लाख रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए । ‘आफ्नो भूमि सुरक्षाका लागि विकास बजेट छुट्याउँदा सबै वडाबासी सन्तुष्ट छन् । कसैको असहमति छैन,’ उनले भने ।
भारत नजाने अठोट
हुनत नेपालीहरुका लागि भारत एक असल छिमेकी मुलुक हो । ‘रोटीबेटी’ को सम्बन्धदेखि व्यापार व्यवसायमा दुवै देशका नागरिकहरु ओहोरदोहोर गरिरहनु पर्छ । नेपाल–भारत सम्बन्ध धार्मिक, सांस्कृतिक, राजनीतिक एवम् ऐतिहासिक रुपमा महत्वपूर्ण छ । तर वडाध्यक्ष लामा भारत जान इन्कार गर्छन् ।
दशगजा नजिकै उनको निवास भए पनि उनी भारतीय भूमि टेक्नै चाहँदैनन् । सीमा विवादको विषयकै कारण विगतदेखि नै आफू सीमा क्षेत्र कटेर भारततर्फ नगएको उनी बताउँछन् ।
भारतीय पक्षसँगको विवादका कारण पटक–पटक ठोरीमा भएका झडपका घटनामा अग्रपंक्तिमा रहेका कारण आफू भारततर्फ जाने वातावरण नरहेको उनले बताए ।
‘धेरै पहिलेदेखिका सीमा विवादका घटनामा उनीहरुको नजरमा म बाधक छु । कहिले सीमा, कहिले कुलो र कहिले पुलका विषयमा विवाद हुन्छ । म त्यता नगएको १० वर्ष भयो,’ उनले भने, ‘म नेपाली माटोमै मर्न चाहन्छु ।’
जनताका लागि मर्न तयार
वडाध्यक्ष सूर्य लामासँग एउटा भिन्न अनुभव पनि छ । सरकारी निकायबाट पर्याप्त सहयोग नभएको गुनासो उनमा छ । केही महिना अघिको कुरा हो उनकै अगुवाइमा सीमामा काँडेतार लगाउने काम धमाधम भइरहेको थियो । जिल्लास्थित प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुले उनलाई काँडेतार लगाउने काम रोक्न दबाब दिए । दुई देशको सम्बन्ध बिग्रन्छ भनेर सचेत गराए । तर उनले आफ्नो अभियान रोकेनन् ।
‘नेपाली सेनाका कर्णेलसापहरु आउनुभएको थियो । स्वाबासी दिएर जानुभयो । तर भारतीय पक्षले नेपाली भूमिमा आएर जब्बरजस्ती कुलो खन्दा आफूले प्रतिकार गर्दा सीडीओ सापले गाली गर्नुभयो । तपाई को हो भनेर प्रश्न गर्नुभयो । मैंले नेपाली आमाको छोरा हुँ भनेर प्रतिक्रिया दिंए’, उनले भने, ‘जस्तोसुकै धम्की र दबाब आए पनि सीमा सुरक्षा र नेपाली माटोको सुरक्षाका लागि आफू मर्न तयार छु ।’
सबै जुटौं
वडाध्यक्ष लामाको एउटै अनुरोध छ आफ्नो भूमिको सुरक्षाका लागि आफैं जुट्नुपर्छ । माथिल्लो निकायबाट समस्या समाधान हुन नसके पनि स्थानीय स्तरबाट सामान्य समस्याहरु हल गर्न सकिने उनको तर्क छ ।
देशभरका सबै सीमा नाकामा पर्ने स्थानीय तहका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा पर्ने सीमा क्षेत्रमा तार लगाए वर्षैपिच्छे विवादको विषयमा अल्झिन नपर्ने उनको बुझाइ छ । यसका लागि सबै एक हुनुपर्ने र सबै जुट्नुपर्ने उनको प्रतिक्रिया छ ।
‘देशभरका सीमा क्षेत्रमा पर्ने स्थानीय तहका जनप्रतिनिधि ताते सधैंका लागि सीमा विवाद टुंग्याउन सकिन्छ । सरकारबाट हुने सहयोग रहे असम्भव छैन,’ उनले भने ।
सीमा क्षेत्रमा तारबार लगाएपछि तस्करी रोकिने र जंगली जनावरबाट बालीनाली पनि सुरक्षित हुने उनको विश्वास छ । ‘हामीले लगाएको तारबारले एकातिर सीमा क्षेत्रमा हुने अवैध गतिविधि बन्द भएको र अर्कातिर भारततर्फको जंगलबाट आउने जंगली जनावरबाट आजित भएका स्थानीयहरु खुशी हुनुभएको छ,’ उनले भने ।