arrow

युवाका लागि युवा कहिले ?

logo
मनोज लामिछाने, 
प्रकाशित २०७८ चैत २९ मंगलबार
278056254_1468239926965767_7328670991997373471_n.jpg

नेपालको राजनीतिक परिवर्तनमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको छ । देशमा राजनीतिक परिवर्तन ल्याउने क्रममा सधै युवाहरुले जेल, नेल र कठिन यातना भोगेका छन् । तातो गोली खाएका छन् । आजका दिनसम्म पनि यो क्रमले निरन्तरता पाइरहेको छ । देश निर्माणको लागि युवाहरुको अहम् भूमिका रहन्छ । यसका लागि युवाहरुको पार्टी र राज्य सत्ताको केन्द्रविन्दुमा पहुँच अति आवश्यक छ ।

तर हाम्रो देशका पुराना नेताहरुको संकीर्ण सोच र निहीत स्वार्थका कारण एकातर्फ युवाहरुलाई सधै पछाडि पारिएको छ भने अर्कोतर्फ आफ्ना क्षणिक स्वार्थका कारण युवाहरु स्वयं पछि परेका छन् । देशमा योग्य युवाहरुको ठूलो जमात हँुदाहँुदै पनि उनीहरु सत्ता र शक्तिको पहुँचबाट सधै पछि पर्नु यो देशको लागि दुर्भाग्य हो । 

हाम्रा देशका युवाहरु सधै देशमा राजनीतिक परिवर्तनका नाममा अरुलाई सत्तामा पुर्याउने भर्याङ बनिरहेका छन् । यसको मुख्य कारण युवाहरु नै हुन् । यसैको फलस्वरूपः आज नेपालका अधिकांश युवाहरु विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । 

इतिहासको पाना पल्टाएर हेर्ने हो भने बिहान सवा ३ बजेतिर ४ सय नेपाली फौजको नेतृत्व गर्दै राष्ट्रको लागि ७४ वर्षको उमेरमा मातृभूमिको रक्षाको लागि नांगो तरबार हातमा लिएर रणभूमिको मैदानमा उत्रिएर आफ्नो छातीमा गोली खाएर देशको लागि जीवनको आहुति दिने भक्ति थापाको जस्तो त्याग र तपस्या भएको नेताहरु अहिलेको नेतृत्वमा जनताले महसुस गर्न सक्ने अवस्था छैन । 

सुन्दा नमिठो लाग्छ तर नेपालमा प्रजातन्त्रको उदय पश्चात् पार्टीभित्रको कलहले बहुमतको सरकार ढाल्नेदेखि आफ्नै पार्टीका प्रधानमन्त्रीलाई विपक्षीसँग कुम जोडेर आफ्नो पार्टीको सरकार ढालेर आफू प्रधानमन्त्री बन्ने, देशमा चुनाव गराउनका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई गुहार्ने, आफ्ना स्वार्थका लागि पार्टी फुटाउने र जुटाउने, संसदमा कुर्सी र मुक्का हानाहान गर्ने, सत्ता हासिल गर्नका लागि सांसद किनबेचसम्मका घटना तथा परिघटनाहरु गराउने, देशको संविधानलाई आफुखुशी व्याख्या गरेर संविधानमाथि पटक पटक प्रहार गर्ने जस्ता अनगिन्ती उदाहरणहरु नेपाली राजनीतिमा देखिएको छ ।

यसकारण पनि आम नागरिक अहिलेको नेतृत्वमा विश्वास गर्न सक्ने अवस्थामा छैनन् । शीर्ष नेताहरुको सत्तामोहका कारण यी घटनाहरु भएका हुन् भन्ने बुझाइ अधिकांश नागरिकको छ । विगतको सरकारको गतिविधिलाई हेर्ने हो भने बहुमतको सरकारले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गर्न राष्ट्रपति समक्ष पठाउनु, अध्यादेश जारी हुनु, जारी भएको पाँचांै दिनमा फिर्ता हुनु त्यसको उदाहरण हो । 

जनता समाजवादी पार्टीका सात सांसदहरू कोही मन्त्री त कोही उपसभामुखको आश्वासनमा आफ्नै पार्टी विभाजनको खेलमा लाग्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले ल्याएको अध्यादेशसम्म पुग्नु, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ पार्टीका सांसदहरू महेश बस्नेत र किशन श्रेष्ठले समाजवादी पार्टीका सांसदलाई अपहरण गरेको आरोप लगाउनु, प्रहरीको उच्च पदबाट अवकाश पाएका सर्वेन्द्र खनालको नाम सांसद अपहरणमा मुछिनु, तत्कालीन नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीमाथि पार्टी एकताविरुद्ध सक्रिय भएको आरोप लगाउनु, पार्टी एकतापछि केन्द्रीय समितिको बैठक लगत्तै ओलीले गुटको भेला गरेर एकता विरोधी काम गरेको र आफूहरू एकताको त्यान्द्रो समातेर बस्नु परेको जस्ता आरोपहरु विभिन्न संचार माध्यमहरुमा आउनु भनेको आफ्ना स्वार्थका कारण पार्टी फुटाउन पछि नपर्ने गतिविधि हुन् । 

जनमतको सरकार ढले पनि सत्ता र शक्ति छाड्न नपरोस् भन्ने र राष्ट्रको बागडोर हामी बाहेक अरुले सम्हाल्न सक्दैन भन्ने ग्रस्त मानसिकता अहिलेको नेतृत्वमा हुनु र युवाहरुले त्यसलाई सहर्ष स्वीकार गरेर सधै साथ दिने परिपाटीले पनि युवा पुस्ता देशको उच्च कार्यकारी पदमा पुग्न नसक्नु एउटा कारण हो । राजनीतिमा उमेरको हदबन्दी कायम नहुनु पनि युवा सत्ताको शीर्ष पदमा पुग्न नसक्नुको अर्को प्रमुख कारण हो ।

नेपालमा बहुदलपछि प्रायः वृद्धहरुले नै सरकारको बागडोर सम्हाले । उमेर पुगेकाहरुले राज्यको बागडोर सम्भाल्न हुँदैन र सक्दैनन् भन्ने यो पंक्तिकारको भनाइ होइन । भनाई मात्र यो हो कि नेताहरुको देशमा राणा शासन र पञ्चायत फ्याँकेर लोकतन्त्रक ल्याउनमा ठूलो भूमिका रह्यो । नेताहरुले गरेको योगदान र बलिदानका कारण हामीले नेपाली भनेर गर्व गर्न सकेका छौं । यसको श्रेय हाम्रा नेताहरुलाई जान्छ । मात्र यति हो कि अब हाम्रा शीर्ष नेताहरुले विश्राम लिनुपर्छ भन्ने नै हो । 

किनकि नेताहरुमा आफ्ना लागि रगतको खोलो बगाउन तयार युवा नेताहरुलाई राज्यको कार्यकारी पदमा ल्याउन उनीहरु तयार छैनन् । बरु पटक पटक त्यही पदका लागि आफ्नो उमेदवारी कायमै राखिरहन्छन् । बिडम्बना त के छ भने, युवाहरु नै युवाहरुको नेतृत्वलाई स्वीकार गर्न नसक्ने अवस्था अहिले नेपाली राजनीतिमा देखिएको छ ।

गलतलाई गलत र सहीलाई सही भन्ने परिपाटीको विकास हाम्रा युवाहरुमा देखिएको छैन । अहिलेका युवा नेता गगनकुमार थापा चाहे संसदमा होस्, चाहे आफ्नै पार्टीभित्र गलतलाई गलत र सहीलाई सही भन्ने हिम्मत राख्छन् र विगतमा उनी छोटो समय स्वास्थ्य मन्त्री हुँदा उनले गरेका राम्रा कामहरुलाई हामी राम्रो भन्न सक्दैनौ ।

अहिले उनी आफ्नै बलबुँताले नेपाली कांग्रेसको महामन्त्री भएका छन् । यसमा सबै युवाहरु हर्षित हुनुपर्ने हो । तर उनको विरोधमा सामाजिक संजालमा तथानाम गालीगलोज गर्नेमा अग्रपंक्तिमा युवाहरु नै छन् । यो दुःखद कुरा हो । नेपाली राजनीतिमा अहिले धेरै योग्य युवाहरु छन् । विगतमा काठमाडौंको मेयर हुँदा केशव स्थापितले राम्रा काम गरेका हुन् । गोकर्ण विष्टले विगतमा उर्जामनत्री हँुदा जनताबाट स्यावासी पाएका हुन् ।

यी त केवल प्रतिनिधि पात्र मात्र हुन् । यस्ता थुप्रै युवा नेताहरु छन् जसले देशका लागि राम्रा काम गरेका छन् र जसमा देश बनाउने भिजन पनि छ । नेपाली राजनीतिमा अहिलेको शीर्ष नेताहरुको भाषण र बहस सुन्ने हो भने आफ्नै समकालीन साथीहरु जो हिजोका दिनमा एकै थालमा खाएर सँगै राजनीति शुरु गरेकाहरु अहिले एक आपसका कट्टर दुश्मन भएका छन् ।

जनताको पीरमर्का र देशको विकास निर्माणका कुराहरुबारे बहस गर्नुपर्ने नेताहरु एकले अर्कोलाई सिध्याउने र तल्लोस्तरका गालीगलौजमा उत्रिने परम्पराको विकास गरिरहेका छन् । यो नेताहरुको अहिलेको चरित्रले के देश समृद्ध हुन्छ ? यसको बहस युवाहरुले गर्नु पर्दैन ? अहिलेको अवस्था भनेको सबै पार्टीका युवाहरु एक भएर आफ्ना कमी कमजोरीहरुलाई औंल्याएर देश निर्माणको लागि लाग्नु नै उत्तम उपाय हो । न कि शीर्ष नेताहरुको सिद्धान्त र पार्टीको नाममा उनीहरुको गलत आचरण र ब्यवहारलाई हो मा हो मिलाउनु ।      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ