- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सामान्य मान्छेको बोली भए त्यसको खासै अर्थ हुँदैनथ्यो । तर कांग्रेसका पूर्व महामन्त्री, वीपी पुत्र नेपाली कांग्रेसका वर्तमान केन्दीय सदस्य सत्तारुढ दलको डा. शशांक कोइरालाले आम मान्छेलाई खट्केको विषयमा बोलेपछि यसले तरङ्ग नल्याउने कुरै भएन । भलाद्मी मान्छेको तरङ्ग निम्त्याउने बोली ।
डा शशांकले स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा जे बोले त्यो अर्थपूर्ण छ । यसले हाम्रो समग्र चुनाव प्रणालीबारे रिथिंक गर्न, घोत्लिएर सोच्न बाध्य पार्छ । भलै त्यसको परिणाम आजको भोलि नदेखिएला तर यसले गम्भीर बहस र प्रश्नको थालनी गर्यो । अब धेरैले महंगो चुनावबारे प्रश्न नै प्रश्नको वर्षा गर्नेछन् । यो प्रारम्भ भए पनि सबैको मन मस्तिष्कले स्वीकार गरेको, धेरैलाई बिझेको र झन् गरिब पैसा नहुने राजनीतिक कार्यकर्ताको लागि यो बोली संजीवनी बन्नेछ । तर यसको लागि समय लाग्छ ।
सत्य बोल्दा आउने आलोचना, उठ्ने नैतिक दायित्वको प्रश्नलगायत यावत कुराबारे वीपी पुत्र अनभिज्ञ होलान् कसरी ? चर्म चक्षुका कुशल चिकित्सक कोइराला ज्ञान चक्षुमा पक्कै कमजोर छैनन् ।
चुनाव महंगो भएकोबारे प्रचण्डले पनि गत वर्ष बोलेका थिए । उपेन्द्र यादवले पनि नबोलेका होइनन् । तर कोइरालाले आफूले लडेको तीन पटकको संसदीय चुनावको हिसाब जसरी प्रस्तुत गरे त्यसले सबैको जिब्रो टोकायो । धेरैको मथिंगल हल्लायो । के यस्तो चुनाव गरिबले लड्न सक्छन् ?
सामान्य मान्छेको पहुँचमा छ हाम्रो चुनाव प्रणाली ? किन पैसा भए मात्र चुनाव लड्न र जित्न सकिने भयो ? कांग्रेस अधिवेशनमा नै पैसाको खोलो बगाउने र पैसा खर्च गर्न सक्ने ह्याउ हुनेलाई मात्र आन्तरिक प्रतिस्पर्धामा सजिलो भएको थियो ।
एक सार्वजनिक कार्यक्रममा अफ द रेकर्ड भन्दै कोइराला भन्छन्, ‘मैले तीन चोटी नवलपरासी क्षेत्र नं १ बाट चुनाव जितें । पहिलो चुनावमा मेरो खर्च ८० हजार रुपैयाँ थियो, दोस्रो पटकमा ३ करोड र लास्टमा ६ करोड । भन्नुस् तपाईहरू कोही चुनाव लडन चाहनुहुन्छ मेरो क्षेत्रमा ? म छोड्न तयार छु । तपाईले कम्तीमा ६,७ करोड ठीक पार्नु पर्ने हुन्छ ।’
माथिका भनाइ कोइरालाले निर्धन कार्यकर्तालाई हतोत्साही गर्न पक्कै भनेका होइनन् होला । केही जाने बुझेका मान्छेलाई थाहा छ कोइरालाको बोली उसै निस्केको होइन । उनलाई पनि मर्का परेको छ । अझ यो सार्वजनिक आलेखमार्फत प्रश्न पनि छ तपाईले दुई पटक यति धेरै खर्च कसरी गर्नुभयो ?
निर्वाचन आयोगले तोकेको २५ लाख खर्च गर्न पाउने सीमा नाघेर ५ करोड ७५ लाख खर्च किन गरियो ? तपाईले आफ्नो जायजेथा श्रीसम्पति बेचेर खर्च गर्नुभयो कि शुभेच्छुक, शुभचिन्तक पार्टीका हितैषीहरूको सहयोग भन्दै दलाल, व्यापारी, ठेकेदार, डन र कर्मचारीबाट लिनुभयो ? तिनीहरूसँग लिनु भएको हो भने बदलामा उनीहरूलाई के दिनुभयो ? राज्यको कुन ढुकुटी र कोषबाट त्यसको पुर्ताल गरिदिनु भयो ? कुन व्यापार ठेक्कापट्टा, लाइसेन्स र कामको लागि फ्यासिलेटेड गरिदिनु भयो ?
यसको हिसाब किताब र पारदर्शिता तपाईको नैतिकता र आर्थिक अनुशासनसँग पनि जोडिएको छ । यसको हिसाब किताब पनि तपाईले दिनु होला । निर्वाचन आयोगलेसमेत तपाईको बोलीलाई आधार मानेर सात दिनको भाका राखेर स्पष्टीकरण सोधिसकेको छ ।
तर तपाईले जे भन्नुभयो जुन सत्य बोल्ने आँट गर्नुभयो यो सराहनीय छ । हुनत तपाईले डा. गोविन्द केसीको आठौँ अनशनको बेला पनि मेडिकल शिक्षाको लाइसेन्स दिन करोडौंको खेल हुने कुरा बोल्नु भएको थियो । तर ती करोडौं लिने र दिनेबारे पछिसमेत स्पष्ट पार्नु भएको जस्तो लाग्दैन । त्यसैले अहिले उठाएको सवालमा आफ्नो नैतिक र अनुशासन क्षय हुने गरी बोलेको कुरालाई ‘लजिकल एण्ड’ मा पुर्याउने दायित्व तपाई हो । यति बोल्नेले त्यो आँट नगरे कसले गर्छ ? सत्य बोल्दा आउने आलोचना, उठ्ने नैतिक दायित्वको प्रश्नलगायत यावत कुराबारे वीपी पुत्र अनभिज्ञ होलान् कसरी ? चर्म चक्षुका कुशल चिकित्सक कोइराला ज्ञान चक्षुमा पक्कै कमजोर छैनन् ।
नेपालले अभ्यास गरेको खर्चिलो निर्वाचन प्रणालीले कुनै पनि पार्टी र तिनका नेतालाई फाइदा गरेको छैन । यस्तो महँगो चुनाव लडेर कसले कसको हितार्थ काम गर्छ प्रष्टै छ । दलित, महिला, गरिब र पछाडि छोडिएका मान्छेको लागि यस्तो चुनाव यस्तो व्यवस्था आफ्नो कसरी हुन्छ ? जहाँ पैसा नभएको कारण टिकट लिन मुश्किल, टिकट लियो जित्न मुश्किल । यस्तो चुनाव खर्चले भ्रष्टाचारलाई मौलाउन दिन्छ कि मिल्काउन सहयोग गर्छ ?
डा. शशांकले बोलेको कुरा गम्भीर र हाम्रो समग्र प्रणालीलाई व्यवस्थित बनाउने र बदनाम गर्ने दुवै कोणबाट व्याख्या गर्न सकिन्छ । तसर्थ बदनाम होइन व्यवस्थित गर्न बदल्न केही सुधार्न उनको सत्य वचन र कटु यथार्थलाई स्वीकार गरौं ।
समीक्षात्मक नबनी धर छैन । यो व्यवस्था पैसावाल र तिनका मतियारको लागि मात्रै पक्कै नहोला ? राजनीतिमा निष्ठा, नैतिकता, इमान्दारी, पारदर्शी, मेहनत, लगन, क्षमता समर्पण ठूलो कुरा हो कि पैसा ? विचार दर्शन नीति र योजना मुल्यवान कि द्रव्य ? पैसा नै सबथोक हो भने संविधान कानुन र नियममा उल्लेख गरेको सबै बराबरी भन्ने हक निलम्बन गरेर पैसा हुने विशेष योग्य छन्–हुन् भनेर किन नलेख्ने ?
चुनावमा टिकट पाउने र जित्ने मापदण्ड मोटो रकम हो भने रकम नहुनेहरू कुनै पार्टीको सदस्य कार्यकर्ता र शुभेच्छुक बन्नुको अर्थ के रह्यो र ? यस्तो प्रकारको चुनाव गरिबको क्षमता र प्रतिनिधित्व गराउने बन्ने छैन । द्रव्य युगमा द्रव्य हुनेकाबीच प्रतिष्पर्धा भएर तिनीहरू मात्रै चुनिने छन् । श्रमजीवी दलित र गरिबको पक्षमा लड्ने र उनीहरूको प्रतिनिधित्व गर्ने प्रतिनिधि चुनावको छेउँमा उभिनसमेत नसक्ने व्यवस्था र अवस्थाबाट गुज्रदै छ हाम्रो व्यवस्था ।
त्यसैले यसको बारे गहन विमर्श गर्ने बेला भएको छ । राजनीतिक प्रणालीबारे विज्ञता हासिल गरेका मान्छे र अहिले अभ्यास गरिएको व्यवस्थामा विभिन्न निकायमा रहेर काम गरेका प्रतिनिधि र कर्मचारीसमेत बसेर विहंगम छलफल र निस्कर्ष जरुरी देखिन्छ । अर्को उल्लेख गर्न पर्ने पक्ष के छ भने प्रदेश सभाको सदस्य भइसकेकाहरूले स्थानीय निकायको पालिका प्रमुख बन्न रहर गरेको, उमेद्वार घोषणा गरेको र पार्टीले सिफारिस गरेको देख्दा त्यहाँ किन आकर्षण छैन ?
प्रदेश हाम्रो संघीयताको लागि कति अनिवार्य छ ? त्यसको उपादेयता संघीयता कार्यान्वयनको करिब पाँच वर्षको अनुभवले कस्तो देखायो ? आदि बारेमा पनि व्यापक विमर्श हुनु पर्ने देखिन्छ । आगामी संघीय र प्रदेशको चुनावअघि नै प्रदेश हटाउन या यसको प्रभावकारिता बढाउन राज्यले नीतिगत निर्णय लिन बिलम्ब गर्नु हुँदैन ।
राज्यलाई अनावश्यक आर्थिक व्ययभार पर्ने कुनै पनि संरचना कटौती गर्न हिच्किचाउनु हुन्न । प्रदेश बिनाको संघीयताको अभ्यास पनि गर्ने कि ! कमजोरी स्वीकार गर्दै व्यवस्थालाई चुस्त दुरुस्त बनाउन कुनै पनि पार्टीले आफ्नो इगोको प्रश्न बनाउनु हुन्न । पदमा इगो होइन प्रतिष्ठा, अनुशासन र मर्यादामा प्रतिष्पर्धा गर्नुपर्छ । देशलाई प्रयोगशाला मात्रै बनाउने होइन देश प्रबन्धपरक हुनुपर्छ । राजनीतिज्ञले सबै कुरा नजान्न सक्छन् सबै जान्ने विषय पनि होइन । त्यस्तो बेला विषयविज्ञको राय ग्रहण गर्नुपर्छ । विषयविज्ञ आफ्नो पार्टीका बफादार सिपाही नभएर देशका बफादार र जिम्मेवार नागरिक हुनुपर्छ ।
नेतामा ग्रहणशीलता, क्षमाशीलता र समयको पदचाप सुन्ने सामर्थ्य अपेक्षित छ । डा. शशांकले बोलेको कुरा गम्भीर र हाम्रो समग्र प्रणालीलाई व्यवस्थित बनाउने र बदनाम गर्ने दुवै कोणबाट व्याख्या गर्न सकिन्छ । तसर्थ बदनाम होइन व्यवस्थित गर्न बदल्न केही सुधार्न उनको सत्य वचन र कटु यथार्थलाई स्वीकार गरौं । स्वीकार गरिएको छ । सुधार गरौं । सुधार गर्नु भनेको सिद्दिनु होइन सप्रिनु हो । समयको साथ लिनु हो । सत्य कुरा निर्धक्क भन्ने साहसको लागि डाक्टर कोइरालालाई धन्यवाद भनौं ! वेल सेड डाक्टर साब् ! स्यावास ! नेताले कुरा लुकाउने होइन फुकाउने हो । यथार्थ स्वीकार गर्ने वातावरण सिर्जना गर्ने हो ।