arrow

गठबन्धन : चुनावी तालमेलमा अझै जुटेन सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ४ आइतबार
gathabandhan baithak.jpg
फाइल तस्बिर

काठमाडौँ। स्थानीय तहको निर्वाचन आउन २६ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्टाएको छ। मनोनयन दर्ता गर्न ७ दिन मात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवार चयन गर्न सकेका छैनन्। सत्ता गठबन्धनमा रहेका दलहरुबीचमात्र तालमेल गर्ने निर्णय गरेको गठबन्धनलाई अन्य स्थानीय तहको तुलनामा ६ महानगर र ११ वटा उप–महानगरपालिकाको भागबन्डा मिलाउन 'फलामको च्यूरा' चपाए सरह हुने देखिएको छ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा दलहरूले आ-आफ्नो दाबी कायम राख्दा कुनै सहमति जुट्न सकेन। स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जितपुर सिमरा, हेटौँडा र घोराही उप–महानगरपालिकामा दाबी गरेको हो।

त्यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा महानगरमा दाबी गरेको छ। सबै दलहरूले आ-आफ्नो अडान राखेपछि आजको बैठकमा कुनै निष्कर्ष निस्कन नसकेको हो।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उप–महानगरपालिमा आ–आफ्नै अडान कायम राखेका छन्। गठबन्धनले महानगर र उपमहानगरबारेको तालमेल केन्द्रबाट गर्ने निर्णय गरेको छ तर केन्द्रमा चुनावी तालमेल गर्ने निर्णय गरे पनि कतिपय क्षेत्रमा स्थानीय नेता कार्यकर्ता भने तालमेलको विपक्षमा उभिएका छन्। उनीहरूले एक्ला एक्लै चुनाव लड्ने भन्दै उम्मेदवार सिफारिस गर्दै आएका छन्।

गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहको तालमेलबारे निर्णय गर्न गठबन्धन दलका नेता सम्मिलित संयन्त्र बनेका छन्। केन्द्रीय संयन्त्रले स्थानीय तहको अवस्था र तालमेलको सम्भावनाबारे केन्द्रमा प्रतिवेदन पेस गर्न प्रदेश संयन्त्रहरूलाई निर्देशन दिएको थियो। शनिवारसम्म केन्द्रमा प्रतिवेदन बुझाउनुपर्ने भनिएको थियो। तर, कतिपय प्रदेशबाट ढिला गरी प्रतिवेदन पेस भएको थियो। जसले गर्दा कार्यदलले निर्णय गर्नमा ढिलाइ भएको हो। पाँच दलीय गठबन्धनको आज बसेको बैठकले कार्यदललाई भोलि सम्ममा प्रतिवेदन पेस गर्न भनेको छ।

माओवादी र नेकपा एकीकृत समाजवादीले जनमत भन्दा बढी दाबी गरेको भन्दै कतिपय स्थानीय तहमा काँग्रेसले एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ।

गठबन्धन दलका शीर्ष नेताहरूबिच काँग्रेसले यसअघि जितेका विराटनगर, ललितपुर र काठमाडौँ राखेर माओवादी केन्द्रलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा र जसपालाई वीरगन्जको प्रमुख पद भागबन्डा गर्ने तयारी छ। तर ती क्षेत्रका स्थानीय नेता कार्यकर्ता भने त्यसको विरोधमा छन्।

गठबन्धन गर्ने भनिएका महानगरमा काँग्रेसको अवस्था अन्य गठबन्धन दलहरूको भन्दा बलियो छ। जसका कारण काँग्रेसका नेताहरूले ती क्षेत्र नछाड्न केन्द्रमा दबाब दिइरहेका छन्। 

काँग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मासहित शेखर कोइरालाले स्थानीय स्तरमा तालमेल स्वीकार गर्न नहुने बताइरहेका छन्। तर सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने तालमेलको पक्षमा छन्। भरतपुर लगायतमा स्थानीय नेताहरूले तालमेल नभएर मित्रवत् प्रतिस्पर्धा गर्नुपर्ने अन्यथा प्रतिवाद गर्ने भनिरहँदा देउवाले जबरजस्त यसबारे निर्णय गर्न त्यति सहज भने छैन। तल्लो तहमा विरोध भइरहँदा गठबन्धन गरे पनि मत प्रभावित हुन सक्ने सम्भावनालाई भने नकार्न सकिँदैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ