arrow

नेकपा एसको घोषणापत्रले ओली अप्ठेरोमा, संसद विघटन जायज थियो भनिरहन एमाले नेता कार्यकर्तालाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
kp-sharma-oli-all.jpg

काठमाडौं । दुई पटक संसद विघटन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अहिले स्थानीय तहको निर्वाचन निकै सकसपूर्ण देखिएको छ । खासगरी एमालेबाट विभाजन भइ बनेको नेकपा एकीकृत समाजवादी (एस) ले आफ्नो घोषणापत्रमा ओलीकै कारण एमाले विभाजन गर्नु परेको भन्दै ओलीमाथि व्यवस्था विरोधीको आरोप लगाएपछि एमालेकै लागि सकसपूर्ण भएको हो । 

दुई पटक प्रतिनिधि सभा विघठन गरेर सरकार बाहिर रहेका ओलीले पार्टीका विभिन्न बैठक र भेलाहरुलाई सम्बोधन गर्दा संसद विघठन ठीक थियो भन्ने तहबाट सम्बोधन गर्ने गरेका छन् । सरकार पक्षीय गठबन्धन दलहरुले एमाले अध्यक्ष ओलीकै कारण व्यवस्था नै धरापमा परेको, संविधान मिचेको जस्ता आरोप लगाइरहेका बेला ओलीले संसद विघठन ठीक थियो भन्ने तहबाट अभिव्यक्ति दिएका छन् । 

खासगरी एस पार्टीले लिखित रुपमा एमाले अध्यक्ष ओलीलाई कम्युनिष्ट आन्दोलनको दोष दिएपछि ओलीले बाध्य भएर एमालेका नेता कार्यकर्तालाई संसद विघटन ठीक थियो भन्ने र प्रतिरक्षा गर्न निर्देशन दिएका हुन् । 

नेकपा एसले दुई तिहाइको सरकारले जनताको अपेक्षा अनुसार काम नगरेको मात्रै दोष दिएको छैन उसले ओली दक्षिणपन्थीभाषमा डुबेको आरोप लगाएको छ ।

‘स्थानीय, प्रादेशिक र सङ्घीय गरी तीनओटै तहका निर्वाचनमा आम जनताले ठूलो अपेक्षा र विश्वासका साथ वामपन्थीहरूलाई मत दिएका थिए । झन्डै दुई तिहाई संसदीय स्थानमा विजय प्राप्त गरी केपी ओलीको नेतृत्वमा बनेको सङ्घीय सरकारले शुरुदेखि नै जनअपेक्षा बमोजिम काम गरेन । आफ्नो वर्गपक्षधरता भुलेर, दलाल पूँजीपतिहरुको सेवामा सरकारको अग्रसरता बढ्यो । त्यस सरकारले भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएका कारण त्यसको प्रभाव प्रादेशिक र स्थानीय तहमा पर्न थाल्यो । यसरी तत्कालीन नेकपाको सरकारबाट जनताले गरेका अपेक्षामाथि कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र कम्युनिष्ट आन्दोलनप्रति वितृष्णा उत्पन्न हुन थालेको थियो । त्यतिबेला हाम्रा सामु आत्मसमर्पण वा विद्रोहमध्ये एउटा विकल्प रोज्नुपर्ने थियो । हामीले आत्मसमर्पणलाई अस्वीकार गर्‍र्यौं र विद्रोह रोज्यौँ । हामीले समयमै विद्रोह गर्‍र्यौं र कम्युनिस्ट आन्दोलनलाई जोगाउने प्रयास गर्‍र्यौं’, एस पार्टीले जारी गरेको घोषणा पत्रमा उल्लेख गरेको छ ।

यसरी एस पार्टीले पटक पटक एमाले र ओलीमाथि लिखित रुपमै आक्रमण गरेपछि ओलीले बाध्य भएर प्रतिरक्षाका लागि नेता कार्यकर्ताको साथ सहयोग खोजेका हुन् । 

लामो समयपछिबिहीबार ओलीले संसद विघटन गलत थियो भन्ने अभिव्यक्ति नदिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले भुलेर पनि त्यस्तो अभिव्यक्ति नदिन पार्टीका नेताहरूलाई आग्रह गरेका छन् । 

उनले आफ्ना पार्टीका केही नेताहरुप्रति लक्षित गरेर कहीँ कतैबाट संसद विघटन गलत थियो भन्ने अभिव्यक्ति आइरहेको तर त्यस्तो अभिव्यक्ति भुलेर पनि नदिन आग्रह गरेका थिए ।

पार्टी भित्रै पनि स्थायी कमिटी सदस्य डा. घनश्याम भुषालले संसद विघटन गलत थियो भन्ने अभिव्यक्ति दिँदै आएका छन् । माधवकुमार नेपालले एमाले विभाजन गरी बनाएको नेकपा एस पार्टीले तयार पारेको भिडियो प्रचारमा सबैभन्दा बढी प्रहार ओलीमाथि गरिएको  छ । 

त्यसमा पनि संविधान मास्न खोजेको, निरंकुश बन्न खोजेको भन्दै ओलीलाई व्यवस्था विरोधीको रुपमा चित्रण गर्न खोजिकएको छ । त्यसलाई चिर्न र प्रतिरक्षा गर्न पनि एमालेका सबै नेता कार्यकर्ता लाग्नुपर्ने भएकाले ओलीको सो अभिव्यक्ति आएको हो ।

‘जालझेल, षड्यन्त्र, झुटा आश्वासन र तिकडमका आधारमा गरिने पार्टी एकता वा नेतृत्व कब्जाबाट कम्युनिष्ट आन्दोलनको पुनर्गठन हुन सक्दैन । त्यसरी बन्ने पार्टी समाजवादको लक्ष्य प्रति इमान्दार हुँदैन’, एमालेका अध्यक्ष ओलीप्रति लक्षित गर्दै माधव नेपालले तयार गरेको घोषणा पत्रमा भनेका छन् । जसबाट ओलीलाई व्यवस्था विरोधीको रुपमा चित्रण गरिएको छ । 

बिहीबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीप्रति लक्षित गर्दै व्यवस्था जोगाउन पनि गठबन्धन गर्नु परेको बताएका थिए । उनले पनि एमालेलाई हराएपछि मात्रै वाम एकता हुने बताउँदै गठबन्धन गर्नुपरेको दाबी गरेका थिए । 

सत्ता गठबन्धनमा रहेका माओवादी र एस पार्टीले ओलीमाथि मात्रै प्रहार गर्न थालेपछि केन्द्रीय सल्लाहकार परिषद्को बिहीबार बसेको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते आफू प्रधानमन्त्री पदमा रहेका बेला गरिएको प्रतिनिधिसभा विघटनको भुलेर पनि विरोध नगर्न भन्दै सबै नेता कार्यकर्ताले त्यसको प्रतिरक्षा गर्नुपर्ने बताएका थिए ।

‘केही केही साथीहरूले यस्सो मौका पर्‍यो कि संसद विघटन गलत हो भन्ने सुनिएको छ, यस्ता खालका गलत कुराहरू हाम्रो सल्लाहकार परिषद्का कोही पनि कमरेडहरूले भूलचुकले पनि नबोल्न आग्रह गर्दछु । वास्तवमा संसद विघटन विल्कुल जायज थियो यसको पुष्टि भैसकेको छ’,ओलीले भने । 

उनले पार्टी एक स्वरमा अगाडि बढ्नुपर्ने बताउँदै विरोधका आवाज र पार्टीले विगतमा गरेका निर्णयविरुद्ध नबोल्न आग्रह गरेका थिए । ‘एमालेले ठीक समयमा ठीक निर्णय गर्दै अगाडि बढिरहेको छ’, उनले भने । ‘आज प्रमुख शक्तिको हैसियत हामीले कायम रहेका छौं । देशमा एमालेको लहर सिर्जना गरेका छौं । होइन भने एमाले गन्तव्यहीन, दिशाहीन खत्तम भएर, ध्वस्त भएर, प्रचण्ड–माधवहरूको कब्जामा जान्थ्यो ।’ उनले संसद विघटन नगरेको भए आफूलाई प्रचण्ड र माधव नेपालले जेल हाल्न खोजेको दाबीसमेत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ