arrow

के छ एमालेको घोषणापत्रमा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
CPN-UML-Flag.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीतिको रुपमा चुनावी घोषणापत्र तयार गरेको छ ।  फागुनभर सातवटै प्रदेशमा चलाएको प्रशिक्षण र चैतभर सुझाव संकलन गरेको एमालेले त्यसबाट प्राप्त पृष्ठपोषणलाई लिएर चुनावी रणनीति र घोषणापत्र तयार गरेको हो । 

जुन आज दिउँसो सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । प्रमुख विपक्ष दल एमालेले ३० बैशाखमा हुने स्थानीय निर्वाचनका लागि चुनावी घोषणापत्रको मस्यौदा तयार गरेको छ । पार्टी स्थापना दिवस ९ बैशाखमा सार्वजनिक गर्ने गरी एमालेले तयार गरेको चुनावी घोषणापत्रको मूल नारा ‘सुशासन र समृद्धि समाजवादको आधार : पालिका–पालिकामा एमालेको सरकार’ तय गरेको स्रोतले जनाएको छ । 

बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको मस्यौदा समितिले तयार पारेको चुनावी घोषणापत्र पारित गरिसकेको छ । एमालेले आज नै सात सय ५३ ओटै पालिकामा पनि चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने गरी कार्यक्रम तय गरेको छ ।  

केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामहरुलाईसमेत समेटेर तयार गरेको सो घोषणापत्रमा सडक निर्माण, अस्पताल भवनहरुको शिलान्यास, धराहरा, रानीपोखरी, कमलपोखरीको निर्माण, तुइन विस्थापन, झोलुङ्गे पुलको निर्माण जस्ता विषयहरु समेटिएका छन् । 

घोषणापत्रको शुरुको खण्डमा वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै चुनाव सर्वोच्च अदालतको परमादेशबाट बनेको सत्तारूढ गठबन्धन र एमालेबीच मिनी जनमतसंग्रहका रूपमा हुन गइरहेको चर्चा गरिएको छ । 

शान्ति, स्थिरता, समृद्धि र समाजवादको आधार तयारीका लागि एमालेलाई विजयी गराउन मतदातालाई आह्वान गरिएको छ । त्यस्तै तीन वर्षमा एमाले नेतृत्वको केन्द्र, प्रदेश र स्थानीय सरकारले गरेका काम र उपलब्धिहरूको क्रमबद्ध चर्चा गरिएको स्रोतले जनाएको छ । 

आगामी दिनमा एमाले नेतृत्वको स्थानीय सरकारले गर्ने कामका बारेमा विस्तृत रूपमा घोषणापत्रमा समेटिएको मस्यौदा लेखन समितिका एक सदस्यको दाबी छ । 

शिक्षा, कृषि, उद्योग, वन, पर्यटन, जलस्रोत, आवास, सञ्चार, सहकारी, रोजगारी अभिवृद्धिलगायतका विषयवस्तु एमालेले घोषणापत्रमा समेटेको छ । एमालेले पोखरेल नेतृत्वको कार्यदललाई चैत मसान्तभित्र घोषणापत्रको मस्यौदा पेस गर्न निर्देशन दिएको थियो । 

उपाध्यक्ष युवराज ज्ञवालीसहित उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, स्थायी कमिटी सदस्य देवेन्द्र दाहाल, प्रभु साह थिए । त्यस्तै, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा, सुशील ज्ञवाली घोषणापत्र मस्यौदा कार्यदलमा थिए । स्थानीय तहमा नेता कार्यकर्ताहरुको आकर्षणसमेत बढेकाले एमालेले घोषणपत्रमा पनि सोही अनुसार उल्लेख गरिएको छ । 

सरकारमा रहेका गठबन्धन दलहरुले स्थानीय तहमा एमालेले निर्वाचन जितेको स्थानमा घेराबन्दी गर्ने र सकेसम्म एमाले विरुद्ध एकमत हुने अवस्था आएका कारण पनि अहिलेदेखि नै एमालेले चुनावी रणनीति र गाउँपालिका, नगरपालिका केन्द्रीत कार्यक्रमहरु बनाउन पनि सो घोषणापत्र सहयोगी हुने बताइएको छ । 

त्यसका लागि ओली प्रधानमन्त्री हुँदा भएका विकास निर्माणका कार्यहरुलाई लिपबद्ध गरिएको हो । प्रधानमन्त्रीबाट हट्नु अघि गरिएका काममा वर्तमान सरकारले भाँजो हालेको बजेट कटौति गरेको, अर्थमन्त्रालयले विकासमा बजेट दिन नसकेको जस्ता विषयहरुलाई समेत निर्वाचनको घोषणा पत्रमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ