arrow

किन चाहियो गठबन्धन ?  

logo
नारायण पौडेल,  
प्रकाशित २०७९ वैशाख १० शनिबार
278596825_1246024692597784_6333720023984007370_n.jpg

भनिन्छ, ‘राजनीतिमा स्थायी शत्रु कोही पनि हुँदैन ।’ यसर्थ, सर्वसाधारण जनता, कुनै पार्टीका नेता तथा कार्यकर्ता र शुभेच्छुक अब जुनसुकै बेला जोकोही राजनीतिक दल वा चुनाव चिन्हमा मतदान गर्नुपर्ने अवस्थाको आँकलन गरी बस्नुपर्ने भयो । किनकि एउटा मात्रै राजनीतिक दलले निर्वाचनमा भाग लिँदा आफ्नो अस्तित्व कायम गर्न सक्ने वातावरण भएन । सम्भवतः नेपाली कांग्रेसको नेतृत्वमा शेरबहादुर देउवा नआउँदासम्म कांग्रेसले महागठबन्धनको सामना गर्नुपरेको थिएन । कांग्रेस एक्लैले आफ्नो अस्तित्व शानदार ढंगले स्थापित गर्दै देशमा भएका महत्वपूर्ण आन्दोलनहरुको नेतृत्वसमेत गर्दै आएको थियो ।

कांग्रेसको १४ औं महाधिवेशनमा ‘मैले चुनाव हारें भने गठबन्धन सरकार ढल्छ, त्यसैले मलाई यसपटक पनि सभापति बनाउनुहोस्’ भन्दै उद्घाटन सत्रमा आफ्नो मन्तव्य राखेका देउवाले इतर समूहलाई तितर–वितरसमेत पार्दै सभापतिमा बाजी मारे । प्रधानमन्त्री त उनी छँदै थिए, सायद ज्योतिषीको भविष्यवाणी अनुसार अझै उनी दुईपटक देशको प्रधानमन्त्री बन्ने वाला छन् । देउवा पाँचपटक प्रधानमन्त्री बने भने दोस्रो कार्यकालका लागि उनी कांग्रेस सभापतिमा केही महिना अगाडि मात्रै निर्वाचित भएका छन् । 

अहिले उनको एजेण्डा भनेको ‘पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल सहितले मलाई प्रधानमन्त्री बनाएका हुन्, त्यसैले उनीहरुको गुन तिर्नकै लागि गठबन्धन जरुरी छ, उनीहरुलाई लक्षित गरी तितो अभिव्यक्ति नदिनुस्’ नै हो । देउवालाई प्रधानमन्त्री बनाउन उनीहरुले ठूलो गुन लगाए, आफ्नो जवानी खर्च गरेको पार्टी फुटाए । तथाकथित जनयुद्धका नाउँमा देशभर नै कांग्रेसका नेता तथा कार्यकर्ताहरु खोजी खोजी काट्ने तथा मार्ने काम गठबन्धनका नाइके प्रचण्डको निर्देशनमा भयो कि भएन ? 

उक्त घटनाबाट विक्षिप्त भएका परिवार तथा आफन्तहरुले देउवाको निर्देशनमा पटक पटक प्रचण्डलाई भोट हाल्नुपर्ने ? देउवाले त प्रधानमन्त्री पद पाए तर कांग्रेसका अन्य नेता तथा कार्यकर्ता, शुभेच्छुकसहित सर्वसाधारण नेपाली जनताले के पाए ? एमालेबाट चोइटिएका माधवकुमार नेपाल सहितले विगतमा नेतृत्व गरेको एमालेले झापा विद्रोहका नाउँमा होस् या विद्यार्थी आन्दोलनका नाउँमा होस्, आक्रमणको निशाना कसलाई बनाएको थियो ?

रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. आरजू राणा देउवा, पुष्पकमल दाहाल प्रचण्ड, रेणु दाहाल, विना मगर, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई लगायतका नेता र उनीहरुका आफन्तहरुलाई निर्वाचनमा जिताउन गठबन्धनको षडयन्त्र गरिँदैछ । के यिनीहरुलाई निर्वाचन जिताउने ठेक्का सधै कांग्रेस वा देउवाले लिनुपर्ने हो ? त्यसमाथि गठबन्धनको चुनाव चिन्हसमेत साझा बनाउने ? 

यदि त्यसो हो भने फरक फरक पार्टी र निर्वाचन चिन्ह किन चाहियो ? हुनत यसअघिको निर्वाचनमा भरतपुर महानगरपालिकामा रुख चिन्हमा खसेको आठ सय भन्दा बढी मत प्रचण्डपुत्री रेणुले मलाई दिएको मत भएकाले गणना हुनु पर्दछ भन्ने माग राखेकी थिइन् । त्यसैले साझा चुनाव चिन्हको आवश्यकता परेको होला । यस्तो अवस्था किन आयो या किन ल्याइयो ? कांग्रेस एक्लै निर्वाचन लड्न सक्ने अवस्थामा नभएर हो ?

केही दिन अगाडि कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले एउटा अन्तर्वार्तामा भन्नुभएको रहेछ, ‘देउवाले आफ्नो प्रधानमन्त्री पद जोगाउन प्रचण्डलाई कांग्रेसको सभापति बनाउन पनि तयार हुन्छन् ।’ कुनैबेला कांग्रेसका प्रभावशाली नेता मानिने जोशीबाट आएको यस्तो अभिव्यक्तिले के चित्रण गर्दछ ? हुनत आफ्नै गृहजिल्ला डडेलधुरामा कांग्रेसलाई तहसनहस बनाएका देउवाबाट कांग्रेसको अस्तित्व रक्षा हुने कुराको परिकल्पना गर्न नसकिने अवस्था सिर्जना भइसकेको छ । यद्यपि कांग्रेसभित्रै आफ्नो भविष्य बोकेका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा जस्ता ठिटाहरुले पनि गठबन्धनको विरोध गर्न नसक्नु कांग्रेसका लागि दुर्भाग्यपूर्ण हो । हुनेछ ।

देउवा नेतृत्वको कांग्रेस देउवालाई प्रधानमन्त्री बनाएको गुन तिर्न भन्दै वामपन्थीहरुसँग गठबन्धन गर्दैछ । फलस्वरुपः आजीवन रुख चिन्हमा मतदान गर्दै आएका असली कांग्रेसहरुलाई हँसिया हथौडा लगायतका विभिन्न चिन्हमा भोट हाल्न बाध्य पारिँदैछ । 

चौतर्फी विवादबीच पाँचदलीय गठबन्धनले स्थानीय निकाय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा हुने गठबन्धनको टुंगो लगाएको छ । तर यस विषयमा थोरै समर्थन तथा धेरै विरोध आइरहेको छ । विभिन्न सामाजिक सञ्जालहरुमा हेर्ने हो भने विरोधका भाषाहरु धेरै प्रयोग भएका छन् । विशेषगरी नेपाली कांग्रेसले वामपन्थीहरुसँग यसरी गठबन्धन गर्नुपर्ने आवश्यकता थिएन भन्ने सन्दर्भमा सञ्जालहरुमा अभिमत बढ्दो छ र कांग्रेसभित्रकै शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा रहेको देखिन्छ ।

यस्तो अवस्थामा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा गठबन्धनको निर्णय गराए र उनी पक्षधर नेताहरुले गठबन्धन अस्वीकार गर्नेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने चेतावनी दिन थालेका छन् । तर उनीहरुलाई हेक्का होस्, देउवाको अनुहार हेरेर पार्टीका नेता तथा कार्यकर्ताहरु कांग्रेस भएका होइनन् र ती कांग्रेसीहरुले रुख चिन्हमा कांग्रेसलाई नै मतदान गर्न पाउनु पर्दछ । किनकि कांग्रेसीहरु वीपीको आदर्श, चुनाव चिन्ह रुख र चारतारे झण्डामा गोलबद्ध भएका हुन् । हिजो गाउँमा छानी छानी कांग्रेस काट्नेहरुलाई भोट दिनका लागि कांग्रेसीजन तयार छैनन् ।

२०१५ सालको पहिलो आमनिर्वाचनमा वीपी स्वयं आफैं देशका करिब सबै निर्वाचन क्षेत्रहरुमा पुगी ती क्षेत्रमा निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहनेहरुबीच आपसमा छलफल गराई निर्वाचनमा जित्न सक्ने उम्मेदवारलाई टिकट वितरण गरेकाले कांग्रेस एक्लैले दुई तिहाई बहुमत प्राप्त गरेको थियो र त्यसपछि पनि २०४८ र २०५६ सालमा स्पष्ट बहुमत प्राप्त गर्यो । तर देउवा नेतृत्वको कांग्रेस देउवालाई प्रधानमन्त्री बनाएको गुन तिर्न भन्दै वामपन्थीहरुसँग गठबन्धन गर्दैछ । फलस्वरुपः आजीवन रुख चिन्हमा मतदान गर्दै आएका असली कांग्रेसहरुलाई हँसिया हथौडा लगायतका विभिन्न चिन्हमा भोट हाल्न बाध्य पारिँदैछ । 

यसैको विरोधमा कास्की कांग्रेस कार्यालयमा तालाबन्दी गरिएको छ । चितवन कांग्रेसले प्रचण्डपुत्री रेणुलाई भोट हाल्न सक्दैनौं भनिरहेको छ । विराटनगरमा कांग्रेस एक्लैले निर्वाचन लड्ने भनिरहेको छ । तर कांग्रेस केन्द्रका केही थान किस्तीवाल नेताहरु कांग्रेसीहरुलाई कारवाही गर्ने रोइलो गरिरहेका छन् ।

हिजो पार्टी सभापति बन्न देउवालाई कांग्रेस कार्यकर्ता चाहिएको थियो । तर आज उनलाई निर्वाचनमा विजयी हुन माओवादी कार्यकर्तासमेत चाहिएको छ । यो कसको कमजोरी हो ? कांग्रेस कार्यकर्ता कि देउवाको ? गठबन्धन गर्नु देउवाको बाध्यता बनेको हो भने रुखमा भोट हाल्न पाउनुपर्दछ भन्ने कांग्रेसजनको अधिकार हो । यसर्थ अधिकारलाई तिलाञ्जली दिएर बाध्यतालाई स्वीकार्नुपर्दछ भन्ने अभिव्यक्ति दिनु आफैंमा अलोकतान्त्रिक प्रवृत्ति हो । 

कांग्रेसको राजनीतिमा धेरैको बलिदानी लुकेको छ, शीर्ष नेताका छोरा, छोरी, श्रीमती, दाजुभाई, भाञ्जा भाञ्जी, बुहारी लगायतलाई पहुँचकै आधारमा निर्वाचनमा जिताएर संघर्षशील योद्धाहरुको सपना साकार हुन सक्दैन, वीपीले कोरेको कांग्रेस र देखेको मुलुक बन्न सक्दैन । वीपीको सच्चा अनुयायी भन्न पछाडि नपर्ने र कुनैबेलाको वीपीका विश्वासपात्र मानिने देउवा विद्यार्थी राजनीतिबाट स्थापित एक नेता हुन् । 

प्रचण्ड सहित उनका छोरी बुहारी जिताउन कांग्रेसले सधै ठेक्का लिनुपर्ने ? केही हदसम्म गठबन्धनका अन्य दलहरुबाट कांग्रेसलाई पनि भोट आउँछ । यो सत्य कुरा हो । तर आफू एक्लैले निर्वाचन जित्न सक्ने ठाउँमा पनि गठबन्धनको आवश्यकता किन पर्यो ?

कांग्रेसको नर्सरी मानिने नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भइसकेका देउवा पार्टी सभापतिको आसनमा रहिरहँदा नेविसंघको अवस्था कस्तो छ ? पाँचपटक प्रधानमन्त्री र दुईपटक पार्टी सभापतिमा रहँदा देउवाले देश, जनता र कांग्रेसको हितमा के–के काम गरेका छन् ? गठबन्धनले देउवालाई प्रधानमन्त्री बनायो । तर कांग्रेसलाई के भयो ? धोका दिन नहुने भनिरहँदा गठबन्धनको निरन्तरताले समग्रमा मुलुकलाई के फाइदा हुन्छ ? आफ्नै गृहजिल्लामा कांग्रेस र आम जनताको अवस्था कस्तो छ ? यस्ता संवेदनशील प्रश्नहरुको चित्त बुझ्दो जवाफ दिने हैसियत देउवासँग छ ?

प्रधानमन्त्री बनाएको गुन तिर्न प्रचण्ड र माधवकुमार नेपाललाई अनि पार्टी सभापति बनाएको गुन तिर्न रामचन्द्र, प्रकाशमान र कृष्णप्रसाद सिटौलालाई रिझाउन गठबन्धन गरिँदैछ । तर आफ्नै पार्टीका प्रभावशाली नेता तथा कार्यकर्ताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने धम्की दिइएको छ । के कांग्रेस देउवा झुण्डको बिर्ता हो ? कांग्रेसीले रुख निर्वाचन चिन्ह लिएर प्रतिस्पर्धा गर्छु अनि रुखमा भोट हाल्छु भन्न नपाउने ? 

अनि प्रचण्ड सहित उनका छोरी बुहारी जिताउन कांग्रेसले सधै ठेक्का लिनुपर्ने ? केही हदसम्म गठबन्धनका अन्य दलहरुबाट कांग्रेसलाई पनि भोट आउँछ । यो सत्य कुरा हो । तर आफू एक्लैले निर्वाचन जित्न सक्ने ठाउँमा पनि गठबन्धनको आवश्यकता किन पर्यो ? प्रश्न यहिनेर मात्रै हो । त्यसमाथि सँधै मिलिजुली खानको लागि मात्रै गठबन्धन गरिरहने हो भने फरक फरक पार्टी किन चाहियो ? एउटै पार्टी बनाए भयो नि ! प्रतिस्पर्धा पनि कसैसँग गर्नु पर्दैन, अनि पराजयको सम्भावना पनि हुँदैन । (लेखक अधिवक्ता हुन्) ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ