arrow

जनकपुरमा मेयरमा १७ जनाको उम्मेदवारी, स्वतन्त्रमात्रै १० जना

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ वैशाख १२ सोमबार
janakpurdham-upamahanagarpalika.jpg

जनकपुरधाम । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि मेयर पदमा १७ र उपमेयरमा १० जनाको उम्मेदवारी परेको छ । राजनीतिक दलको तर्फबाट मेयरमा ७ जनाको उम्मेदवारी परेको छ भने १० जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

त्यस्तै, उपमेयरमा राजनीतिक दलको तर्फबाट ६ जनाले उम्मेदवारी दिएका छन् भने ४ जना स्वतन्त्र उम्मेदवार रहेको छ। सत्तारूढ गठबन्धनका तर्फबाट मेयर पदका लागि लालकिशोर साह र उपमेयरमा किशोरी साहले मनोनयन दर्ता गराएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयरमा मनोज कुमार  चौधरी र उपमेयरमा रिता कुमारी मिश्रले उम्मेदवारी दिएका  हुन् । 

नेकपा एमालेको तर्फबाट मेयरमा शिवशंकर साह (हीरा) र उपमेयरमा कांग्रेस परित्याग गरी सोमबार मात्रै एमालेमा प्रवेश गरेकी रुना झाले मनोनयन दर्ता गरेकी हुन् । 

करिब ५ दिन अगाडि नेकपा एमालेमा प्रवेश गरेका जानकीराम साहले एमाले परित्याग गरी मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको समूहबाट उपमेयरमा  सरोज कुमार मिश्रले मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै, नेपाल जनता पार्टीबाट मेयरमा मुरली मनोहर मिश्र र उपमेयरमा बन्दना पाण्डेले उम्मेदवारी दिएका छन् भने जनमत पार्टीबाट मेयरमा अनितादेवी साह र उपमेयरमा संतोषकुमार साहले मनोनयन दर्ता गराएका छन् । 

तराई मधेस लोकतान्त्रिक पार्टीबाट विभा ठाकुरले मेयर र ईश्वर पण्डितले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

जनकपुरधामको मेयर पदमै नेकपा मालेबाट गीताकुमारी मण्डलले उम्मेदवारी दिएकी हुन् ।

त्यस्तै मेयर पदमै स्वतन्त्रतर्फ कांग्रेसबाट राजीनामा दिएका मनोज साह, बलराम महतो, वैद्यनाथ साह, श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिरकुमार महतोको उम्मेदवारी परेको हो ।

यसअघि नेकपा एमालेले मेयर पदको टिकट नदिँदा बागी बनेर उमेश चौधरी र कुमारी बनिता यादवले आइतबार नै उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

कांग्रेसले टिकट नदिँदा निर्मलकुमार चौधरीले पनि उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगले आइतबार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो ।

धनुषा जिल्लामा राष्ट्रिय मान्यताप्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहितका ३२ दलहरू दर्ता भएका छन् ।

यो पटक धनुषामा मतदानस्थल घटेका छन् भने मतदान केन्द्र बढेका छन् । यसअघि २०७४ सालमा भएको स्थानीय निर्वाचनमा धनुषामा ३ सय २७ मतदानस्थल र ५ सय ४८ मतदान केन्द्र थिए । 

यसपटक मतदानस्थल घटेर ३ सय २३ पुगेको छ भने मतदान केन्द्र बढेर ५ सय ९६ पुगेको मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलले जानकारी दिएका छन्  ।

बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा धनुषामा ४ लाख ६७ हजार ३ सय २८ जना मतदाता रहेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ