arrow

पाँच पार्टीका घोषणापत्र : के छन् स्वास्थ्य क्षेत्रका योजना ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
health-election-local.jpg
तस्बिर– सांकेतिक

काठमाडौं । कोरोना भाइरसको संक्रमण कोभिड १९ को महामारीले हरेक सर्वसाधारणलाई स्वास्थ्यको महत्व गहिरो रुपमा बुझाएको छ । पछिल्लो करिब साढे दुई वर्षयता चलिरहेको महामारीले स्वाथ्य कति महत्वपूर्ण छ भन्ने कुरा मात्रै हैन हरेक ठाउँमा पहिलो प्राथमिकता स्वास्थ्य नै हो भन्ने कुरासमेत मनन  गराएको छ ।

जनताले स्वास्थ्य महत्वपूर्ण छ भन्ने बुझेको ठानेर होला राजनीतिक दलहरुले आफ्नो स्थानीय तहको चुनावी घोषणा पत्रमा शिक्षासँगै स्वास्थ्यलाई प्राथमिकताका साथ छापेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राप्रपाले आफ्नो स्थानीय तहको चुनावी घोषणा पत्रमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका प्रतिबद्धता उल्लेख गरेका छन् ।

अर्को ठूलो पार्टी नेकपा माओवादी केन्द्रले घोषणापत्र नै सार्वजनिक गरेन । 

सबैका घोषणा पत्रमा स्वास्थ्य बिमा लगभग अनिवार्य जस्तो भनिएको छ । राप्रपाले त सबै नागरिकको अनिवार्य र निःशुल्क स्वास्थ्य बिमा भनेको छ । दुःखद कुरा भनेको अहिले स्वास्थ्य बिमाको भुक्तानी नै पाउन मानिसहरुलाई ठूलो तनाव झेल्नु परेको अवस्था छ । जसपाले सबै स्थानीय तहमा प्रयोगशाला स्थापना गर्ने योजनासमेत उल्लेख गरेको छ । 

के छ एमालेको घोषणा पत्रमा स्वास्थ्यका योजना ?

पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गर्ने एजेण्डा नेकपा एमालेको छ ।

आरोग्यता, स्वास्थ्य परीक्षण, निःशुल्क आधारभुत स्वास्थ्य सेवा, जटिल रोगको निःशुल्क उपचार, बिमा, स्वास्थ्य पूर्वाधार र जनशक्तिको समष्टिगत व्यवस्थामार्फत स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने प्रतिवद्धता एमालेको छ ।

प्रत्येक पालिकामा निर्माणाधीन आधारभतू अस्पताल सम्पन्न गर्ने, प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण र सञ्चालन गर्ने, त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्ने, स्वास्थ्य सेवाको उपलव्धता र गुणस्तर नियमित अनुगमन गर्ने, महामारी, विपद् तथा अन्य स्वास्थ्य जोखिमको व्यवस्थापन गर्ने एवं स्वास्थ्यकालागि हानिकारक खाद्य पदार्थको नियमन गर्ने एवं मापदण्ड निर्धारण गरी गुणस्तर अनुगमन गर्ने प्रतिबद्धता एमालेको छ ।

स्वास्थ्य सेवा शिविर सञ्चालन, प्रजनन स्वास्थ्य, पोषण सेवासम्बन्धी कार्य गर्ने, गम्भीर रोगको पूर्व परीक्षण, पाठेघरको क्यान्सरको निःशुल्क परीक्षण गर्ने, गर्भवतीलाई स्वास्थ्य केन्द्रमा प्रसुतीका लागि थप प्रोत्साहन गर्ने, गर्भावस्थामा नै पौष्टिक आहार वितरण, स्वास्थ्य परीक्षण एवं शिशु स्वाहारकार्यलाई अmभैं प्रभावकारी बनाउने एमालेको घोषणा पत्रमा उल्लेख छ ।

प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य बिमा गर्ने, ज्येष्ठ नागरिक, विपन्न, दलित, एकल महिला र अपाङ्गता सहितका व्यक्तिको स्वास्थ्य बिमा निःशुल्क गर्ने, स्वास्थ्य केन्द्र तथा अस्पतालबाट निःशुल्क वितरण हुने औषधिको गुणस्तर एवं समयमै आपूर्ति सुनिश्चित गर्ने, स्पाइनल इञ्जुरीका कारण अपाङ्गता भएका  एवं गम्भीर प्रकृतिका बिरामीको औषधि स्थानीय तहमा पुर्याउने, आयुर्वेद, योग र प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्ने, औषधिजन्य गुण भएका जडिबुटीको उत्पादन, प्रशोधन र सदुपयोग गर्ने एमालेको प्रतिबद्धता छ ।

यस्तै मदिरा सेवन, धमूपान, लागूऔषधको सेवनलाई निरुत्साहन गर्न जागरणमुलक र कानूनी प्रबन्ध गर्ने, स्वस्थ्य आहार, स्वस्थ्य विहार र विश्रामको सन्तुलन कायम गर्न जनचेतना फैलाउने र स्थानीय स्वास्थ्य सूचना प्रणालीलाई केन्द्रीय सूचना प्रणालीसँग आवद्ध गर्ने एमालेको प्रतिबद्धता छ ।

 

कांग्रेसको घोषणापत्रमा के छ ?

‘सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली,
घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी !’

भन्ने नाराका साथ नेपाली कांग्रेसले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारको एजेण्डा अघि सारेको छ । संविधानले स्थानीय सरकारलाई प्रत्याभूत गरेको स्वास्थ्यको अधिकार कार्यान्वयन गर्दै ’निःशुल्क आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय सेवामा सहज र समतामूलक पहुँच सुनिश्चित गर्ने कांग्रेसको प्रतिबद्धता छ ।

स्थानीय तहले विनियोजन गर्ने स्रोतबाट स्वास्थ्य क्षेत्रको बजेटलाई कम्तीमा १० प्रतिशत पुर्याएर जनस्वास्थ्यमा लगानी गर्ने कांग्रेसको प्रतिबद्धता छ । जनसंख्या, भूगोल, विद्यमान स्वास्थ्य संस्था, अवस्था, पहुँच र गुणस्तर, उमेर समुहका आधारमा रोगको भार र सूचक हेरेर स्थानीय स्वास्थ्य प्रणालीको विकास लगायतका कार्य गरी स्थानीय स्वास्थ्य प्रणालीको विकास र सबलीकरण गर्नै कांग्रेसको प्रतिबद्धता छ ।

यस्तै कांग्रेसले सबै नागरिकको स्वास्थ्य बिमा गर्ने र कानूनद्वारा सुनिश्चित स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता गरेको छ । जस अन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंसेविका, अति विपन्न, दलित, एकल महिला, अति अशक्त र अपाङ्गता भएका व्यक्तिको निःशुल्क बिमा गर्ने कांग्रेसको प्रतिबद्धता छ ।

सुत्केरी महिलालाई ’५ हजार सुत्केरी सहायता भत्ता’ लगायतका प्रतिबद्धतासहित मातृशिशु स्वास्थ्य र पोषणमा उल्लेख्य सुधार गर्ने कांग्रेसको चुनावी बाचा छ ।

६० वर्ष माथिका नागरिक, गर्भवती महिला, दीर्घ रोग भएका, अपाङ्गता भएका र स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसकेका व्यक्तिलाई नियमित परीक्षण, परामर्श, औषधी र उपचारसहित घरमै स्वास्थ्य सेवालगायतका कार्यसहित ‘स्वस्थ्य नागरिक – घरमै स्वास्थ्य सेवा’ कांग्रेसको अर्को प्रतिबद्धता छ ।

सहज र सुलभ गुणस्तरीय औषधी, आकस्मिक र आपतकालीन स्वास्थ्य, जनशक्ति उत्पादन, व्यवस्थापन तथा साझेदारी, मानसिक स्वास्थ्य एवं मदिरा, सुर्तिजन्य पदार्थ, लागुपदार्थ, नियमन र नियन्त्रण गर्ने लगायतका कांग्रेसका प्रतिबद्धता छन् । 

यसका लागि साझा अधिकार अन्तर्गत बनाउनुपर्ने स्वास्थ्य सम्बन्धी कानून, संरचना, मापदण्ड, कर्मचारी समायोजन र व्यवस्थापन एक वर्षभित्र पुर्याउने लगायतका दायित्व संघ र प्रदेश सरकारको रहने उक्त घोषणापत्रमा उल्लेख छ ।

नेकपा एकीकृत समाजवादी (एस) को घोषणा पत्रमा स्वास्थ्य योजना

‘जनताको अधिकार – निःशुल्क स्वास्थ्योपचार’ भन्ने नाराका साथ नेकपा एसले पनि स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गर्ने योजना घोषणा पत्रमा उल्लेख गरेको छ ।

स्थानीय सरकारको बजेटको एक नम्बर प्राथमिकतामा स्वास्थ्य उपचारलाई राखिने, रोग लागेर उपचार भन्दा रोग लाग्न नदिने जनस्वास्थ्यका मापदण्ड लागु गर्ने काम स्थानीय सरकारले प्राथमिकताका साथ गर्ने र यसका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन र साधन–स्रोतको वितरणमा संघ र प्रदेश सरकारहरूसँग सहकार्य गर्ने नेकपा एसको प्रतिबद्धता छ ।

जटिल खालका शल्यक्रियाहरू (जस्तै– मुटु , मृगौला, कलेजो, फोक्सो र टाउकोको भित्री शल्यक्रिया) बाहेकका उपचारहरू स्थानीय अस्पतालबाट निःशुल्क रूपमा उपलब्ध गराउने, स्वास्थ्योपचार सम्बन्धी स्थानीय ज्ञान र सिपको संरक्षण गर्ने र स्थानीय स्तरमा आधुनिक स्वास्थ्य सेवा पुर्याउने, पालिकास्तरमा विशेषज्ञ चिकित्सकलाई आकर्षित गर्नका लागि स्थानीय सरकारले आकर्षक प्याकेजको व्यवस्था गर्ने, जनताको सहज स्वास्थ्य उपचारका लागि घुम्ती स्वास्थ्य शिविर, मोबाइल नर्सिब, टेली मेडिसिनका साथै टोल टोलमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरी औषधि र जनशक्तिको उचित व्यवस्था गर्ने नेकपा एसको प्रतिबद्धता छ ।

यसबाहेक सबै पालिकामा अनिवार्य रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने, स्वास्थ्य स्वयंसेविका र ग्रामीण स्वास्थ्य कार्यकर्तालाई आवश्यक तालिम तथा प्रोत्साहन भत्ताको व्यवस्था गर्ने, स्वास्थ्य बिमालाई सहज र सुलभ बनाउने, अस्पताललगायत स्वास्थ्य संस्थाहरूको स्तरोन्नति, साधन स्रोत र जनशक्तियुक्त बनाउने र बौद्धिक अपाङ्कता भएकाहरूको उपचार र आवश्यक सहयोगको व्यवस्था गर्ने नेकपा एसको प्रतिबद्धता छ ।

जनता समाजवादी पार्टी (जसपा) को यस्तो छ प्रतिबद्धता

हरेक गाउँपालिकाहरूका केन्द्रमा कम्तीमा विशेषज्ञ सेवा सहितको एउटा स्वास्थ्य संस्था खोल्ने,  वास्थ्य प्रयोगशालाको व्यवस्था गर्ने रप्रत्येक पालिकामा गर्भवती महिलाहरूका लागि वर्थीब सेन्टर स्थापना गर्ने जसपाको प्रतिबद्धता छ । 

गाउँपालिका र नगरपालिकाका प्रत्येक वार्डहरूमा एक जना चिकित्सक सेवा सहितको स्वास्थ्य चौकी सञ्चालन गर्ने, स्वास्थ्य चौकी वा केन्द्रहरूको भौतिक पूर्वाधार र जनशक्तिलाई सकेसम्म एउटै मापदण्डमा सञ्चालन गर्ने, नगर, उपमहानगर तथा महानगरपालिकाहरूमा जनसंख्याको अनुपातमा कम्तीमा क्रमशः पाँच–पन्ध्र बहु विशेषज्ञ सेवा सुविधा सहितको अस्पताल स्थापना गर्ने जसपाको प्रतिबद्धता छ ।

यस्तै, पाँच वर्षभित्र सबै स्तरका पालिकाहरूका नागरिकको स्वास्थ्य बिमा गर्ने,  अति विपन्न वर्गहरूको हकमा त्यस्तो बिमा शुल्क (प्रिमियम) स्थानीय तहले दिने र युवा तथा लैङ्गिक मैत्री यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा सचेतना सञ्चालन गर्ने जसपाका प्रतिबद्धता छन् ।

राप्रपाको यस्तो छ योजना

स्थानीय तहको निर्वाचनका लागि राप्रपाले जारी गरेको घोषणा पत्रमा सबै नागरिकलाई अनिवार्य एवं निशुल्क स्वास्थ्य बिमा गराउने उल्लेख छ । हरेक वडामा स्वास्थ्य चौकी र  निःशुल्क गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा, सुनिश्चित बाल स्वास्थ्य र पोषण कार्यक्रम, प्रत्येक वडामा प्रसुती सेवा र निम्न आय भएका सुत्केरी महिलालाई तीन महिनासम्म मासिक ३ हजार भत्ता दिने राप्रपाको प्रतिबद्धता छ ।

स्थानीय महिला स्वास्थ्य स्वयंमसेविकालाई प्रोत्साहन भत्ता, सिक्कलसेल र एनेमियाको बिरामीको निःशुल्क उपचार गर्ने र क्यान्सर, मृगौला र मेरुदण्डका बिरामीलाई मासिक भत्ता दिने प्रतिबद्धता गरेको छ ।

यस्तै प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप र प्रत्येक स्थानीय तहमा न्युनतम एक सुलभ औषधि पसल स्थापना गर्ने राप्रपाको प्रतिबद्धता छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ