arrow

कति  यथार्थपरक छन् राजावादीदेखि समाजवादीका घोषणापत्र ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
madhav-upendra-rajendra.jpg

काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावलाई लक्षित गरी राजनीतिक दलहरुले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले आफ्नो चुनावी घोषणा पत्र जारी गरिसकेका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा मात्रै हैन यसअघिको स्थानीय एवं संघीय निर्वाचनमा समेत नेताहरुले प्रतिवद्धता गर्ने तर पूरा नगर्ने कुरालाई जनताले सहज मान्दै आएका छन् । यहाँसम्मकी घोषणापत्र भनेको चुनाव जित्न मात्रै हो, त्यो अनुसारको काम नगरे पनि हुन्छ भन्ने किसिमको आम मनस्थिति नै बनिसकेको छ ।

यसपटकको स्थानीय निर्वाचनका लागि राप्रपा, जसपा र नेकपा एसले केही यर्थाथपरक र केही भने भाषणमै सीमित रहने किसिमका प्रतिवद्धता गरेका छन् ।

कुन क्षेत्रमा कसका के छन् प्रतिवद्धता

शिक्षा

शिक्षा क्षेत्रमा नयाँ र उल्लेख्य सुधारका नीति भने राप्रपा, जसपा र नेकपा एस कसैले पनि ल्याएको देखिँदैन । राप्रपा र जसपाले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने प्रतिवद्धता गरेका छन् । यस्तै दुवै दलले विद्यालयमा अनिवार्य रुपमा कम्प्युटर शिक्षाको व्यवस्था गरिने प्रतिवद्धता गरेका छन् ।

राप्रपा र नेकपा एसको विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड निःशुल्क रुपमा वितरण गर्ने प्रतिवद्धता भने समान छ । यस्तै यी दुई दलको अर्को समान प्रतिवद्धता भनेको प्रत्येक स्थानीय तहमा एक प्राविधिक विद्यालय बनाउने छ ।

राप्रपाले अलि भिन्न भनेको गरिब र अल्पसंख्यक वर्षबाट प्रत्येक वर्ष एक स्थानीय तहबाट एक जनालाई छात्रवृत्तिमा एमबीबीएस र एक जनालाई इन्जिनियरिङ पढाउने प्रतिवद्धता गरेको छ ।

जसपाले विद्यालय र घरवस्तीको दूरी १ घण्टाभन्दा बढी भएका विद्यार्थीहरूका लागि विद्यालय हाताभित्रै होस्टल निर्माण गर्ने प्रतिवद्धता गरेको छ । विद्यालय उमेरका विद्यार्थीहरुलाई गाउँमै होस्टलमा राख्न मिल्ने व्यवस्था गरिसक्ने किसिमको क्षमता र अहिलेको परिवेशमा यो यर्थाथपरक भने देखिँदैन । यस्तै स्थानीय तहहरूले शिक्षामा शुरूमा कूल बजेटको १० प्रतिशतसम्म लगानी गर्ने प्रतिवद्धा जसपाको छ ।

नेकपा एसले ल्याएको फरक किसिमको प्रतिवद्धता भनेको पालिकाले चाहेको विषयमा सो पालिकाका नागरिकले विद्यावारिधि गर्न चाहेमा सम्बन्धित शोधार्थीलाई एकपटकका लागि एकमुष्ठ रु दुई लाख छात्रवृत्ति दिएर सहयोग गर्ने भन्ने छ ।

स्वास्थ्य

स्वास्थ्य क्षेत्रमा राप्रपा र जसपाको समान प्रतिवद्धता भनेको हरेक वडामा स्वास्थ्य चौकी स्थापना गर्ने भन्ने छ । राप्रपाले सबै नागरिकको अनिवार्य र निःशुल्क स्वास्थ्य विमा भनेको छ । शुल्क बुझाएको विमा भुक्तानी पाउन मुस्किल भइरहेका बेला सबै नागरिककको निःशुल्क स्वास्थ्य बिमाको प्रतिवद्धता भने अपच हुनसक्छ ।

राप्रपाले सिक्कलसेल र एनेमियाको बिरामीको निःशुल्क उपचार गर्ने र क्यान्सर मृगौला र मेरुदण्डका बिरामीलाई मासिक भत्ता र निम्न आय भएका महिलालाई ३ महिनासम्म ३ हजार मासिक सुत्केरी भत्ता दिने राम्रा प्रछिवद्धता भने गरेको छ ।

नेकपा एसले त बजेटको एक नम्बर प्राथमिकता नै स्वास्थ्य भन्दै मुटु, मृगौला, कलेजो, फोक्सो र टाउकोको भित्री शल्यक्रिया बाहेकका उपचार निःशुल्क गर्ने प्रतिवद्धता गरेको छ । नेकपा एसले पालिकास्तरमा विशेषज्ञ चिकित्सता सेवा र टोल टोलमा स्वास्थ्य चौकी बनाउने प्रतिवद्धा गरेको छ । यस्तै नेकपा एसले सबै पालिकामा अनिवार्य रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराइउने प्रतिवद्धता पनि गरेको छ ।

कृषि 

कृषि क्षेत्रमा एक वडा एक उत्पादनको अवधारणा अघि सार्ने राप्रपाको प्रटिवद्धता छ । बजार र मुल्य सुनिश्चितताका लागि थोक तथा हाट बजारको विस्तार र व्यवस्थापन नर्गे राप्रपाको प्रतिवद्धता छ । कृषि जन्य उत्पादन र बिउ बिजनको  प्रबद्र्धनमा जोड दिनेलगायतका राप्रपाका प्रतिवद्धता छन् । लिफ्ट सिँचाई, किसानको खेतमा बिजुली, बालीनाली क्षतिको क्षतिपूर्तिदेखि गाई भैंसीको सुत्केरी भत्ता दिने राप्रपाका प्रतिवद्धता छन् ।

राप्रपाले कृषि आुनिकिकरण र यान्त्रिकरण गर्ने, किसानहरूलाई सहकारीमा संगठित गराएर व्यवसायिक खेती गर्ने र कृषिजन्य कारखाना खोल्न चाहनेलाई वित्तीय संस्थावाट ५ करोडसम्म लिएको ऋणको ५ प्रतिशत भन्दा बढीको ब्याज रकम अनुदानको रूपमा उपलब्ध गराउने प्रतिवद्धता गरेको छ । सन् २०३० सम्म लागु हुने गरी व्यवसायिक कृषिमा काम गर्ने व्यक्तिको न्यूनतम तलब तोक्ने र तलब तथा उद्यमीहरूको खूद नाफाको १० प्रतिशत रकममा सरकारले १० प्रतिशत थप गरी एकमुष्ट उपदान दिने व्यवस्था गर्ने प्रतिवद्धता गरेको छ ।

किसानहरूको उत्पादनको मूल्य कायम र उत्पादन खेर जाने स्थितिमा पालिकाले नै खरिद गरिदिने नेकपा एसको प्रतिवद्धता छ । हरेक पालिकामा माटो परीक्षण प्रयोग शाला र खेत बाँझो राख्न नपाउने नीति ल्याउने नेकपा एसको प्रतिवद्धता छ ।

कर

राप्रपाले ५० प्रतिशत कर कटौती गरेर न्युनतम करको व्यवस्था गर्ने भनेको छ । अर्कातर्फ रोजिारमूलक उद्योग निमार्ण गर्नेलाई पूर्वाधार निमार्णमा सहयोग र १० वर्षसम्म कर छुट गर्ने राप्रपाको प्रतिवद्धता छ । यस्तै महिलाद्वारा सञ्चालित साना तथा लघु उद्योगमा १२ वर्षसम्म कर छुट दिनेसमेत राप्रपको प्रतिवद्धता छ ।

जसपाले चालु खर्च कम र मितव्ययी गर्ने, पुँजीगत लगानी अभिबृद्धि गर्ने नीति लिने प्रतिवद्धता गरेको छ । स्रोतसाधन परिचालन गर्दा करका दरहरू कम गर्ने र दायरा वृद्धि गर्ने नीति लिने कुरा उल्लेख गरेको छ ।

नेकपा एसले जनताले विभिन्न कामको सिफारिस सन्दर्भमा पालिकाबाट लिने गरिएका शुल्कलाई न्युनतम सीमामा झारिने र अनावश्यक करको बोझको अनुभूति नहुने व्यवस्था गर्ने नेकपा एसको भनाइ छ ।

सुशासन

सुशासनका क्षेत्रमा राप्रपाले भ्रष्टाचारमुक्त स्थानीय तह, निष्पक्ष र छिटोछरितो सेवा र चुनाव जितेको ६ महिनामा विपन्नको पहिचान गर्ने र स्थानीय ऐनहरु निमार्ण एवं परिमार्जन गर्ने भनेको छ । 

यस मामिलामा जसपाले कार्यालयहरूलाई सेवाग्राहीमैत्री बनाइने, जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान र सेवाग्राहीले वडा तथा पालिका केन्द्रसम्म आइपुग्न घण्टा बढीको पैदल यात्रा गर्नु पर्ने भए जन्म, मृत्यु, विवाह दर्ताजस्ता आधारभूत सेवा प्राप्त सुचनाका आधारमा घरघरमा गएर दिइने जस्ता प्रतिवद्धता गरेको छ ।

नेकपा एसले भने स्थानीय तहको निर्वाचनमा उमेद्वारी दाखिला गरेकै दिन आफ्ना उम्मेदवारको सम्पत्ती विवरण सार्वजनिक गर्ने प्रतिवद्धता गरेको छ । ‘भ्रष्टाचारविहीन स्थानीय सरकार, भ्रष्टाचारमुक्त नेपाली समाजको नारासहित भ्रष्टाचार, घुसखोरी, कमिसनखोरी, अनियमितता, सरकारी काममा ढिलासुस्ती आदि कडाइका साथ नियन्त्रण गर्ने नेकपा एसको प्रतिवद्धता छ । यस्तै स्थानीय सरकारहरूले हरेक वर्ष जनताको घरदैलोमा गुनासोका लागि रिपोर्ट कार्ड वितरण गर्ने र सो अनुसार सुनुवाई गर्ने प्रतिवद्धता गरेको छ ।

अन्य

राप्रपा भन्दा जसपा र जसपा भन्दा नेकपा एसका चुनावी प्रतिवद्धताले भ्याएजतिका मुद्दाहरु समावेश गर्न खोजेको देखिन्छ । तथापि स्थानीय तहको विकास र समाजको समृद्धका लागि केही प्रतिवद्धताहरु प्रभावकारी देखिए पनि तीनको कार्यान्वयन सहजै हुनसक्नेमा विश्वास भने गर्न सकिने स्थिति छैन ।

राप्रपाले सुशासन, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, खानेपानी, कर व्यवस्था, युवा तथा खेलकुद र भौतिक संरचना, समाज, महिला एवं रोजगारलाई प्रमुख एजेण्डा बनाएको छ ।

जसपाले सुशासन,लगानीका स्रोत, भौतिक पूर्वाधार निर्माण,स्थानीय अर्थतन्त्र निर्माण, वातावरण, स्थानीय लोकतन्त्र र सामाजिक जागरण सम्बन्धि नीति निमार्ण गर्ने मुद्दाहरु अघि सारेको छ । 

यसमा जसपाले भौतिक पूर्वाधारका विकास, सिंचाइ, सहरीकरण, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्र, कृषि र पशुपालन, पर्यटन, औद्योगिक विकास, सेवा क्षेत्र, सूचना र सञ्चार, बाल अधिकार संरक्षण, युवा जनशक्ति विकास कार्यक्रमहरू, जेष्ठ नागरिक, घरपरिवार स्तरीय कार्यक्रम, समावेशी विकास, महिला उत्थान कार्यक्रम लगायतका एजेण्डाहरु अघि सारेको छ ।

नेकपा एसले निःशुल्क स्वास्थ्य, शिक्षामा सुधार, निःशुल्क खानेपानी, २०० युनिट निःशुल्क बिजुली, संरक्षित कृषिबजार, घरेलु तथा ग्रामीण उद्योग,उद्यमशीलता विकासका लागि विशेष योजना, पालिकामा युवा विभाग, हरेक वार्डमा खेल मैदान, खेलाडीहरूलाई सम्मान र पुरस्कार, हरेक वार्डमा बगैँचा (पार्क) बनाऔँ, फलफूलका विरुवाले सडक सजाऔँ, हरेक पालिकामा सुविधासम्पन्न पुस्तकालय, फोहर बन्ने छ मोहर, सडक सञ्जाल, जातीय छुवाछुत मेटाऔँ, सामाजिक विकासका लागि साहित्य, कला र संस्कृति, बालबालिका विशेष कार्यक्रम, ज्येष्ठ नागरिकको सम्मान, महिलाको हित, तेस्रो लिब्गी र अल्पसब्ख्यकको हकहित, अपांगता भएका व्यक्तिको हकहित, भूतपूर्व सैनिक तथा प्रहरीको सम्मान, श्रमिकहरूको वर्गीय तथा पेसागत हकहित, श्रम विभाग गठन, वैदेशिक रोजगारीमा गएका श्रमिकलगायतका मुद्दाहरु उठाएर यी क्षेत्रमा अनेकौं उल्लेख्य सुधार नर्गे प्रतिवद्धता गरेको छ ।

एजेण्डा कागजमै सीमित

पाँच पन्ने राप्रपा, २० पन्ने जसपा र ४८ पन्ने नेकपा एसको चुनावी घोाषणापत्र छ । ठूलो घोषणापत्र हुनेले उत्तिकै ठूला प्रतिवद्धता गरेका छन् ।

तथापि विगतका कयौं चुनावी घोषणापत्रहरुमाथि जनताको आक्रोश छ । कार्यान्वयन हुन नसकेमा यी चुनावी घोषणा पत्रमा उल्लेख भएका कुराहरु पनि कागजमै सीमित रहने बढी सम्भावना देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ