- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
देशमा बहुदलीय व्यवस्थाको पुनःबहाली भएको बत्तीस वर्ष, गणतन्त्र आएको चौध वर्ष र नयाँ संविधान बनेको पनि सात वर्ष भइसकेको छ । प्रजातन्त्र आएको ३२ वर्ष भनेको थोरै होइन । मानिसको जीवनसँग तुलना नै गर्ने हो भने एउटा परिपक्व र जीवनको एउटा गति र स्थिति लिइसकेको उमेर पनि हो ।
आफ्नो खुट्टामा आफैं उभिने उमेर हो । वर्षौँसम्म लडेर ल्याएको प्रजातन्त्रलाई हामीले कहिलेसम्म बालकै र अपरिपक्व मानिरहने । यो महत्वपूर्ण सवाल हो । यसलाई परिपक्व बनाउन नसक्नुमा हाम्रै दोष होइन र ? यसमा जनताको, दलको, जनप्रतिनिधिको, राज्यको वा राज्यका विभिन्न निकायको वा बाहिरको ककसको भूमिका छ, सबैले आत्मालोचना गर्नुपर्छ ।
यो दोष मात्रा अनुसार धेरै थोरै सबैको छ । लोकतन्त्र बलियो हुन सकेन, राजनीतिमा अस्थिरता आयो, राजनीतिक दलले देशलाई खत्तम पारे भनेर कहिलेसम्म गीत गाइरहने । के दलले मात्र प्रजातन्त्रलाई बलियो बनाउन नसकेका हुन् र । यसमा आम नेपाली जनताको पनि महत्वपूर्ण भूमिका रहेको छ । अब दल वा दलका प्रतिनिधिलाई गाली गरेर निकास आउन सक्दैन ।
किनकि धेरै गाली गरिसकियो । सधैभरि देशको अवस्था जे को त्यही हुँदा आफ्नो कमजोरी खोज्ने र खोतल्ने अवस्था आएको देखिन्छ । जनता पनि आफ्नो मात्रा अनुसार सच्चिनु पर्ने भएको छ । दल वा जनप्रतिनिधि बनाउने भनेका तिनै जनता हुन् । जनताले पटक–पटक असफल भएको दल वा दलको नेतालाई निर्वाचित गरिरहेका छन् । पटक पटक परीक्षणबाट असफल भएको नै पुनः असफल भएको हो । धेरै पटक असफल भएकोलाई रोज्नु भनेको जनता नै असक्षम र असफल हुनु हो ।
देशमा आज बारम्बार सुनिने शब्द भनेको विकृति, विसंगति, भ्रष्टाचार, अनियमितता बढ्यो भन्ने हो । देशलाई राजनीतिक दलहरूले सके, भ्रष्टाचारको महाजालो बुने र देशलाई ध्वस्त नै बनाए भनेर सरापिएको छ । देशमा दल वा जनप्रतिनिधिलाई समर्थन गर्ने वा चयन गर्ने भनेका जनता हुन् ।
जनताले अब जनप्रतिनिधि वा दललाई दोष लगाएर उम्कने अवस्था छैन । प्रजातन्त्रको पुनः बहाली भएको तीन दशक बित्दा धेरै पटक निर्वाचन भयो । दल वा जनप्रतिनिधिलाई बारम्बार रोजियो । दलको पछि लाग्दा वा कुनै जनप्रतिनिधि चयन गर्दा कसरी गरिएको थियो त्यसलाई समीक्षा गरी दोषी को भनेर निर्क्यौल गर्नुपर्ने अवस्था आएको छ । प्रजातान्त्रिक व्यवस्थामा धेरै वर्ष बिताइयो । अनुभव धेरै गरियो । पटक पटक निर्वाचनमा सहभागी पनि भइयो, अधिकांश दलहरूको सरकार पनि हेरियो ।
यस्तो अवस्थामा अब बारम्बार दललाई सत्तोसराप गर्ने कि जनता पनि सच्चिने भन्ने बारेमा महत्वपूर्ण बहस गरिनु पर्ने अवस्था आएको देखिन्छ । अर्कोलाई दोष लगाउन सजिलो छ तर आफ्नो भूमिका कस्तो रह्यो भनेर पनि आकलन गरिनुपर्छ । जनता पनि भेंडो जस्तै बनी दलहरूको पछिपछि लाग्नाले दलहरूमा उन्मत्त आएको पनि हुन सक्छ । यसमा आम नेपाली जनताले समीक्षा र आत्मालोचना गर्ने बेला आएको देखिन्छ ।
राजनीतिक दलहरूलाई जनताले आँखा चिम्लेर विश्वास गर्दा नै दलहरूमा धेरै गैरजिम्मेवारपन देखा परी विकृति आएको देखिन्छ । एकपटक एउटा दललाई समर्थन गरेपछि सधैंभरि त्यसैको पछाडि लागिरहने प्रवृत्ति जनताको कमजोरी हो । आफूले जुन दललाई समर्थन गरियो त्यो दलले जतिसुकै गलत काम गरे पनि विरोध गर्न नसक्नु नै ठूलो कमजोरी हो । जब ठीकलाई ठीक र बेठीकलाई बेठीक भनी आलोचना र विद्रोह गर्न सकिन्न अनि त्यहीँबाट अनियमितता र भ्रष्टाचार शुरु हुन्छ । आफूले समर्थन गरेको दलले गलत गर्दा गलत भनेर अर्को राम्रो दललाई रोज्न पनि सक्नुपर्छ अनिमात्र प्रजातन्त्र बलियो हुन्छ र दलहरू पनि सुध्रिने मौका पाउँछन् ।
नेपालका केही दुर्गम ठाउँ बाहेक अधिकांश ठाउँमा बसोबास गर्ने मानिसहरूमा शिक्षा र चेतना आइसकेको अवस्था छ । अब सुगमदेखि दुर्गम र शिक्षितदेखि अशिक्षित सबैले जनप्रतिनिधिलाई मात्र गाली गरेर सुहाउँदैन । मतदाता नै पैसा वा कुनै स्वार्थमा परेर भोट हाल्ने अनि विकास भएन भनेर गाली गर्ने परिपाटीले ‘काग कराउँदै जान्छ पिना सुक्दै जान्छ’ भने जस्तै हुन्छ ।
जनता नै पैसामा बिक्री भएपछि त जनप्रतिनिधिले लापरबाही र अनियमितता गर्ने नै भए । जनप्रतिनिधिले सोचेको हुन्छ कि मैले पाएको मत पैसासँग साटेर ल्याएको हुँ । यस्ता जनप्रतिनिधिले पदलाई पेशाको रुपमा लिन्छ र कमाउने धन्दातिर लाग्छ । कुनै उम्मेदवारले साम, दाम, दण्ड, भेद जसरी भए पनि निर्वाचन जित्न खोज्छ त्यस्तो अवस्थामा जनता कत्ति पनि बिक्री नहुने हो भने कम खर्चमा स्वच्छ निर्वाचन हुन्छ ।
निर्वाचनमा पैसाको अत्यधिक खर्च गर्ने परिपाटीले एउटा इमानदार व्यक्ति उम्मेदवार हुन सक्दैन । किनकि ऊसँग लाखौं खर्च गर्ने सामर्थ्य नै हुँदैन । जसले गर्दा राजनीतिमा पैसावालाको बोलवाला हुन्छ र निर्वाचनमा पैसाको जित हार हुन्छ । निर्वाचनको बेला दुई चार हजार रुपैयाँ, दुईचार चोक्टा मासु र दुईचार बोतल रक्सीको आश नगर्ने हो भने धेरै पैसा खर्च पनि हुँदैन । इमान्दार कार्यकर्ताले जित्छ र भ्रष्टाचार पनि हुँदैन । विकास हुन्छ ।
त्यसकारण भ्रष्टाचारको मूल जरो नै भोटको किनबेचबाट शुरु हुन्छ । जब हामीले स्वनिर्णय गरी विवेकसम्मत तरिकाले मताधिकार प्रयोग गर्छौं त्यसपछि भ्रष्टाचार हुँदैन अथवा भ्रष्टाचारी त्यो पदमा चुनिन सक्दैन ।
हामीले धेरै पटक निर्वाचनको अभ्यास गरिसकेको अवस्था भएकाले मतदाताहरू अब परिपक्व हुनुपर्छ । आज थोरै लोभ वा स्वार्थमा पर्दा हाम्रो जीवन नै चौपट हुनसक्छ । देशलाई यस्तै अस्थिर बनाउँदै जाँदा भित्री बाहिरी चलखेल हुन्छन् र व्यवस्थामा नै धक्का लाग्न सक्छ ।
चुनावमा दुई चार लाखको आशमा दुई चार करोड नै झ्वाम हुन सक्छ । जब जनप्रतिनिधिले खर्च गरेरै चुनाव जित्छ भने उसको ध्यान कमाउनैतिर गएको हुन्छ । ऊ जनताको सेवा गर्नतिर लाग्दैन । आज जनताको चेतनाको स्तर माथि हुँदा हुँदै पनि बिक्री भएको अवस्था देखिएको छ । अनि यस्तोमा कसलाई दोष दिने ?
देशको राजधानी लगायत प्रमुख शहरका मतदाताहरू आर्थिक प्रलोभनमा परी बिक्री हुनु दुर्भाग्य हो । शिक्षित मतदाताहरू पैसामा बिक्री हुन्छन् भने अरुलाई के भन्नु ? यो अत्यन्तै घृणास्पद कार्य हो । शिक्षित र चेतनशील वर्ग नै भोटको किनबेचमा संलग्न हुन्छ भने अरु कसलाई दोष लगाएर उम्कन सकिन्छ र ।
नेपालका कतिपय ठाउँहरूमा जनतामा चेतनाको कमी वा बेरोजगारीका कारण चुनावमा आर्थिक चलखेल हुन्छ भन्दा केही स्वभाविकै मान्न सकिएला । किनकि बेरोजगारी वा दयनीय आर्थिक अवस्था भएकाहरूलाई कसैले दुईचार पैसा दियो भने पनि दुई चार छाक टार्न सजिलो हुन्छ । चुनावकै निहुँमा दुई चार छाक मिठो मसिनो खान पाइन्छ भन्ने पनि छ ।
निर्वाचनको बेला भोटको अत्यधिक खरिद बिक्री हुने भनेको दीन, दुःखी, गरिब, असहाय, बेरोजगारी भएको ठाउँमा पनि हो । यसरी यस्तो किसिमका मतदातालाई बिक्री हुनबाट जोगाउने प्रमुख दायित्व भनेको राज्य नै हो । निर्वाचन आयोगले समय समयमा यस्ता गाउँ बस्तीमा गई निर्वाचनको महत्वका बारेमा निर्वाचन शिक्षा दिनुपर्छ । जब जनतामा चेतना जागृत हुन्छ तब बिक्री हुनबाट जोगिन्छ ।
खासगरी स्थानीय तहको निर्वाचनमा दल दल भन्दै हिंड्नु भन्दा त्यागी र इमान्दार जनप्रतिनिधिलाई चयन गरिनुपर्छ । आफ्नो पालिका वा वडामा जुनसुकै पार्टीको भए पनि हाम्रो भन्दा राम्रोलाई निर्वाचित गरिनुपर्छ । स्थानीय जनप्रतिनिधि भनेका आफ्नो दैनिकीसँग जोडिएको हुनाले स्वच्छ मन भएको त्यागीलाई रोज्नुपर्छ । कहिले पार्टीको पछि लाग्दा राम्रो मान्छे गुमाउनु पर्छ त्यसैले जुनसुकै पार्टीको होस् राम्रोलाई अवसर दिनुपर्छ ।
लोकतन्त्रलाई बलियो बनाउनु भनेको आम नागरिक पनि बलियो हुनु हो । जहिलेसम्म जनता चुप लाएर बसिन्छ वा अन्धभक्त भइन्छ त्यहिलेसम्म भ्रष्टाचार र अनियमितता रहिरहन्छ । देशमा नयाँ संविधान आयो । थुप्रै कानून बने तर कानूनी राज्य बन्न सकेको छैन । अबको प्रमुख चुनौती भनेको कानूनी राज्य बनाउनु नै हो । जब जनता सचेत हुन्छन्, अन्धभक्त भएर कसैका पछि लाग्दैनन्, त्यसपछि सुशासन हुन्छ ।
देश बिग्रन एउटाको मात्र कमजोरी पक्कै होइन । जनताले पनि पुराना गल्ती अब दोहोर्याउनु हुँदैन । अब नजिकै आइरहेको निर्वाचनमा सज्जन र इमान्दार जनप्रतिनिधिलाई रोज्नु पर्छ । यसपालिदेखि पटक्कै गल्ती गर्नु हुँदैन । जनताले दल वा जनप्रतिनिधिलाई मात्र दोषी देखाएर उम्कने ठाउँ छैन । (लेखक हाल अमेरिकाको भर्जिनियामा बस्छन्)