- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । पश्चिमको केन्द्र मानिएको बुटवल २०५४ सालयता एमालेको गढ मानिदै आएको छ । एमालेले बुटवलमा निरन्तर चुनाव जित्दै आएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट डा. बाबुराम भट्टराईले एमालेका नेता विष्णु पौडेलसँग हार व्यहोरेका थिए ।
तर अहिले आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एमालेको किल्ला भनेर नामाकरण गरिएको बुटवलमा कसले जित हात पार्ला भनेर विभिन्न अट्कलबाजी हुन थालेको छ । एमालेले सहजै जित्छ भन्ने नभएरै यो अड्कलबाजी थालिएको हो ।
एमालेको शक्तिलाई सत्ताधारी गठबन्धनबाट विरासत जोगाउने जिम्मा नेता भट्टराईकै काँधमा आइपुगेको छ । तर उनलाई आफ्नो पार्टीको शक्तिलाई स्थापित गर्न भने यसपालित्यति सजिलो भने छैन् । गठबन्धन दलबाट मेयर पदका लागि साझा उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डे छन् ।
सरल र सादगी जीवनका नेता खेलराजले ग्रामिणदेखि शहरसम्मका जनतासँग राम्रो सम्बध राखेकाले गठबन्धनबाट मेयरमा पाण्डे नै जित्ने आँकलन गरिएको छ । यता गठबन्धनभित्र पनि कांग्रेसका क्षेत्रीय सभापति हरि लम्सालले मेयरको नाम सिफारिसमा एकलौटी गरेको भन्दै राजीनामा दिएकाले के हुने हो भन्ने शंका पनि हुन थालेको छ ।
एमालेले भने कांग्रेसभित्र असन्तुष्ट पक्षको मत र राष्ट्रिय जनमुक्ति पार्टीसँग गठबन्धन गरेको एमालेले जनमुक्तिका करिब १ हजार २ सय मतले आफ्नो विरासत कायम राख्नेमा केही विश्वस्त भएको एमालेका एक नेताले बताए । उनले आफ्नो पार्टीले गठबन्धनसँग प्रतिस्ष्पर्धामा हार नखाने दाबी गर्दै जित सुनिश्चित रहेको जनाए ।
यता, एमालेबाट छुट्टिएर अर्को पार्टी खोलेका माधवकुमार नेपाल पक्ष सम्मिलित गठबन्धन दलबाट उम्मेदवार बनेका पाण्डेले समाजवादी एसको सहकार्यले एमालेको किल्ला बुटवलको नेतृत्व सहज रुपमा तोड्न सक्ने गठबन्धन पक्षका नेताहरुको भनाइ छ । अघिल्लो निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २ हजार ३ सय ९८ मतले पराजित भएका खेलराज अहिले गठबन्धनको मतसमेत जोडिने र समाजवादी (माधव) पक्षले एमालेको मत काट्ने हुँदा निर्वाचनमा जित हुने दाबी गठबन्धनको छ ।
पहिलो स्थानीय तहको निर्वाचनमा सुवेदीले २३ हजार २ सय ४९ मत ल्याउँदा खेलराजले २० हजार ८ सय ५१ मत ल्याएका थिए । तर अहिले २३ हजार ४ सय २ जना नयाँ मतदाता थपिएका कारण उनीहरुको मत निर्णायक हुने बताइएको छ ।
समाजवादी माधव पक्षले बुटवलमा आफ्नो १० हजारभन्दा बढी मत रहेको बताएको छ । गठबन्धनको तर्फबाट उपप्रमुखमा साझा उम्मेदवार चीनबहादुर गुरुङ बनेका छन् । तर एमालेले भने गठबन्धनलाई मत तान्न नदिने रणनीति अपनाउँदै बुटवलको सबैभन्दा बढी मतदाता रहेको वडा नं ११ सुकुम्वासी क्षेत्रलाई घरदैलोमा विशेष ध्यान दिएको छ । अहिले वडा नं ११ मा मतदाता संख्या १६ हजार २ सय ११ रहेका छन् ।
अघिल्लो निर्वाचनमा एमालेबाट रामचन्द्र क्षेत्री ४ हजार ७ सय मतले विजयी हुँदा प्रतिद्वन्द्वी कांंग्रेसकी सावित्रा टण्डनले १ हजार ८ सय मत प्राप्त गरेकी थिइन् । यसैको अंकगणितले बुटवलको वडा नं ११ एमालेका लागि निर्णायक मत रहने भएकाले बढी चासोका साथ हेरिएको छ ।
एमालेले मात्रै होइन गठबन्धन दलहरुले पनि सो वडामा नजर लगाएका छन् । एमालेका स्थानीय नेता जितबहादुर मल्ल नेपाली कांंग्रेसमा प्रवेश गरेका छन् । उनी वडा नं ११ को वडाध्यक्षमा उठेका छन् । उनीसँग करिब ३ सय बढी व्यक्तिगत मतदाता रहेको गठबन्धनका नेताहरु बताउँछन् ।
को हुन् खेलराज पाण्डे ?
अघिल्लो निर्वाचनमा व्यक्तिगत मत प्राप्त गर्दा मेयरसँगको मतान्तर २ हजार ३ सय ९८ बनाएर हौसिएका पाण्डे बुटवल नगर सभापतिको दोस्रो कार्यकालमा छन् । सरल व्यक्तित्वकै कारण खेलराजले अघिल्लो निर्वाचनमा राम्रो मत प्राप्त गरेको उनका सहकर्मीहरु बताउँछन् ।
खेलराज पार्टी भित्रका एक इमान्दार छवि भएका व्यक्ति हुन् । पैदल यात्रा गरेर राजनीति गर्दै आएका खेलराजको सवारी साधनको नाममा एउटा साइकलसमेत छैन । राजनीतिमा धेरै थोक गुमाएका उनले समाजसेवा बाहेक अरु फाइदा नलिएको उल्लेख छ ।
२०२६ साल फागुन ५ गते स्याङ्जाको साविक आलमदेवी–२ (हाल) कालिगण्डकी–२ मा जन्मिएका पाण्डे अहिले बुटवल उपमहानगरपालिका–८ सुख्खानगरमा घरवहालमा बस्दै आएका छन् ।
पाण्डे २०३८ सालमा बुटवल झरेको बताइएको छ । विद्यार्थी संगठनमा आवद्ध भएर राजनीति शुरु गरेका उनले आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिए ।
पाण्डे २०४० सालमा पाल्पाको जेभिटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आबद्ध भए । त्यसपछि उनले निरन्तर विद्यार्थी संगठन भित्र रहेर काम गरे । उनी २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रुपन्देहीको नेविसंघ सचिव भए ।
को हुन् भट्टराई ?
स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नं ४ बिर्घामा जन्मिएका नेता हुन् बाबुराम भट्टराई । विगतदेखि बुटवलमा बसोबास गर्दै आएका भट्टराई एक औषधि व्यवसायी हुन् ।
उनी पार्टीको संगठनमा एउटा शालिन स्वभाव भएका व्यक्ति हुन् । २०३२ सालदेखि राजनीतिमा लागका उनी लामो समय औषधि व्यवसायमा जोडिएको र पछिल्लो समय बुटवलको मेयर पदमा उम्मेदवारी दिएका छन् ।
२०३६ सालदेखि कम्युनिष्ट पार्टीमा आबद्ध भएका भट्टराई नेपाल औषधि व्यवसायी संघका पूर्व राष्ट्रिय अध्यक्ष भैसकेका छन् । पार्टीको जिल्ला कमिटी सदस्य हुँदै हाल प्रदेश कमिटी सदस्य रहेका भट्टराईले २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएको बताइएको छ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगरसमेत रहेको बुटवललाई एमालेको बलियो संगठन भएको क्षेत्रको रूपमा लिने गरिन्छ । २०६४–२०७० सालमा सम्पन्न संविधान सभा निर्वाचन र २०७४ सालको संघीय निर्वाचनमा पौडेल बुटवलबाटै निर्वाचित हुँदै आएका छन् ।
२०५४ साल यताका हरेक निर्वाचनमा जित हासिल गर्दै आएको एमालेले गठबन्धनका सामु बुटवलको नेतृत्व कुनै पनि अवस्थामा जित्नुपर्ने दबाब र चुनौती मेयरका उम्मेदवार बावुरामलाई छ ।