arrow

दान

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७९ वैशाख २२ बिहिबार
Shivapuri-Baba.jpg

काठमाडौं । श्री शिवपुरी बाबा दानको बारेमा आज्ञा हुन्थ्यो, योग्य सम्झेर मात्र कसैले कसैलाई दान दिनु उपयुक्त हुन्छ नत्र त्यस्तो फल दाताले उल्टै भोग्नुपर्छ । उहाँ आज्ञा पनि हुन्थ्यो, आफ्नो आम्दानीको कम्तीमा पनि दश प्रतिशत दान, तीस प्रतिशत जगेडा र बाँकी साठी प्रतिशतले आफ्नो व्यवहार चलाउनु पर्छ । 

हामीले बचत पनि गर्नै पर्छ किनभने कुन वेलामा के पर्छ, कसलाई थाहा हुन्छ र । आवश्यक परेको वेलामा त्यही बचतबाट काम चलाउन सकिन्छ । दश प्रतिशत दानमा पनि जेहेन्दार विद्यार्थी, शिक्षण संस्था आदिमा केही भाग जानु पर्दछ । दान दिने वेलामा पनि उहाँ आज्ञा हुन्थ्यो, सबभन्दा राम्रो हो खाना खुवाउनु ।

नीतिमा पनि कतै पढ्न पाइन्छ, अन्नदानात् परं दानं विद्यादानमतः परम् । अन्नेन क्ष्णिका तृप्तिर्यावज्जीवं च विद्यया । (जसको भाव हो , अन्न दान गर्नु उत्तम हो भने त्यसभन्दा पनि उत्तम विद्या दान हो । अन्नले केही क्षण मात्र तृप्ति मिल्छ भने विद्या दानले बाचुन्जेल तृप्ति मिल्दछ)। 

अन्न दानको प्रसङ्गमा राजा रत्निदेवको छोटो प्रसङ्ग प्रस्तुत गरिएको छ । राजा रत्निदेव दुष्यन्तको वंशका थिए । उनी न्यायपृय, प्रजारञ्जन राजा थिए । साथै उनी विष्णु भगवान्का परम भक्त पनि थिए । 

संयोगवश उनी र उनका परिवारले ४८ दिनसम्म केही खान पिउन पाएनन् । ४९ औं दिनमा उनीलाई केही अन्न पानी मिल्यो । सबै जना खान बसे । यत्तिकैमा एक जना ब्राह्मण आइपुगे र खाना मागे । उनले ब्राह्मणलाई तृप्ति गराए र ब्राह्मण फर्केर गए । अनि एक शूद्र आइपुगे । 

उनले पनि खाना मागे, राजाले उसको पनि भोक शान्ति गरे । शूद्र फर्केपछि एउटा चाण्डाल केही कुकुर लिएर आयो र खाना माग्यो । उनले खान दिए । खाना सबै सिद्धियो । ब्रह्मा, विष्णु, महेश्वर यी सबै छद्म भेषमा उनको परीक्षाका लागि आएका थिए । उनीहरू राजाको अगाडि प्रकट भए र चाहेको वरदान माग भने । उनले हरि बाहेक केही वरदान मागेनन् । हरिको कृपाले उनको त्रिगुणमयी माया हटेर गयो । 

यसरी त्रिदेवले गरेको परीक्षामा राजा रत्निदेव सफल भए र नारायण परायण भए । 

(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।)

इमेल :aamodita@gmail.com  



नयाँ