arrow

प्रजातन्त्रको भविष्य बचाउन गठबन्धन आवश्यक– प्रम देउवा

logo
नारायण वली,
प्रकाशित २०७९ वैशाख २४ शनिबार
IMG_0301.JPG

रुपन्देही । स्थानीय तहको निर्वाचन आउन अब ५ दिन बाँकी छ । अहिले टोल, गाउँ र शहरमा विभिन्न दलहरुले आ–आफ्ना उम्मेदवारलाई जिताउनका लागि निर्वाचनमुखी प्रचारप्रसारलाई तीव्र पार्दै आएका छन् । यसै क्रममा शनिबार बुटवलमा पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न बुटवल आएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकार र भविष्य बचाउनका लागि राष्ट्रिय आवश्यकता भएकाले पाँच दलीय गठबन्धन गर्न परेको आवश्यकता औंल्याए । 

प्रधानमन्त्री देउवाले देश र जनताको अधिकार सुनिश्चित गर्न गठबन्धनका उम्मेदवारहरुलाई आफ्नो मत दिएर जिताउन आग्रह गरे । उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले देश र जनतालाई ऋणको भार थपेर गएको भन्दै अमेरिकाले दिएको अनुदानले सबैभन्दा धेरै लाभ बुटवल, भैरहवादेखि दाङको लमहीसम्म पूर्वपश्चिम महेन्द्र राजमार्गको स्तरोन्नति हुने बताए । 

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘हामीले समाजवाद बनाउनका लागि नयाँ संविधान निर्माण गर्यौं । तर समाजवाद स्थापना गर्नका निमित्त कोरिएको संविधानलाई तत्कालीन ओली नेतृत्वको सरकारले संविधानको धज्डी उडाउँदै पटक–पटक संसद भंग गरेर निरंकुशता शैलीमा सरकारलाई अस्तव्यस्त बनाएर जनताका भावनालाई सम्बोधन गर्ने सदनलाई समेत अवरुद्ध गरेको पार्टीलाई फेरि पनि जनताले भोट दिएमा त्यो भन्दा दुर्भाग्य केही हुन्न ।’ 

साथै नेता पौडेलले बाहिर चुच्चे नक्सा प्रकाशित गरेर चर्चा बटुल्ने तर मध्यरातमा दरबारभित्र लम्पसार पर्ने यो के हो ? भनी प्रश्न गर्दै नक्कली राष्ट्रवादले गर्दा देश र जनताले दुःख पाएको दाबी गरे । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लोकतान्त्रिक गणतन्त्र नेपालको संरक्षणलगायत सबै क्षेत्रको उत्थानका लागि पाँच दलीय गठबन्धनको आवश्यकतालाई बुझ्न र आफ्नो मत दिन अपील गरे ।

उनले भ्रष्टाचार, सुन र ओम्नी लगायतका काण्डैकाण्डले मुछिएको ओली नेतृत्व सरकारले संसद विघटनसमेत गरेर आमजनताको अधिकार माथि धावा बोलेको साथै धेरै कुरा गर्नेका पछाडि नलाग्न र काम गर्नेको पछि लाग्न सुझाएका थिए । 

कार्यक्रममा बुटवल उपमहागनरपालिकाका मयेर पदका उम्मेदवार खेलराज पाण्डेले आफूले जितेमा नगरपालिकामा नागरिक समस्या लिएर आउन नपर्ने भन्दै नागरिकका घरमा समस्या बुझ्न र हल गर्नका लागि जनताकै घर आँगनमा बसेर सुल्झाउने बताए । 

नागरिकको घर आँगनमा चिया खाएर आफू अहिलेसम्म जनतामुखी राजनीति गर्दै आएको बताउँदै भोलिका दिनमा पनि जनताका समस्यालाई नजिकबाट समाधान गर्न अहोरात्र खट्ने बताएका थिए । 

उनले बुटवलबासीका समस्या धेरै भएको र ती समस्या एमालेका नेताहरुले चुनावका बेला आशा देखाउने तर समस्या हल गर्न नसकेकोप्रति टिप्पणी गर्दै जनतालाई आशा भन्दा काम गरेर देखाउने प्रतिबद्धता जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ