- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । विगत ४ दशक देखि रुपन्देहीमा राजनीति सँगै विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध भएर जिल्ला बासीको सेवामा खटिँदै आएका रामकृष्ण खाँण आसन्न स्थानीय निर्वाचन २०७९ को तिलोत्तमा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । प्रस्तुत छ: उनीसँग स्थानीय निर्वाचनको सेरोफेरोमा रहेर हाम्राकुराकर्मी नारायण वलीले गरेको कुराकानीको अंश ।
तपाईँको जन्म र राजनीतिक यात्रा कहाँबाट शुरु भयो ?
मेरो नाम रामकृष्ण खाँण हो । म २०२२ सालमा रुपन्देहीको मणिग्राममा जन्मिएको हुँ । मेरो बुबा पनि कांग्रेस पार्टीमा सक्रिय रूपमा राजनीतिक गर्नुभएको व्यक्ति हो । २०३५ साल जति वेला मेरो बाल्यकाल थियो, त्यति वेला देखि नै म मेरो बुबा र दाइ बालकृष्ण खाँणको पछि लाग्थे । उहाँहरूकै पछि लाग्दा पञ्चायत विरोधी आन्दोलनमा पनि सरिक भए । अहिले दाइ देशको गृहमन्त्री तथा नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ । २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववीयू इकाईको कोषाध्यक्षको पद सम्हाले । २०५४ सालमा नेपाली कांग्रेस रुपन्देहीको जिल्ला कार्यसमिति सदस्य, २०६६ सालमा जिल्ला सचिव भए । र हाल कांग्रेस रुपन्देहीको जिल्ला सभापति भएको छु ।
तिलोत्तमा नगरपालिका प्रमुखको लागि तपाईँको उम्मेदवारी किन ?
म तिलोत्तमाको स्थानीयवासी हुँ । यही ठाउँमा हुर्किए, पढे, ठूलो भए र विद्यार्थी जीवन वाट राजनीतिमा जोडिए । राजनीतिलाई जीवनको आधा समयसम्म अङ्गाल्दै आएको छु । देशमा धेरै राजनीतिक आरोह अवरोह पश्चात् गणतन्त्र सहितको लोकतन्त्र स्थापना भयो । पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा हुन सफल भयो । शान्ति स्थापना भएपछि देशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पाँच वर्षमा तिलोत्तमा क्षेत्रको हुनुपर्ने जति काम थियो, तर त्यो भएको पाइएन, जनतालाई भ्रम छरेर गरिएको राजनीतिको अन्त्य र सुशासन कायम गर्नका लागि मैले उम्मेदवारी लिएको हुँ ।
यो अवधिमा स्थायी स्थानीय तहको निर्वाचनपछि जनतालाई प्रत्यक्ष लाभ हुने काम हुन सकिनन् । तिलोत्तमाका लागि सङ्घीय सरकारले बनाएको सिद्धार्थ राजमार्ग अन्तर्गत योगिकुटी देखि कोटिहवा सम्मको सडक (हाइवे) सडकलाई मात्रै तिलोत्तमा नगरपालिकाले सरसफाइ गर्ने कार्यले लोकप्रिय नेताको रूपमा प्रचारको ओइरो कमाउने जस्ता काम भए । त्यसैले अव यो सेवकले भन्दा समाजसेवा र भौतिक निर्माणको राजनीति हुनुपर्छ भन्ने मान्यताले तिलोत्तमा नगरपालिकाको प्रमुख पदका लागि मेरो उम्मेदवारी परेको हो ।
नगरपालिकाका समस्या र जनताको मागलाई पहिचान गरिएन । विकासका लागि आएको बजेटको स्रोत खुलेन जसले गर्दा तिलोत्तमा नगरपालिकामा ५० करोड बेरुजु देखियो । त्यो भनेको संस्थागत भ्रष्टाचार मानिन्छ । जनतामुखी भन्दा प्रचारमुखी काम । तथापि ५ वर्षभित्र केही राम्रा काम पनि भए होलान् । तर, उक्त कार्यले नागरिकले अनुभूति गर्न पाएनन् ।
मैले उत्कृष्ट भएर सम्मानित भएको नगरपालिकाको औधी आलोचना गर्न चाहेन, तपाई आफैले महालेखा परीक्षकको तथ्याङ्क हेर्नुहोस्, के कस्ता योजनामा बजेट खर्च भएको छ ? सो विनियोजित कार्य नगरवासीका लागि कतिको महात्वकांक्षी थिए ? न, यहाँ एउटा गतिलो सरकारी अस्पताल छ, भित्री सडकको अवस्था नाजुक छ, सरकारी जग्गा मनपरी बाँडिएको छ । बर्सौँ देखि पुराना घोला, कुलो मासेर खेत बनाइएको छ । नगरभित्रका गाउँमा अझै पनि सडक र खानेपानी जस्ता विकास पुग्न सकेको छैन ।
अहिले घरदैलोमा व्यस्त हुनुहुन्छ, नगरवासीको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिका नागरिकको घरघरमा जाँदा मैले सकारात्मक प्रतिक्रिया पाएको छु । नगरवासीहरूले कांग्रेस र गठबन्धनको उम्मेदवारलाई यसपालि जिताउनुपर्छ, हामी जिताउँछौँ भन्नुहुन्छ । जुन प्रतिक्रियाले हामी चुनावी मैदानमा सफल हुन्छौँ भन्नेमा विश्वास लिएको छु । रुपन्देहीको बुटवल र तिलोत्तमा नेकपा एमालेको गढ मानिन्छ । जहाँ, विगत देखि यस ठाउँमा नेकपा एमालेको नेतृत्वमा सरकार चल्दै आएको छ । स्थानीय देखि सङ्घ सम्म तत्कालीन समयमा एमाले सरकार हुँदा पनि तिलोत्तमामा राम्रो काम गर्न नसकेको पाइएको छ ।
अघिल्लो नगरप्रमुखले जनतासामु गरेका प्रतिबद्धताहरू पूरा गर्न नसकेको पाइएको छ । दुई तिहाइ बहुमत भएको एमाले अध्यक्ष केपी ओली नेतृत्वले ३ वर्ष सरकार स्थिर रूपमा सरकार चलाउन नसकेको र दुई पटकसम्म संसद् विघटन गरेर जनताका समस्या समाधान गर्ने ठाउँ सदन समेत अस्तव्यस्त पारेर जनतालाई निराशा दिलाउन पुग्यो । यसले मुलुकलाई नै अधोगति तर्फ लगेकाले त्यस्ता व्यक्ति र पार्टीलाई सधैभरी काँधमा बोक्न हुन्न भन्ने भनाई पाएका छौ, घरदैलोमा ।
तपाई दोस्रो पटक तिलोत्तमा मेयर पदमा लड्दै हुनुहुन्छ ?अहिले जित्ने आधार के छ ?
म २०७४ पछि दोस्रो पटक चुनावी मैदानमा छु । यसअघि मैले चुनावका क्रममा गरेका वाचा पूरा गर्न मैले चुनाव नजिते पनि प्रयास गरे । जनताका समस्या समाधानका लागि प्रयत्न गरे । नगरपालिकामा जितेर गएका साथीहरूले बजेट बाहेक अरू केही गर्नुभएन । सरकारी स्रोतसाधन वितरणमा पनि न्याय गर्नुभएन । उहाँले तिलोत्तमाका सबै बासिन्दालाई एउटै नजरले हेर्नुभएन । नगरपालिकाको कुर्सीमा बसेर नगरवासीलाई हेर्ने दृष्टिकोण फरक रूपमा पाइयो । जुन नजर एउटै हुनु पर्दथ्यो ।
५ वर्षसम्म हामी प्रतिपक्षमा बस्यौँ । हामीले नगरलाई रचनात्मक सहयोग गरेर सहयोग गर्यौं । राम्रा कुरामा समर्थन पनि गर्यौं । गलत कुराको विरोध गर्यौं । आर्थिक सुशासन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सीप विकास, सञ्चार प्रविधि, युवा खेलकुद, कृषि क्षेत्र, भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग व्यापार तथा पर्यटन, रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेका छौँ । हालको करको दायरालाई घटाउने छौँ । एकीकृत सम्पत्ति करमा ५० प्रतिशत घटाइनेछ । जीर्ण तथा रुग्ण उद्योग व्यवसायले तिर्न बाँकी रहेको बक्यौता करमा ५० प्रतिशत छुट दिने छौँ । अव्यवस्थित तथा सुकुम्वासी बस्तीलाई व्यवस्थित बनाएर ५ वर्ष भित्र सबैलाई लालपुर्जा वितरण गरी तिलोत्तमा नगरको भूमिहीन समस्या पूर्ण रूपमा निवारण गर्ने उद्देश्य पूरा गर्नेछौँ ।
वैदेशिक रोजगारीमा रहेका, नगर भित्रका बैङ्कहरूमा पैसा पठाएमा प्रति १ हजार डलरमा १ हजार थप गरी भुक्तानी दिने व्यवस्था मिलाइने छौँ । जनताबाट उठाएको करले सालिक, गेट, स्तम्भ भ्यू टावर बनाउने र उपहार शुभकामना भोजभतेरमा खर्च गर्न पूर्ण बन्देज लगाइने छौँ । कार्यालयमा आफ्नो काम गराउन आउने नागरिकका लागि सहायता कक्ष र सेवाग्राही विश्राम स्थल बनाइनेछ । नगरमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरिनेछ । तिलोत्तमावासीको नागरिकतालाई स्वास्थ्य सुरक्षा आधारपत्रमानी असहारा स्वास्थ्य सेवा उपलब्ध गराइने र गर्भवती महिला स्याहार सम्भार र पोषण व्यवस्था गरी सुत्केरी भत्ता उपलब्ध गराउँदै तिलोत्तमा नागरिक सस्तो औषधी पसल सञ्चालन गरिने व्यवस्था गर्नेछौँ । यी योजनामा विश्वास गर्दै हामीलाई जनताले मत दिनुहुनेछ र जित हासिल गछौं । भन्ने सोच छ ।
तपाई नेपाली कांग्रेसको रुपन्देही जिल्ला सभापति हुनुहुन्छ । रुपन्देहीको निर्वाचन परिचालन कसरी गरिएको छ ?
सबै नेपाली जनतालाई थाहा छ कि, अहिले मुलुकमा गठबन्धन सरकार छ । यो सरकार बन्नुको कारण पनि जानकारी पाइसकेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान विपरीत प्रतिनिधि सभा विघटन गरेपछि पाँच दल त्यसका विरुद्धमा सर्वोच्च अदालत गए । पाँच दलको सहमतिअनुसार सर्वोच्च सँग केपी ओलीको सरकार अपदस्त गर्दै पाँच दलमध्ये कांँग्रेसका सभापतिको नेतृत्वमा सरकार निर्माणको माग गरिएको थियो । त्यसैअनुसार सर्वोच्चको आदेश आयो र पाँच दलको सरकार बन्यो । अहिले धेरैले अदालतले बनाएको सरकार भनेर प्रचार गर्दै छन् ।
हामीले मुलुक अप्ठ्यारोमा परेको वेला गठबन्धन गराएर सङ्कट वाट मुलुकलाई बचाउन पाँच दल एक ठाउँमा उभियौँ । गठबन्धन दलको चाहनाले भन्दा पनि मुलुकको आवश्यकताले बनेको हो । यस्तो गठबन्धन स्थानीय निर्वाचनमा पनि कायम रहेको छ । केही स्थानमा साथीहरूको चाहना र आवश्यकताले गठबन्धन भन्दा बाहिरबाट पनि मैत्रीपूर्ण रूपमा प्रतिस्पर्धा भएको छ । यसलाई हामीले सहज रूपमै लिएका छौँ । रुपन्देहीमा गठबन्धनले सबैजसो स्थानीय तहमा जित हात पार्छ । कुनै तहमा केही दलहरू एक्लै चुनावमा भए पनि गठबन्धनमै सहभागी दलहरूमध्ये बाटै विजयी हुनेछन् । त्यसमा हामी विश्वस्त छौँ । अर्को, कुरा रुपन्देहीको निर्वाचन परिचालनका लागि गाउँ नगर स्तरमा निर्वाचन परिचालन समितिहरू बनेका छन् । जिल्ला समितिले पनि ती समितिहरू सँग समन्वय गरिरहेको छ । निर्वाचन उत्साहजनक छ र नजिता पनि उत्साहजनक नै आउने अपेक्षा गरेका छौँ ।
तपाईँलाई विपक्षीहरूले पर्यटक उम्मेदवार भन्छन्, किन यस्तो प्रचार भइरहेको छ ?
मैले पनि कताकति यो कुरा सुनेँ । एकदमै नराम्रो लाग्यो । वास्तवमा साथीहरूलाई म के अनुरोध गर्न चाहन्छु भने म विरुद्ध प्रचार गर्ने अरू कुरा केही पनि नपाएर यस्तो कु प्रचार गर्ने दुस्साहस नगर्नुस् । म कहाँ जन्मे, कहाँ हुर्के भन्ने कुरा तिलोत्तमावासीलाई थाहा छैन र ? मेरो घर मणिग्राम ४ नम्बर ज्योति नगरमा छ ।
मेरा बुवा आमा म जन्मिनुभन्दा अघि नै यहाँ आउनुभएको हो । म यहीँ आएपछि जन्मिएको हुँ । मेरो घर नै यहीँ छ । अरूले के भन्छन् भन्ने कुराको पछि लाग्दिन । यहाँका बासिन्दालाई सबै थाहा छ । साथीहरूले हाम्रो चुनावी अभियानबाट आत्तिएर अरू कुनै विषय नपाएर यसरी दुष्प्रचार गरेका छन् । तर, त्यस्ता भ्रामक प्रचारले खास अर्थ राख्दैन । जनताले सही गलत छुटाउन सक्नुहुन्छ भन्ने मलाई विश्वास छ ।
तिलोत्तमा नगरपालिकामा देखिएको ५० करोड बेरुजुलाई कसरी लिनुहुन्छ ?
बेरुजु भनेको सामान्य भाषामा एउटा संस्थाले विनियोजित बजेटको कुनै खर्च विवरण बुझाउन नसक्नुलाई बेरुजु भनिन्छ । जसलाई नीतिगत भ्रष्टाचारको रूपमा लिने गरिन्छ । तसर्थ, तिलोत्तमा नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने प्रमुख लक्ष्य लिएको छु । नगरलाई समानुपातिक ढङ्गले विकास गर्दै व्यवस्थित, समृद्ध, औद्योगिक क्षेत्रको विकास, आवश्यक भौतिक पूर्वाधारहरूको निर्माण, जनतालाई सुशासनको प्रत्याभूति दिलाउने जस्ता काममा प्राथमिकताका साथ लाग्नेछु ।
यद्यपि, निर्वाचनमा मेरो जित भयो भने, नगरभित्र स्वास्थ्य, शिक्षा, रोजगारी र सिँचाइ जस्ता कुरालाई नगरपालिकाले प्राथमिकताका साथ अगाडि बढाउनेछ । अरू, स्थानीय सरकारका अधिकार र क्षेत्रअनुसारका काममा जोड दिनेछौँ । सरकारी सेवा सुविधा नलिने र आफूले पाउने तलबलाई नगरभित्र रहेका अनाथ, असहाय एवं विपन्न वर्गका बालबालिकाहरू र तिनको शिक्षाका लागि खर्च गर्नेछु । अहिले नगरपालिका भित्र रहेको कैयौँ बेथितिलाई अन्त्य गर्ने मेरो अठोट गरेको छु ।
अन्त्यमा, आम तिलोत्तमा नगरवासी मतदातालाई के भन्न चाहनु हुन्छ ?
आदरणीय आमाबुवा दाजुभाइ दिदीबहिनी आम मतदाता सम्पूर्णमा विशेष अनुरोध र आग्रह गर्न चाहन्छु । यस पटक मलाई आफ्नो अमूल्य मत दिएर जिताउनु होस् । यो जित तपाईकनै जित हुनेछ । तपाईँको गाउँ नगरकै एउटा नाति, छोरा, दाजु, भाइ, काका चुनावमा होमिएको छ, भन्ने सम्झेर मलाई रुख चिन्हमा छाप लगाई मत दिनुस् भन्न चाहन्छु । मलाई जिताएपछि पनि म तपाईँसँगै रहने छु । म शासकको रूपमा नगरपालिकामा बस्ने छैन । सेवक बन्ने छु । र बाँकी जीवन पनि नगरवासीकै सेवा गरेर बिताउने प्रण गर्दछु । नगरपालिकालाई पश्चिम नेपालकै सुन्दर, सुशासन युक्त, हिंसा मुक्त, आर्थिक र समृद्ध नगरको रूपमा विकास गर्नमा समय खर्चिने छु ।
गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार म रामकृष्ण खाँणलाई अमूल्य मत दिएर नगरपालिका राम्रो बनाउने मौका दिनुहोस् । हामीले तपाईँहरूको चाहना अनुसार नै काम गर्नेछौँ । खानेपानी, सडक, ढल निकास, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण काम गर्ने ठोस योजना बनाएका छौ । हामीले एमालेका उम्मेदवारले जस्तो झुटा आश्वासनहरू बाँड्ने छैनौँ । तर जे बोल्छौ त्यो गरेर देखाउँछौँ, भन्न चाहान्छौं ।