- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालको राजनीतिले एउटा स्थिर गति लिन नसक्दा नेपाली जनतामा राजनीतिप्रति अत्यन्तै अन्योल र वितृष्णा पैदा भएको देखिन्छ । दलहरूले राजनीतिलाई पेशा र खेलौनाको साधन बनाएका कारण यस्ता किसिमका अन्योल सिर्जना भएका हुन् । आज देश कता गइरहेको छ गन्तव्यको टुंगो नै छैन । आज न त नेपालका दलहरूको आफ्नो छुट्टै भिजन छ न त कुनै नेतामा दूरदृष्टि नै छ ।
दलहरू बीचको एक आपसको विचारविहीन अन्तर्कलहले बामे सर्दै गर्न थालेको लोकतन्त्रलाई विभिन्न बहानाबाजी बनाइ बलियो र मजबुत हुन दिइएको छैन । अब त उठ्छ कि भन्यो फेरि केही न केही प्रपञ्च रचेको देखिन्छ । अरु त परै जाओस् जिम्मेवार दलका शीर्षस्थ नेतामा नै राजनीतिक आचरण, संस्कार, संस्कृति, अनुशासन र मर्यादा नै पाइँदैन ।
कुनै पनि दल आफ्नो विचार, सिद्धान्त र नीतिमा हिँडेका छैनन् । राजनीतिलाई दलभित्रका केही शक्तिशाली गुटको स्वार्थपूर्तिको साधन बनाइएको छ । राजनीति अत्यन्तै फोहरी खेलको रुपमा परिचित हुँदै गएको छ । नेपालमा जति पनि दलहरू खोलिएका छन् ती सबैको एउटै उद्देश्य भनेको कसरी आफू वा आफ्नालाई सत्ताप्राप्ति गर्ने सकिन्छ भन्ने मात्र रहेको छ ।
बहुदलीय व्यवस्था अनुरुप दलहरूमा स्वच्छ र स्वस्थ्य प्रतिस्पर्धा भन्ने पटक्कै छैन । शीर्षस्थ नेताबाट नै एकअर्कोलाई तल्लो स्तरको सत्तोसराप गाली गर्नुभन्दा केही सुनिँदैन । देशको समृद्धि र विकासको एजेन्डामा कुनै नेता बोल्न सक्दैनन् । कुनै अल्पकालीन र दीर्घकालीन योजनाका बारेमा आफ्ना मतहरू राख्न सक्दैनन् । अर्को दल वा नेतालाई तथानाम गाली गरेर आफूलाई उच्च स्थानमा पुर्याउने भन्दा केही हुन सकेको छैन । जनतालाई भ्रममा पारेर फुस्रा आश्वासनका पोकाहरू बाँडिने मात्र काम भएको छ । राजनीतिलाई ठगी खाने भाँडो बनाइएको छ । जहाँ जे भ्रम छर्दा तालीको गडगडाहड आउँछ त्यहाँ त्यही बोलिदिन्छन् । साँच्चिकै आजकल नेपालको राजनीतिको परिदृश्य हेर्दा र नेताका भाषण सुन्दा यतिबेला सामाजिक संजालमा भाइरल भेलु बाजेको टिकटक हेरेजस्तै लाग्छ ।
भेलु बाजेको नामबाट परिचित प्यूठानका ६० वर्षीय मेनबहादुर बुढा अहिले सामाजिक संजाल युट्युब र टिकटकमा भाइरल भएका छन् ।मेनबहादुर अर्थात् भेलु बाजेको बोल्ने शैली, हाउभाउ, भाषा र आफ्ना केही अचम्मै किसिमका थेगाको प्रयोगले भाइरल बनेका हुन् । उनका अधिकांश भिडियोहरू हाँसोमजाक, उरन्ठेउला र मनोरञ्जन दिने किसिमका छन् भने केही अश्लील किसिमका पनि छन् । यतिबेला भेलु बाजेलाई टिकटक प्रयोगकर्ताले आम्दानीका साथै भ्युज बढाउने र मनोरञ्जनको साधनको श्रोत रुपमा प्रयोग गरेको देखिन्छ ।
यहाँसम्म कि भेलु बाजेलाई आफू सामाजिक संजालमा भाइरल भएको थाहा नै छैन । उनीसँग मोबाइल पनि छैन र टिकटकको एकाउन्ट पनि छैन भनिएको छ । अहिले उनको व्यक्तिगत जीवन र शैली सामाजिक संजालमा व्यापक भाइरल भएको छ । भेलु बाजेले बोल्ने भाषा, शब्द चयन र विन्यास, शैली, हाउभाउ समाजमा प्रचलित भन्दा भिन्न हुनाले हरेक बोलीमा हाँसो उठ्ने किसिमको छ । हाँस्नको लागि उनको पूरै वाक्य सुन्नै पर्दैन । बोल्ने शैली र हाउभाउ हाँसो लाग्ने किसिमको छ ।
उनको बोली र शैलीमा भिन्नता भए पनि विचारको दृष्टिले उनको बोलीमा केही विशेष पक्ष चाहिँ छैन । तर पनि उनी भाइरल भएका छन् । टिकटक खोल्यो कि शुरुमै भेलु बाजेका भिडियो आइहाल्छन् र मान्छेले हेरेर वा सुनेर मनोरञ्जन लिन्छन् ।
वास्तवमा मेनबहादुर अर्थात भेलु बाजे मनोरञ्जनका साधनको श्रोत बनेका छन् । यद्यपि उनको व्यक्तिगत जीवनप्रति मेरो कुनै आपत्ति चाहिँ छैन । उनको आफ्नो व्यक्तिगत हाउभाउ र शैलीले लोकप्रिय बन्न सकेकोमा भने सम्मान नै छ । नेपालको राजनीतिलाई पनि नेताले भेलु बाजेको टिकटक जस्तै कमाउने र मनोरञ्जन लिने साधनजस्तो बनाएका छन् ।
नेतामा कहाँ के बोल्दा उचित हुने हो वा कहाँ के बोल्नु पर्छ भन्ने होश नै छैन । नेताको बोलीमा कुनै ठेगान छैन । घन्टै पिच्छे बोली फेर्छन् । नेतामा जिम्मेवारीबोध, जवाफदेहिता र परिपक्वता भन्ने पनि छैन । आज बोलिएको बोलीको परिणाम के आउन सक्ला भन्ने सम्मको हेक्का पनि छैन । नेतामा एउटै चिन्तन छ जसरी पनि आफू वा छोराछोरी वा आफन्त वा आफ्नो गुटको मान्छेको लागि कुर्सी चाहियो ।
भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनको बेला पनि कतै गठबन्धनका र कतै ठगबन्धनका नाममा शीर्षस्थ नेताका भाषणमा आश्वासनका पोकामात्र बाँडिएनन् कि जनताप्रति नै आक्रोश र धम्कीका भाषाहरूसमेत प्रयोग गरिए । देशको जिम्मेवार दलका शीर्षस्थ नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै चितवनलगायत अन्य ठाउँमा गरेको सम्बोधनमा सामन्ती शैली नै देखियो ।
देशको जिम्मेवार नेताले जनतालाई उत्तेजनात्मक शैलीमा आक्रोश र धम्कीको भाषा प्रयोग गरिएबाट यो लोकतन्त्र हो कि सामन्तीतन्त्र हो भन्नेमा आशंका पैदा हुन्छ । शीर्षस्थ नेता भनाउँदाबाट नै लोकतन्त्रलाई मजाकको विषय बनाइएको छ । जनताको अधिकार र स्वतन्त्रताप्रति बन्देज लगाउन खोजिएको देखिन्छ । बेला बेलामा यस्ता शैली देख्दा त्यही टिकटकमा कहिलेकाहिँँ अनायासै रन्कने भेलु बाजेको सिको त गरेका छैनन् जस्तो पनि लाग्छ । नेताको बोलीमा कुनै तुक छैन । घन्टौंसम्म अर्को दलको नेतालाई गालीका फोहरा ओकल्छन् । आफ्नो पार्टीका एजेन्डा र विचारका बारेमा केही बोलेको सुनिदैन । निर्वाचनमा मतदातालाई आफूतिर आकर्षित गर्न दलका नेताहरूले प्रयोग गर्ने गाली भनेको जनसम्बोधनका लागि त महत्वपूर्ण खुराक नै भएको हुन्छ ।
त्यस्तै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालप्रति लक्षित गर्दै उच्चारण गर्दा पनि मुख अशुद्ध भयो भन्ने उक्ति कति नीच र तुच्छताको अभिव्यक्ति प्रकट गरिएको थियोे ।
यसले केपी ओलीको राजनीतिक संस्कार, आचरण र सभ्यताप्रति नै प्रश्न उठाएको देखिन्छ । केपी ओली कुनै सामान्य व्यक्ति होइनन्, देशको पूर्व प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष पनि हुन् । देशको जिम्मेवार व्यक्तिले जे मन लाग्यो त्यही मुख छोड्दा पक्कै पनि राजनैतिक संस्कार भएको सन्देश जान सक्दैन ।
जनसभामा सम्बोधन गर्दा जनतालाई आफूतिर आकर्षित गर्न विपक्षीलाई आरोप नै लगाउनुपर्छ भन्ने छैन । राजनैतिक तरिकाले पनि विपक्षी वा विरोधीको खण्डन गर्न सकिन्छ । दलहरू बिचको आपसी अविश्वास, नेताका यिनै र यस्तै अपरिपक्वता र मुख छाड्ने प्रवृत्तिले गर्दा लोकतन्त्र बलियो हुन सकेको छैन । आम जनतामा राजनीतिप्रति निराशा पैदा हुँदै गएको छ । आम नेपाली जनताको आशा भनेको नेताहरू उदाहरणीय, सांस्कारिक, सभ्य, इमान्दार बनून् भन्ने रहेको छ ।
गाली भनेको मानव मनमा कुनै बेला उत्पन्न आवेगको शमनको उपाय हो । तर यो जतिबेला पनि जहाँ मन लाग्यो त्यहाँ प्रयोग गर्दा उपयुक्त हुँदैन । नेपाली राजनीतिमा दलहरूका बीचमा मान–मर्यादा भन्ने केही पनि छैन । आम जनताले सुन्नै नसकिने शब्दहरू बाँदर, कुकुर, पागल, जङ्गली, गद्दार आदि जस्ता तुच्छ शब्दको प्रयोग गरिएका छन् । देशको जिम्मेवार नेताले यस्ता तुच्छ र घृणित किसिमका शब्दहरू प्रयोग गर्दा त भेलु बाजेको टिकटकको स्तरीयता धेरै माथि छ जस्तो पो लाग्छ । किनकि भेलु बाजेको बोलीमा कुनै नक्कलीपना र बनावटीपन चाहिँ छैन । यी नेताको बोली र गालीमा बेइज्जतीपना, कृत्रिमता, बनावटीपन, जनभ्रम र उत्तेजना मात्रै रहेको छ ।
राजनीति भनेको नीतिहरूको पनि नीति
हो, आज नेपालको राजनीतिलाई सत्ता र कुर्सी प्राप्तिको खेलौनाको साधन मात्र बनाइएको छ । केही मुठ्ठीभर नेताको निजी सम्पत्तिको रुपमा नेपालको राजनीति देखिन्छ । कहिले उनीहरू आफैं मिलेको नाटक मन्चन गर्छन् भने कहिले फुटेको मन्चन गर्छन् । ती सीमित व्यक्तिको सेरोफेरोमा राजनीति घुमेको हुनाले यसले परिपक्वता पाउन सकेको छैन र जनताले अनुभूति गर्न सकेका पनि छैनन् । राजनीतिबाट नै हरेक नीतिहरू प्रभावित हुने हुनाले देशका अरु नीति पनि चलायमान हुन सकेका छैनन् ।
नेताले सधैजसो निर्वाचनको बेला विकास र समृद्धिका ठूल्ठूला भाषण गर्छन । धेरै कुरा लोभ्याउँछन् तर आफ्नै व्यक्तिगत र दलीय स्वार्थको लागि राजनीतिलाई भागबन्डाको विषय बनाएर लड्न शुरु गर्छन् । शिक्षा, अर्थ, स्वास्थ्य, रोजगार, विकासमा कहिँ न कतै यस्तै फोहरी राजनीति भित्रिनाले सबैतिर दुर्गन्ध फैलिएको छ ।
देशको उन्नति, प्रगति र परिवर्तनका लागि राजनीति अनिवार्य चाहिन्छ । तर राजनीतिमा स्वच्छता र जनजीविकाका तमाम समस्याहरूको सम्बोधन हँुदैन भने त्यो राजनीति नभएर लाजनीति हुन्छ । अहिलेको यो राजनीतिको परिदृश्य हेर्दा राजनीति होइन, लाजनीति जस्तै लाग्छ ।
नेपालमा प्रजातन्त्र प्राप्तिको आन्दोलन लामो छ । २००७ मा प्रजातन्त्र आयो । तर एक दशक बित्दा नबित्दै २०१७ सालमा प्रजातन्त्रलाई लुटियो र पञ्चायती व्यवस्था लागू गरियो । करिब तीस वर्षको लडाइँपछि फेरि २०४६ मा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना भयो । २०४६ मा बहुदलीय प्रजातन्त्रको पुनःस्थापनादेखि अहिलेसम्म करिब ३२ वर्ष बितेका छन् । यति लामो ३२ वर्ष बितिसक्दा पनि प्रजातन्त्र बलियो हुन सकेको छैन ।
राजनीतिले एउटा गति लिन सकेको छैन । यही ३२ वर्षको समयावधिमा नेपाली राजनीतिमा विभिन्न पार्टीबाट जनसमर्थन जुटाउने उद्देश्यले वा जसरी पनि चुनाव जित्ने भन्ने चिन्तनले जनसम्बोधन वा भाषणमा विपक्षीलाई अत्यधिक राजनैतिक गालीहरू मात्र गरिएको सुनिया । दैनिकजसो आरोप प्रत्यारोप सुन्दा सुन्दा जनताहरू आजित हुनु परेको छ । व्यवस्था परिवर्तन भयो तर नेतामा व्यवस्था अनुरुपको राजनैतिक संस्कार,संस्कृति,आचरण र शैली परिवर्तन हुन सकेन ।
प्राणको बाजी लगाएर ल्याएको प्रजातन्त्रमा नेताहरूका बीचमा थोरै पनि कुरो नमिल्दा कुकुर र बिरालाको चाल देखिएपछि लोकतन्त्रले परिपक्वता पाउन सकेको छैन । लोकतन्त्रमा एक अर्कोमा स्वच्छ र स्वस्थ्य आलोचना र प्रतिस्पर्धा हुनु पर्नेमा कहिल्यै पनि सिर्जनात्मक, सकारात्मक बहस र टिप्पणी सुनिदैन ।
कुनै पार्टीको नेताले आफ्नो सम्बोधनमा आफ्नो पार्टीको कार्ययोजना अथवा भावी योजना सुनाउला भन्दा आधा भन्दा धेरै समय अर्को पार्टीलाई गाली बेइज्जत गरेर बिताउँछन् । यसले राजनीतिक परिपक्वता र जिम्मेवारबोध भएको सन्देश दिँदैन । लोकतन्त्रमा स्वच्छ आलोचना र स्वाभाविक प्रतिस्पर्धा नभएसम्म यो बलियो हुन चाहिँ सक्दैन । तर तथानाम एकअर्कालाई गाली गरेर त झन् यो कमजोर हुँदै गएको हो ।
हरेक दिनको पहिलो समाचार भनेको कुन नेताले कसलाई के भन्यो भन्ने गालीबाट शुरु हुन्छ । कुनै दिन पनि छिमेक र टोलमा विकास कसरी गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारका सवालमा कसरी नीति बनाउने अनि थुप्रै किसिमका असमानता र विभेदलाई अन्त्य कसरी गर्ने भन्ने बारेमा कुनै बहस हुँदैनन् । राजनीतिक अस्थिरता, पुरस्कार र दण्डको अभावले नेपाली जनता हरेक कुरामा पछाडि धकेलिँदै छन् । अन्ततः फेरि पनि देशको नीति निर्माण गर्ने नेतालाई पुरस्कार र दण्ड दिने भनेकै आवधिक निर्वाचन नै हो र जनताले हरेक निर्वाचनमा अत्यन्तै सचेत भएर मतदान गर्नुपर्छ । राम्रोलाई पुरस्कार र गलतलाई दण्ड दिनुपर्छ ।
सभ्य र शालीन भाषामा कसैको स्वच्छ आलोचना गरिन्छ भने त्यसलाई स्वभाविक नै मानिन्छ । आजको दिनमा त्यो स्वभाव कुनै नेतृत्वदेखि कार्यकर्तासम्म पनि छैन । नेताको पुच्छर र झोले प्रवृत्तिले गर्दा पार्टीको सबै तहमा नयाँ आचरणको विकास हुन सकेको छैन । लाखौं कार्यकर्ताको आम्दानी केही छैन तर तिनीहरूको जीवनपद्धति ऐसआराम र मोजमस्तीमा बितेको छ ।
रातदिन पसिना बगाएर र हड्डी पिसेर जनताले सरकारबाट एउटा सिटामोलसमेत नपाउने अवस्था छ । तर जो सम्पन्न छ उसैलाई राज्यले करोडौं रुपैयाँ दिन्छ, अनि यसलाई कसरी प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्था भन्ने ? संविधान र कानून एकातिर अनि व्यवहार र बोली ठीक अर्कोतिर रहेको छ । कानूनका किताबमा बोल्दा वा आलोचना गर्दा कानूनले बन्देज लगाएका विषयवस्तु, व्यक्तिगत गालीगलौज वा चरित्र हत्या गर्ने किसिमको शब्दावलीको प्रयोग गर्नु हुँदैन भन्ने अनि व्यवहारमा तथानाम गाली गर्ने परिपाटीले कानूनको पनि धज्जी उडाउने कामसमेत भएको छ ।
निर्वाचनमा नेताहरू जनता माझ जाँदा लोकतन्त्र र वाक् स्वतन्त्रताको नाममा एकअर्कोलाई सत्तोसराप र हिलो छ्यापाछ्याप बाहेक केही सुनिएन । यस्तो अवस्थामा जनताले कसलाई कसरी विश्वास गर्ने ? मान्छे बारम्बार जस्तो बोल्छ र जस्तो क्रियाकलाप गर्छ उसको आचरण र चिन्तनको विकास पनि त्यस्तै हुँदै जान्छ । आफू कसरी उदाहरणीय बनेर देखाउने भन्ने तरिकाले लाग्यो भने उसमा सकारात्मक सोच र असल चरित्र निर्माण हुँदै जान्छ । उसले दैनिकीमा अश्लील, गाली र बेइज्जती जस्ता शब्द बारम्बार प्रयोग गर्दा व्यक्तिको आचरण र चरित्र पनि नकारात्मक हुँदै जान्छ ।
यस्तो कुसंस्कारयुक्त ताली र गालीको अन्त्यको लागि सबैमा राजनैतिक संस्कार र चेतनाको विकास हुनु जरुरी छ । जबसम्म विकृति र कुसंस्कारविरुद्ध जनताले बोलिँदैन तबसम्म यस्ता गलत संस्कारले निरन्तरता नै पाउँछन् । नेपाली राजनीतिमा रहेको पार्टीले खान देला र म मोटाउँला भन्ने गलत संस्कारलाई हटाउनु पर्छ ।
लाखौं कार्यकर्ता झोले बनेर परनिर्भर भइ हिँड्नु हुँदैन । पार्टीमा चम्चे, झोले र टीके शैलीको अन्त्य गर्नुपर्छ । अनि मात्र पार्टी स्वच्छ बन्न सक्छ । नेपाली जनता वास्तवमा रोजगार, शिक्षा, स्वास्थ्य जस्ता सामाजिक विकास र आर्थिक उन्नतिका कुरा सुन्न र भोग्न आतुर छन् नकि एक अर्कोको गाली बेइज्जत सुन्न । जोगी बन्न राजनीति गरिएको होइन भनिन्छ । तर नाफाखोरी र कुसंस्कारी बन्न पनि राजनीति गरिनु हुन्न । राजनीति भनेको विशुद्ध समाज सेवा हो । यसलाई पेशा बनाउनु हुँदैन । समाजसेवीमा शिष्ट, सभ्य, मिठास र नम्रता हुनुपर्छ ।
राजनीतिमा ताली खान गाली नै गर्नुपर्छ भन्ने संस्कारलाई अन्त्य गर्नुपर्छ । हरेक दलका जिम्मेवार नेताले आफ्ना विचार, जनताका समस्या र देशको समग्र विकासका बारेमा पत्याउने र विश्वास गर्ने लायकको राजनीतिक वातावरण सिर्जना गर्नुपर्छ । जनताका पीरमर्का सुन्ने, दुःखसुखमा साथ दिने, राजनैतिक अस्थिरतालाई अन्त्य गर्ने र जनतालाई शान्ति सुरक्षाको व्यवस्था प्रत्याभूति दिने किसिमको राजनैतिक संस्कार, भाषा, बोली, शैली, आचरण, प्रतिबद्धता, जिम्मेवारबोध र जवाफदेहिता आदिजस्ता गुण नेतामा हुनुपर्छ ।
हामीले विगत ३२ वर्षदेखि भोगेको यथास्थिति र अस्थिर राजनीतिलाई अन्त्य गरी नयाँ व्यवस्था अनुरुपको अवस्थाको शुरूआत गर्नु नै अहिलेको प्रमुख आवश्यकता हो । नेतादेखि कार्यकर्तासम्मले देश विकासको एजेन्डा, राजनीतिक संस्कार, निर्वाचन प्रणाली, शैली र आचरणलाई भेलु बाजेको टिकटक जस्तो खेलौना वा मनोरञ्जनको सस्तो साधन बनाउनु हुँदैन । (लेखक अमेरिकाको भर्जिनियामा बस्छन्)