arrow

नगर विकासले पायो पोखराको पर्यटक बसपार्क

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
dhanraj.jpg

पोखरा । पर्यटन विभागले पोखरास्थित पर्यटकीय बसपार्कको स्वामित्व पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रममा विभागले बसपार्कको स्वामित्व उपत्यका नगर विकास समितिलाई बसपार्क हस्तान्तरण गरेको हो । 

उक्त अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय शहर पोखरामा पर्यटकीय बसपार्क निर्माणले पर्यटकीय क्षेत्रमा पक्कै पनि उत्साह थप्ने अपेक्षा गरे । 

उपत्यका नगरविकास समिति र पोखरा महानगरले उक्त बसपार्कको सहि उपयोग गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । पोखरावासीलाई बधाई दिँदै पोखरामा थप पर्यटकीय पूर्वाधार बन्ने र त्यसका लागि पोखरा महानगरपालिकासहित समग्र पर्यटनसम्बद्ध संस्थासंग मन्त्रालयले सहकार्य गर्ने उनको भनाइ छ ।

पोखरा महानगरका प्रमुख एवं पोखरा उपत्यका नगर विकास समतिका अध्यक्ष धनराज आचार्यले १८ रोपनी क्षेत्रफलमा सुविधासम्पन्न बसपार्क निर्माण गरि हस्तान्तरण गरेकोमा मन्त्रालय र पर्यटन विभागप्रति आभार प्रकट गरे । 

उनले पोखरा महानगरपालिकाले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको भन्दै यसका लागि संघीय सरकारकोतर्फबाट थप सहयोग हुने अपेक्षा प्रकट गरे । उपत्यका नगर विकास समितिमार्फत पोखरा महानगरले पर्यटन बसपार्कको उपायोग गर्ने र सेवा दिने प्रमुख आचार्यले जानकारी दिए । 

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव महेश न्यौपाने र पर्यटन विभाग तारानाथ अधिकारीको उपस्थिति रहेको थियो ।

बसापार्क निर्माणको जिम्मा पाएको निर्माण कम्पनी आशिष÷सिएम/मिसन जेभीका डाइरेक्टर सान्तकुमार श्रेष्ठका अनुसार पर्यटकी बसपार्कमा ४० वटा पर्यटक बहाक वस आवतजावत गर्न सक्नेछन् । १० वटा माइक्रो बस, २० वटा ट्याक्सी पार्किङ गर्ने स्थल र केही कार समेत राख्ने स्थल छ । 

बसपार्कको दक्षिण पूर्वबाट बस प्रवेश गर्ने र दक्षिण पश्चिमबाट बस बाहिरिने व्यवस्था छ । बसपार्कको पश्चिम र पूर्वी भागमा दुबैतर्फ १३० मिटर लामा नाला (ढल) निर्माण भएका छन् । बसपार्कको बीचमा आकर्षक आइल्यान्ड गार्डेन बनेको छ । जहाँ पर्यटक ओर्लिएपछि एकैछिन् उत्तरी हिमालतर्फको दृश्य खिच्न पाउनेछन् । 

डिभाइडरमासमेत फूल रोपेर आकर्षक बनाइने छ । बसपार्कमा व्यवस्थित शौचालय, चमेनागृह लगायतका प्रयोजनका लागि भवन निर्माण भएको छ । 

पर्यटन विभागका निर्देशक तारानाथ अधिकारीका अनुसार आठ करोड ४५ लाख ८३ हजार रुपैयाँ लागतमा बसपार्क निर्माण भएको हो । 

पोखरा महानगरपालिका वडा नं. ७ राष्ट्रबैंक चोक नजिक निर्माण भएकोे आधुनिक पर्यटन बसपार्क निर्माणको सम्झौता २८ फागुन २०७५ मा भएको थियो । निर्माण कम्पनीका अनुसार दुई असोज २०७७ भित्र बसपार्क निर्माण सम्पन्न भएर हस्तान्तरण गर्ने सम्झौता हो । तर कोरोना संक्रमणका कारण निर्माणमा केही ढिलाई भएको थियोे । बसपार्क सात हजार ९०० वर्गमिटरमा बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ