- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालको संविधान अनुसार संघीय र प्रादेशिक सांसदको लागि आवधिक निर्वाचन नजिकै आइरहेको छ । देशमा संघीय सांसदहरू मध्येबाट नै देशको कार्यकारी प्रमुख प्रधानमन्त्री चुनिने हुनाले अबको प्रधानमन्त्री कसलाई बनाउने भन्ने कुरामा आम जनता र राजनीतिक दलहरूमा व्यापक बहस हुनुपर्ने देखिन्छ । राजनीतिक दलहरू आफ्नो भावी प्रस्तावित प्रधानमन्त्री यो हो भनेर निर्वाचनमा जानुपर्छ ।
प्रधानमन्त्री भनेको देशको चलाउने शक्तिशाली व्यक्ति भएको हुनाले उसको देश विकासको योजना र उद्देश्य जनताले निर्वाचन पूर्व नै थाहा पाउनुपर्छ । राजनीतिक दलहरूले निर्वाचनपछि कोठे सल्लाहबाट वा टीके प्रणालीबाट प्रधानमन्त्री बनाउने परम्परालाई अन्त्य गरिनुपर्छ । राजनीतिक दलहरूले हाम्रो पार्टीले अवसर पाएमा अबको प्रधानमन्त्री यो हुनेछ भनेर निर्वाचनमा जानुपर्छ र सम्बन्धित व्यक्तिलाई अघि सारेर जनतासँग मत माग्ने हिम्मत गर्नुपर्छ ।
अबको प्रधानमन्त्री पनि ऊ र उस्तै बनाउने कि अर्कै नयाँलाई अगाडि सार्ने भनेर राजनीतिक दलहरू एउटा गम्भीर र महत्वपूर्ण निर्णयमा पुग्नुपर्ने देखिन्छ । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको परिणामबाट दलले धेरै कुरा सिक्नु पर्ने देखिन्छ । हिजो दलहरूले भन्ने गरेका उनीहरूका कुनै पकेट एरिया अहिले छैनन् । जनताले दलमात्र हेरेर भोट दिने अवस्था छैन । त्यसकारण दलले हाम्रो होइन राम्रो उम्मेदवार र पुराना जाँचिएर असफल भएका ऊ र उस्तै होइन अर्कै नयाँ व्यक्तिलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्नुपर्छ ।
नेपालका प्रधानमन्त्रीको इतिहासलाई हेर्दा अबको निर्वाचनपछि बन्ने प्रधानमन्त्री भनेको ४१ औं प्रधानमन्त्री हो । नेपालको राजनीतिक इतिहास कायम गर्ने वा ऐतिहासिक मोड हुने बेलाका प्रधानमन्त्रीको नाम लिनुपर्दा नेपालको प्रथम (प्रधानमन्त्री) मुख्तियार प्राप्त गर्ने व्यक्ति भीमसेन थापा हुन् । उनी वि.सं.१८६३ देखि १८९४ सम्म झण्डै ३१ वर्ष मुख्तियार भई शासन सत्ता सम्हालेका थिए ।
उनी नेपालका राष्ट्रिय विभूतिसमेत हुन् । नेपालको पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुर राणा हुन् । उनी वि.सं.१९०३ देखि १९३३ सम्म प्रधानमन्त्री बनेका थिए । १०४ वर्षको राणा शासन कालमा दशजना राणा प्रधानमन्त्रीले शासन गरेका थिए । अन्तिम राणा प्रधानमन्त्री मोहन शम्शेर भएका थिए । राणा शासनको अन्त्यपछि मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बने भने वि.सं. २०१६ मा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्रीका रुपमा विश्वेश्वरप्रसाद कोइराला निर्वाचित भएका थिए तर २०१७ सालमा राजा महेन्द्रले पञ्चायती शासन शुरुआत गरी उनलाई अपदस्त गरे । राजाको प्रत्यक्ष नेतृत्वमा पञ्चायती शासन २०४६ सालसम्म रह्यो ।
२०४६ सालको प्रजातन्त्रको पुनः बहालीपछि अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई बनेका थिए भने २०४६ पछिको जननिर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बनेका थिए । त्यस्तै नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी भएका थिए । नेपालमा गणतन्त्रको घोषणा पछिको पहिलो निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुन् भने गणतान्त्रिक संविधानको घोषणा गर्ने प्रधानमन्त्री सुशील कोइराला हुन् । नेपालको २१६ वर्षको इतिहासलाई हेर्दा कतिपय प्रधानमन्त्री पटकपटक दोहोरिएका थिए । वर्तमान प्रधानमन्त्रीको यो पाँचौं कार्यकाल हो । २०४६ सालमा बहुदलीय प्रजातन्त्रको पुनः बहालीपछि अहिलेसम्म आउँदा ३२ वर्षमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, खिलराज रेग्मी (प्रधान न्यायाधीश), सुशील कोइराला, खड्कप्रसाद (केपी) शर्मा ओली प्रधानमन्त्री बनेका छन् । गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा पाँच पाँच पटक प्रधानमन्त्री बने भने कृष्णप्रसाद भट्टराई, केपी ओली र प्रचण्ड दुई–दुई पटक तथा बांँकी एक पटक मात्र प्रधानमन्त्री बनेका थिए ।
सामान्यतया एउटा प्रधानमन्त्रीको कार्यकाल पाँच वर्ष हुनु पर्ने भए पनि प्रजातन्त्रको पुनः बहाली भएपछिका प्रधानमन्त्री कसैले पनि आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्न सकेनन् । सत्ताको लुछाचुडी, कुर्सीमोह, भागबन्डा, पदलोलुपताले गर्दा कुनै पनि सरकार पूर्ण अवधि चल्न सकेनन् । कुनै पनि सरकार पाँच वर्ष चलाउन नसक्दा पार्टी फुट्ने र जुट्ने जस्ता अनेकौं फोहरी खेल चलिरहेकै छन् । यतिसम्म कि सरकारमा जानको लागि व्यक्तिपिच्छे पार्टी पनि खोलिए ।
भागबन्डाको राजनीतिको संस्कार बसेको हुँदा नेपालका दलहरूले राजनीतिलाई मागी खाने भाँडो बनाएका छन् । आज राजनीति सेवा नभएर पेशा बनेको छ र यो लाजनीतिमा परिणत भएको छ । संसारको सबभन्दा राम्रो लोकतान्त्रिक व्यवस्था अवलम्बन गर्दा पनि जनताको अवस्थामा उल्लेखनीय परिवर्तन हुन सकेको छैन ।
नेपाल सानो र सुन्दर देश हो । प्राकृतिक श्रोत र साधनले सम्पन्न छ । यहाँका जनता अत्यन्तै इमानदार, मेहनती र परिश्रमी छन् । तर नेतृत्वपंक्ति अत्यन्तै गैरजिम्मेवार र अनुत्तरदायी हुनाले यहाँका जनता सधैंभरि गरिबीको रेखामुनि बाँच्न विवश हुनु परेको छ । यहाँका राजनीतिक दलहरूलाई जनताले जहिले पनि साथ दिएका छन् भने दलहरूले जनताको मर्म र भावना बुझ्न सकेका छैनन् ।
कुनै पनि दलमा देश र जनताका बारेमा चिन्ता छैन । उनीहरूलाई कहाँ र कसरी सत्ता र पद पाइन्छ भन्ने चिन्तन मात्र छ । हाटमा पसल थापेसरि सिद्धान्त र विचारविहीनका राजनीतिक पार्टीका पसल थापेर सत्ताको बार्गेनिङ गरिरहेका हुन्छन् ।
लोकतन्त्रमा देशको विकास होला भन्दा पार्टी, नेता र कार्यकर्ताको विकास भएको छ । नीतिहरूमा सर्वोच्च नीति मानिने राजनीतिलाई अराजनीति बनाइएको छ । अराजनीतिका कारण राज्यका सबै अङ्ग र निकायहरू स्वच्छ, सफा र स्वस्थ्य छैनन् । यी सबै कुराको परिणामस्वरुप देशमा अन्याय, अत्याचार, भ्रष्टाचार र हिंसाले जरो गाडेको छ ।
नेपाली समाजमा जरा गाडेर रहेको अन्याय, अत्याचार, शोषण, दमन, कुरीति, कुसंस्कार र भेदभावलाई जरैदेखि मिल्काउने उपयुक्त पात्रलाई आगामी संघीय निर्वाचनमा प्रधानमन्त्रीका रुपमा खोज्नु पर्ने देखिन्छ ।
अब पनि ऊ र ऊ जस्तैलाई फेरि पनि प्रधानमन्त्री बनाइयो भने नेपाली जनताको अवस्थामा कुनै किसिमको परिवर्तन हुन सक्दैन । भ्रष्टाचारमा चुर्लुम्म डुबेका, पटकपटक प्रधानमन्त्री भएर पनि माखो मार्न नसकेका पुराना मध्येका ऊ र ऊजस्तैबाट देशभित्रको यो विकृति र विसंगति फोहोरको डङ्गुर सफा गर्ने सम्भावना हुनै सक्दैन । फेरि पनि ती र त्यस्तै दोहोरिए भने नेपाली जनताको सुखद भविष्यको सपना झन टाढा धकलिने छ ।
अहिलेका ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवारका रुपमा उनै क्रमशः देउवा, ओली र प्रचण्डलाई अघि सार्ने संकेत पनि देखिएको छ । देउवा,ओली र प्रचण्ड पटकपटक जाँचिएर असफल भएका छन् । उमेर र सक्रियताको दृष्टिकोणले पनि यिनले अब देशलाई हाँक्न सक्ने सम्भावना नै छैन । अबको नेपालको प्रधानमन्त्रीको रुपमा सबै दलले युवा पुस्ताको प्रतिनिधित्व हुने किसिमले नयाँ व्यक्तिलाई अगाडि सार्नुपर्छ ।
नयाँ प्रधानमन्त्रीको प्रस्तावित उम्मेदवारले चुनावको नयाँ माहोल सिर्जना गरी मैदानमा उत्रिनु पर्ने देखिन्छ । गत स्थानीय निर्वाचनको परिणामबाट पनि नेपालका ठूला भनिएका दलहरूले अत्यन्तै महत्वपूर्ण शिक्षा ग्रहण गर्नु पर्ने देखिन्छ ।
जनता अत्यन्तै सचेत भइसकेको अवस्थामा फेरि पनि जनतालाई भ्रममा पारी दलहरूले ऊ र उस्तै व्यक्तिलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारे भने पुराना दलले ठूलो क्षति बेहोर्नु पर्ने देखिन्छ । नेपाल देश र नेपाली जनताको समुन्नतिको लागि पुराना र पुराना जस्तै होइन नयाँ व्यक्तिलाई अबको प्रधानमन्त्री बनाउनु पर्छ ।
हाम्रो देश बनाउन कुनै बाहिरी संसारबाट कुनै व्यक्तिलाई टपक्क टिपेर ल्याएर प्रधानमन्त्री बनाउन सकिँदैन । दलको विकल्प दल नै भएको हुनाले कि त पुराना दलहरू सच्चिनु पर्छ वा नयाँ दल निर्माण हुनुपर्छ ।
अब पुराना दलहरूले ’खाए खा नखाए घिच’ को राजनीति बन्द गर्नुपर्छ । अब जनताले जबर्जस्त घिच्न सक्दैनन् भन्ने संकेत आइसकेको छ । पुराना दलहरू उही पुरानै ढर्रामा चल्ने प्रयत्न गर्नु हुँदैन । समय र जनताको माग अनुकूल चल्नुपर्छ । यदि पुराना दलहरू नसुध्रिए इतिहासको पानामा सीमित हुनुपर्ने अवस्था नआउला भन्न सकिँदैन ।
दलहरूले आँखा खोलेर, विगतको गल्तीलाई स्वीकार गर्दै सुध्रिएर पार्टी भित्रका पुराना पुस्तालाई ससम्मान बिदा गर्दै नयाँ पुस्तालाई अगाडि सारेर आगामी निर्वाचनमा जनता समक्ष जानुपर्ने देखिन्छ । (लेखक अमेरिकाको भर्जिनियामा बस्छन् )