arrow

सुन्तला नर्सरीबाट मनग्य कमाइ

logo
रासस
प्रकाशित २०७९ साउन ५ बिहिबार
Orange plant.jpg

बागलुङ । बहुआयामिक सफल कृषकको रूपमा परिचय बनाएका बागलुङका केदार आचार्यले सुन्तलाको बिरुवा बिक्रीबाट मनग्य आम्दानी गरेका छन् । बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङखानीका केदार आचार्यले यस वर्ष नर्सरीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । 

विसं २०७३ देखि व्यावसायिक कृषि शुरु गरेका आचार्यले २०७७ सालमा नर्सरी शुरु गरेका थिए । अघिल्लो वर्ष पाँच हजार अलैँचीका बिरुवा बेचेर रु २५ हजार आम्दानी गरेका आचार्यले यस वर्ष सुन्तलाका बिरुवा बेचेर रु चार लाख २० हजार आम्दानी गरेका हुन् । 

आचार्यले यस वर्ष बेच्न मिल्ने गरी १५ हजार सुन्तलाका बिरुवा तयार गरेका थिए । स्थानीय प्रजातिका सुन्तलाका १५ हजार बिरुवा उत्पादन गर्दा आचार्यको प्रतिबिरुवा रु १८ लागत लागेको छ । १५ हजार बिरुवा उत्पादन गर्दा रु दुई लाख ७० हजार लगानी भएको आचार्य बताउछन् ।

सरकारी दररेटअनुसार प्रतिगोटा संस्थालाई रु २५ र व्यक्तिलाई रु ५० मा बेच्न मिल्ने भए पनि सोही दररेटअनुसार बिक्री गर्न नसिकएको आचार्यले बताए । उनले १० हजार बिरुवा रु २७ र अन्य तीन हजार बिरुवा गुणस्तर हेरेर रु ३५, रु ४५ र रु ५० दरले बिक्री गरेका थिए । 

आचार्यको नर्सरीबाट जैमिनी नगरपालिकाको कृषि शाखा र जैमिनीकै भगवती अलैँची पकेट समूहले पाँच-पाँच हजार बिरुवा खरिद खरेका गरेका छन् । त्यसैगरी कृषि ज्ञान केन्द्र बागलुङले दुई हजार ५०० बिरुवा खरिद गरेको आचार्यले बताए । उनको नर्सरीमा अझै दुई हजार बिक्री गर्न मिल्ने बिरुवा छन् ।

अन्य ५०० बिरुवा व्यक्तिले खरिद गरेको आचार्यको भनाइ छ । जैविक कृषि फार्म दर्ता गरेर गड्यौला खेती, तरकारी खेती गर्दै आचार्यले पछिल्लो समय नर्सरीबाट समेत राम्रो आम्दानी गर्न थालेका हुन् । उनको नर्सरीमा हिउँदमा बेच्नका लागि ५०० ओखर (बिजु) र एक हजार किवीका कलमी गरेका बिरुवा तयार भएका छन् ।

आगामी वर्षका लागि पर्वतको बासखर्कको स्थानीय प्रजाति र तेह्रथुमको खोको प्रजातिका सुन्तलाका १५ हजार बिरुवा तयार हुँदै गरेको आचार्यको भनाइ छ । उनको नर्सरीमा आगामी वर्षका लागि सुन्तलाका एक हजार ५०० कलमी र ५०० कागतीका बिरुवासमेत बेच्नका लागि तयार हुने छन् ।

लगाएको छोटो समयमै उत्पादन दिने भएर पछिल्लो समय कलमी बिरुवाको माग बढ्दै गएको हुँदा विस्तारै बिजु बिरुवा कम गरेर कलमीमा जोड दिने आचार्य बताउछन् । बिजु बिरुवाले लगाएको तीन वर्षमा उत्पादन दिन शुरु गर्ने र सातदेखि १० वर्षमा परिपक्क हुने भए पनि कलमी बिरुवा रोपेकै वर्षमा उत्पादन दिन शुरु गर्ने र तीन वर्षमा राम्रो उत्पादन दिन सुरु गर्ने भएकाले कृषकको रोजाइमा कलमी बिरुवा पर्न थालेको आचार्यले बताए ।

करिब २० रोपनी जमिनमा कृषि गर्दै आएका आचार्यले संरचना र विविध औजारमा मात्र रु ५० लाख लगानी गरेका छन् । जडीबुटी सङ्कलनको काम गर्न थालेका आचार्यले आगामी वर्षबाट सतुवा र अस्वगन्धजस्ता जडीबुटीको समेत नर्सरी शुरु गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ