arrow

शिथिल अर्थतन्त्रलाई गिज्याउँदै सार्वजनिक संस्थान, नाफा ३० गुणाले बढ्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
finance-ministry-mof.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । देशमा आर्थिक शिथिलता भएर निजी क्षेत्रदेखि सरकारको ट्रेजरी सोत बिग्रिरहेको बेला नेपालका सार्वजनिक संस्थानहरुको नाफा झण्डै ३० गुणाले बढेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरुको वित्तीय प्रगति विवरण सार्वजनिक गर्दै सरकारी स्वामित्वका ती सार्वजनिक संस्थानहरुको नाफा ३०४६.३९ प्रतिशतले बढेको जनाएको हो । 

नेपालमा अहिले ४४ वटा सार्वजनिक संस्थानहरु अस्तित्वमा छन् । ती संस्थानहरुले आर्थिक वर्ष २०७९–८० मा ४८ अर्ब ५१ करोड ७५ लाख रुपैयाँ बराबर खुद नाफा कमाएका छन् । अघिल्लो वर्ष ती सार्वजनिक संस्थानहरुले १ अर्ब ५४ करोड २० लाख रुपैयाँ मात्रै नाफा कमाएको अर्थ मन्त्रालयले जनाएको छ । 

सार्वजनिक संस्थानहरुको बिक्री, लगानी र अन्य आय तीनवटै अवस्थामा उल्लेख्य सुधार हुनुले यो वर्ष आम्दानीमा नाफामा सुधार भएको देखिन्छ । यो वर्ष सार्वजनिक संस्थानहरुले ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको कारोबार गरेका छन् । अघिल्लो वर्ष ५ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको कारोबार गरेका थिए । 

त्यस्तै, अघिल्लो वर्ष लगानीबाट ३३ अर्ब १७ करोड आम्दानी गरेका सार्वजनिक संस्थानहरुले ४८ अर्ब ४९ करोड रुपैयाँ नाफा गरेका छन् । अन्य आयतर्फ ३४ अर्ब रुपैयाँ बराबरको आम्दानी भएको छ । 

यसरी धेरै आम्दानी गर्ने सार्वजनिक संस्थानको सूचीमा नेपाल आयल निगम शीर्ष स्थानमा छ । निगमले गत आर्थिक वर्षमा ११ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको अर्थ मन्त्रालयले जनाएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले २ अर्ब ६३ करोड, नेपाल विद्युत् प्राधिकरणले ९ अर्ब ४० करोड, नेपाल टेलिकमले ७ अर्ब ९२ करोड नाफा कमाएको छ । 

त्यस्तै, कृषि विकास बैंकले १ अर्ब ३२ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ५९ करोड, नेपाल बैंक लिमिटेडले ३ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएका छन् । 

त्यस्तै निक्षेप तथा कर्जा सुरक्षण कोषले ३ अर्ब ८० करोड, नागरिक लगानी कोषले ३ अर्ब ८५ करोड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । 


अहिले सार्वजनिक संस्थानमध्ये वित्तीय क्षेत्र अन्तर्गत ९ वटा कम्पनी छन् । ती सबै संस्थानहरु नाफामा रहेको देखिएको छ  । जनउपयोगी क्षेत्र अन्तर्गत नेपाल खानेपानी स्ंसथान बाहेक अरु कम्पनीहरु नाफामा छन् । विद्युत प्राधिकरण, नेपाल टेलिकम, विद्युत् उत्पादन कम्पनी, राष्ट्रिय प्रसारण ग्रीड कम्पनी यस अन्तर्गत छन् । 

सामाजिक क्षेत्र अन्तर्गत जनक शिक्षा सामाग्री केन्द्र र गोरखापत्र संस्थान सामान्य नाफामा हुँदा अरु सबै संस्थाहरु नोक्सानमा छन् । यो क्षेत्र अन्तर्गत नोक्सानमा गएका कम्पनीहरुमा सांस्कृतिक संस्थान, नेपाल टेलिभिजन, राष्ट्रिय आवास कम्पनी समावेश छन् । 

सेवा क्षेत्र अन्तर्गत नेपाल रेल्वे कम्पनी, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास कम्पनी र नेपाल वायुसेवा निगम बाहेक अरु सबै कम्पनीहरु नाफामा छन् । यस अन्तर्गत कुल ९ वटा क्षेत्र पर्दछन् । 

व्यापारिक क्षेत्र अन्तर्गत नेपाल वन निगम बाहेक अरु सबै कम्पनी नाफामा छन् । यो क्षेत्र अन्तर्गत ४ वटा कम्पनी सञ्चालनमा रहेका छन् । 

औद्योगिक क्षेत्र अन्तर्गतका १० मध्ये ७ वटा संस्थान नोक्सानमा छन् । बन्द अवस्थामा पुगेको जनकपुर चुरोट कारखाना र धौवादी फलाम कम्पनी नाफामा हुँदा नेटल कम्पनीको नाफा शून्य छ । अरु कम्पनी नोक्सानमा छन् ।

अहिले अस्तित्वमा रहेका सार्वजनिक संस्थानको चुक्ता पूँजी ४ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, ६१ अर्ब १४ करोड रुपैयाँ सञ्चित नाफाको अवस्थामा रहेको देखिएको छ । 

सार्वजनिक संस्थानमा काम गर्ने एक कर्मचारीले औसत ९ लाख ८८ हजार रुपैयाँ बराबरको सेवा सुविधा प्राप्त गर्ने गरेको सार्वजनिक विवरणमा उल्लेख छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ