arrow

एमाले एक्लै चुनाव लड्ने रणनीतिभित्रको रहस्यः कांग्रेससँग बार्गेनिङ गर्न दिएर अन्तिममा वामपन्थी सरकार बनाउने योजना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
oli-prachanda-madhav.jpg
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेस सहितको दलीय गठबन्धनको चपेटामा परेको नेकपा एमालेले देशव्यापी रुपमा निर्वाचन लक्षित प्रशिक्षण शुरु गरेको छ । अहिलेकै गठबन्धनबीच आगामी निर्वाचनमासमेत तालमेल गर्ने पाँच दलको निर्णयपछि दबाबमा आएको प्रमुख विपक्ष दल एमालेले आफ्ना कार्यकर्तालाई प्रशिक्षित गर्न र परिचालनको खाका तयार पार्न देशव्यापी प्रशिक्षण शुरु गरेको हो । 

गठबन्धन कायम रहने वा नरहने भन्ने यकिन नभए पनि एमालेले आफ्नो तयारी थालेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाहिर एमालेसँग गठबन्धन नगर्ने भन्ने हल्ला चलाएका छन् । तर एमालेका नेताहरु र माओवादीका नेताहरुबीच निरन्तर छलफल र संवाद भैरहेका बेला एमालले भने आगामी निर्वाचनमा एकल बहुमतको लक्ष्यसहित सात वटै प्रदेशमा कार्यकर्ता प्रशिक्षण शुरु गरेको हो । 

प्रशिक्षणबाट स्थानीय तहको चुनावको प्रतिरक्षात्मक मनोविज्ञानबाट पार्टी पंक्तिलाई आमचुनावका लागि आक्रामक तयारीमा उतार्ने एमालेको योजना छ । प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र कर्णालीको प्रशिक्षणपछि एमालेले मंगलबार सुदूरपश्चिम र बुधबार लुम्बिनी प्रदेशमा प्रशिक्षण आयोजना गरेको थियो ।

पार्टी केन्द्रीय स्कुल विभागको संयोजन र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरूको नेतृत्वमा सञ्चालित सबै प्रदेशस्तरीय प्रशिक्षणमा अध्यक्ष केपी शर्मा ओली आफैँ सहभागी हुँदै आएका छन् । 

उपमहासचिव तथा स्कुल विभागका प्रमुख प्रदीप ज्ञवालीले मूलतः चार उद्देश्यसहित अहिले पार्टीले प्रदेशस्तरीय प्रशिक्षण सञ्चालन गरिरहेको बताए । ‘स्थानीय चुनावमा जनमतमा पहिलो भयौँ, तर पहिलेभन्दा सिट संख्यामा तल झर्यौँ, यसलाई तलसम्म बुझ्ने सवालमा एकरूपता ल्याउने गरी समीक्षात्मक सन्देश प्रवाह गर्ने पहिलो उद्देश्य छ । दोस्रो, स्थानीय चुनावमा तल देखिएका असमझदारी अन्त्य गर्ने उद्देश्य छ,’ उपमहासचिव ज्ञवालीले भने । 

उनका अनुसार तेस्रो, सिंगो पार्टी पंक्तिलाई एकाग्र भएर चुनावमा लाग्न प्रेरित गर्ने र चौथो, निर्वाचित जनप्रतिनिधिलाई पार्टीको कार्यदिशाअनुसार काम गर्न निर्देशित गर्ने उद्देश्यका साथ प्रशिक्षण शुरु भएको हो । 

एमालेका धेरैजसो नेताहरु अहिले शहरमा भन्दा पनि आफ्नो निर्वाचन क्षेत्रमा खटिएका छन् । उनीहरुले विकास निर्माणको समीक्षा र वर्तमान सरकारको काम कारवाहीबारे कार्यकर्ता र जनतामा प्रशिक्षित गर्ने उद्देश्य राखेका छन् । 

प्रशिक्षणको सवालमा जारी अन्तरपार्टी निर्देशनमा एमालेले प्रतिरक्षात्मक मनोविज्ञानबाट बाहिर ल्याएर आगामी चुनौती सामना गर्नका लागि सक्षम तुल्याउने भनिएको छ । निर्वाचनको परिणामपछि अनावश्यक रूपमा सिर्जित प्रतिरक्षात्मक मनोविज्ञानबाट कार्यकर्ता पंक्तिलाई बाहिर ल्याई उनीहरूलाई आगामी चुनौतीका लागि सहज सामना गर्न सक्ने तुल्याउन तत्काल देशव्यापी प्रशिक्षण अभियान सञ्चालन गर्नु आवश्यक छ । 

स्थानीय चुनावमा प्राप्त ३४ प्रतिशत लोकप्रिय मतलाई १६ प्रतिशत वृद्धि गरेर आमचुनावमा ५० प्रतिशतसम्म पुर्याउने एमालेको महत्वाकांक्षी योजना छ । नयाँ पुस्तामा विशेष ध्यान, जनाधार बलियो भएको ठाउँमा जनाधारलाई सुदृढ र कमजोर भएको ठाउँमा विस्तारमा जोड दिने नीतिमार्फत लक्ष्य हासिल गर्न सकिने एमालेको विश्वास छ । 

प्रदेशस्तरीय प्रशिक्षणमा सम्बन्धित प्रदेशका केन्द्रीयस्तरका नेता, जनसंगठनका पदाधिकारीहरू, प्रदेशका पदाधिकारी र सदस्यहरू, प्रदेश सम्पर्क समन्वयका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, जिल्ला सम्पर्क मञ्चका अध्यक्षहरू, पालिका कमिटीका अध्यक्ष, सांसदहरू, जनप्रतिनिधि सहभागी हुँदै आएका छन् ।

जसअनुसार प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमती प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, कर्णाली प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवालीलाई संयोजकको जिम्मेवारी तोकिएको थियो । 

उपाध्यक्षहरूलाई आवश्यकताअनुसार जिल्लाहरूको प्रशिक्षणको तयारी गर्न र सहभागी हुनसमेत निर्देशित गरिएको छ । अहिले पार्टीका सचिवहरुसमेत आफ्नो कार्यक्षेत्र र जिल्लामा खटिएका छन् । खासगरी एमाले कमजोर रहेका क्षेत्रमा एमालेका केन्द्रीय पदाधिकारीहरु नै सहभागी भएर प्रशिक्षण दिइरहेका छन् । 

अहिलेसम्मको स्थिति हेर्दा माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेससँग नै गठबन्धन गर्ने सम्भावना बढ्दै गएको छ । यी दुई दलसँग गठबन्धन हुन सके कांग्रेसले स्थानीय निर्वाचनको परिणाम पछ्याउनेछ ।

प्रतिनिधि सभामा पनि ऊ नै सबैभन्दा ठूलो दल बन्ने अवस्था रहेकाले एमालेले पनि आफ्नो रणनीति परिवर्तन गर्दै प्रशिक्षण अभियान शुरु गरेको बताइएको छ । 

अहिलेको अवस्थामा यसअघिका चुनावमा जस्तै आगामी निर्वाचनमा कसैको बहुमत हासिल हुन सकेन भने प्रतिनिधि सभामा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन हुने र वामपन्थी सरकार बन्ने सम्भावना रहने भएकाले एमाले सबैभन्दा ठूलो दल बन्नेतर्फ अग्रसर रहेको राजनीतिक विश्लेषण गर्न थालिएको छ । 

माओवादी केन्द्र र एकीकृत समाजवादी सम्भव भएसम्म सत्ता गठबन्धनलाई नै निरन्तरता दिने मुडमा देखिएपछि त्यही कारण एमाले नेताहरुले आफ्नो पार्टी आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने बताउने गरेका मात्र होइन पार्टीको अवस्थाबारे पनि मूल्यांकन गर्न थालेका छन् । 

एमाले आफैँले गठबन्धनको पहल गर्यो भने प्रयासको परिणाम नकारात्मक निस्कने सम्भावना उत्तिकै छ । एमालेले वाम गठबन्धनको प्रयास गर्नासाथ कांग्रेस थप सतर्क हुनेछ र सिट बाँडफाँडमा उदार बन्ने अवस्था नआओस् भन्नका लागि पनि एमाले सचेत रहेको नेताहरुको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ