- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लमजुङ । यतिबेला यहाँका किसानलाई कोदो रोप्न चटारो छ । रोपाइँ सकेर फुर्सद पाएका किसानलाई उपयुक्त सयम हुन थालेसँगै हप्ता १० दिन अघिदेखि कोदो रोप्ने चटारो पर्न थालेको हो ।
कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार केही समयदेखि जिल्लाभरि नै किसानले कोदो रोप्न थालेका छन् । उनले भने, “चिसो ठाउँ, मकै बारीभित्र र मकै टिपी भित्र्याइ सकेका बारीमा उपल्लो भेगका किसान कोदो रोपिरहेका छन् ।” जिल्लामा सबैभन्दा बढी दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिका क्षेत्रमा कोदो उत्पादन हुँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।
कार्यालयका अनुसार हालसम्म ४५ प्रतिशत कोदो रोपिसकिएको जिल्लामा समयमै पानी परेर धान पनि छिटो रोपेकाले कोदो रोप्नलाई समयमै किसानले समय पाएका छन् । दोर्दी वडा नं ५ पाचोककी सीता गुरुङले भनिन्, “धान रोपेर सकायौँ, अहिले कोदो रोप्न थालेका छौँ ।” यहाँका बासिन्दाले असारमै धान रोपिसकेर अहिले कोदो रोप्न थालेको उनको भनाइ छ ।
यस्तै, पाचोकस्थित सिमरुङगाउँका ४१ वर्षीय कुमार तामाङले साउनको पहिलो हप्ताबाट कोदो रोप्न शुरु गरेको बताए । खेतीपातीको समय भएकाले रोपाइँ सकिना साथ कोदो रोप्न व्यस्त भइरहेको उनको भनाइ छ । यहाँका किसान बिहान बेलुका घरमा भए पनि दिउँसो खेतबारीमै कोदो रोप्न व्यस्त भइरहेका छन् ।
मर्स्याङ्दी गाउँपालिका-६ लामपाटा गाउँकी शान्तिमाया तामाङ पनि केही दिनअघिबाट कोदो रोप्न बारीमा व्यस्त हुँदै आएका छन् । “धान रोपिसकेर कोदो रोप्न थालेका छौँ, अहिले बिहान र बेलुका मात्र घरमा हुन्छौँ, दिउँसो बारीमा जान्छौँ, घरमा हुनेबेला पनि ध्यान भने बारीमै हुने गरेको छ”, उनले भनिन् ।
बेँसीसहर नगरपालिका वड नं. २ चिसोपानीका हिरासिंह गुरुङले बर्सेनि करिब पाँच सय मुरीभन्दा बढी कोदो उत्पादन हुने यस गाउँमा हालसम्म ३० प्रतिशत रोपाइँ सम्पन्न भएको बताए ।
जिल्लाका किसानले ढल्लो, स्थानीय र ओख्ले कोदोको बीउ लगाउने गरे पनि सबैभन्दा बढी स्थानीय कोदोको बीउ रोप्ने गरेको केन्द्रले जनाएको छ । जिल्लाका दोर्दी, नाल्मा, भुलभुले, पसगाउँ, भोँजे, गिलुङ, मालिङ, करापुलगायतका गाउँमा कोदो उत्पादन राम्रो हुँदै आएको छ ।
जिल्लामा सात हजार नौ सय १९ हेक्टर क्षेत्रफलमा कोदो लगाइँदै आएको छ । करिब छ हजार उक सय ६० मेट्रिकटन कोदो उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।