- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आरुणिको समय आफ्नो शिष्य याज्ञवल्क्य (६५० ई) भन्दा केही पहिले हुनसक्छ । आरुणिको गुरु हुनाले प्रवाहण जैवलिलाई हामीले त्यो भन्दा केही पहिलेको मान्नु पर्ने हुन्छ । प्रवाहण पंचालको क्षेत्रीय राजा थिए । प्रवाहण जैवलिको प्रश्नको उत्तर दिन नसक्दा श्वेतकेतुले आफ्नो पिता आरुणि समक्ष रीसले जैवलीलाई ‘राजन्यबन्धु’ (वृहदारण्यक उपनिषद् ६।२।३, छान्दोग्य उपनिषद् ५।३।५) भनेर तिरस्कार गर्नाले पनि उनी क्षेत्रीय भएको प्रमाणित हुन्छ ।
अनि गौतम आरुणि राजा प्रवाहण जैवलिको समक्ष— ब्रह्म विद्या सिक्नका लागि गए । यो विद्या आरुणिभन्दा पहिले ‘कुनै व्राह्मणलाई ज्ञात थिएन’, तर यहाँ पनि जोड दिइएको छ – पंचाहुति, फेरि देवयाण, पितृयाण र पितृयाणबाट फर्केर फेरि यस लोकमा छान्दोग्य अनुसार ब्राह्मण क्षेत्री आदि योनिहरू र वृहदारण्यक अनुसार कीट–पतंग आदिमा पनि जन्मिन्छ ।
आरुणि शतपथ १ र ४।१२ अनुशार कुरु पंचालको ब्राह्मण थिए । यिनले पंचालराज प्रवाहण जैवलिबाट पंचाग्नि विद्या, देवयाण, पितृयाण (=पुनर्जन्म) तत्त्वको शिक्षा ग्रहण गर्नुका साथै राजा अश्वपति कैकय र चित्र गाम्र्यायणिसँग पनि दर्शनको शिक्षा ग्रहण गरेका थिए । आरुणिले पंचमाहुति र वैश्वानर–आत्माको ज्ञान आफ्ना क्षेत्रीय गुरुहरूबाट सिकेका थिए । तर उसको आफ्नो दर्शन त्यही थियो, जुन उसले आफ्नो छोरा श्वेतकेतुलाई ‘तत्वमसि’— अथवा ब्रह्म–जगत अभेदवाद— द्वारा बताएका थिए ।
आरुणिको मतमा तेज (= अग्नि) पहिलो भौतिकत्व थियो जसले दोश्रो तत्व—जल बनायो । जलबाट अन्न बन्यो । “मर्न लागेको (=प्राणी) वाणी मनमा मिल्दछ, मन प्राणमा, प्राण तेज (=अग्नि) मा, तेज परम देवतामा ।” आरुणि सद्ब्रह्म (=शारीरिक ब्रह्म) वादी थिए र भौतिक तत्त्वमा अग्निलाई पहिलो मान्दथे ।
डाक्टर श्रीधर व्यंकटेश केतकरले जनक वैदेहको गुरु भएको हुँदा याज्ञवल्क्यलाई विदेश (=तिरहुत) का निवासी मानेका छन् । वृहदारण्यक ३।१ अनुशार नी कुरु पंचालकवासी भएको संकेत गर्छ । यस कुरालाई मान्ने हो भने जैवलि, आरुणि, याज्ञवल्क्य यी तीनवटै उपनिषद्कालीन दिग्गज दार्शनिक कुरु पंचालकै वासी थिए । ऋग्वेदको समयदेखि (१५०० ईं.पू.) जुन प्रधानता यस प्रदेशले पाएको थियो त्यो याज्ञवल्क्यको समयसम्म कायम रह्यो, यद्यपि यसै बीचमा कैकय (पंजाब), काशी र विदेहमा पनि ज्ञान चर्चा हुन थालेको थियो । याज्ञवल्क्यसँग सुन्द रथहरू— घोडा, हात्ती, दासि, धनसम्पत्ती प्रशस्त थियो ।
याज्ञवल्क्यका सुन्दरी दासीहरू काम तृप्तिका साधन पनि थिए । उनका दुई पत्नीमा मैत्रयी ब्रह्मवादिनी थिइन् । तर कात्यायनी मात्र घर गृहस्थी समाल्ने सामान्य । सन्तान नभएको कारण गृहत्याग गर्न लाग्दा ब्रह्मवादिनी मैत्रेयी पनि पति जस्तै धनबाट विरक्तिएकी थिइन् ।
आनन्दको सीमा ब्रह्म अथवा ब्रह्मलोक हो— त्यो अभावात्मक गुणहरूको मात्र धनी होइन — यो उनको दर्शनको निचोड हो । अन्त्यमा उनले आनन्द त्यागे । घरबार छोडे । तर सन्तानविहीन एक वृद्धको रूपमा ।
युवावस्थामा उनले धन र कीर्ति खुब संग्रह गरे । वृद्ध अवस्थामा गृहत्याग गरी श्रमण र तापस बने । त्यतिखेरका ब्राह्मणहरू यस कुरामा डटेका थिए कि— यज्ञबाट लौकिक परलौकिक सम्पूर्ण सुख प्राप्त हुन्छ । यस बारेमा याज्ञवल्क्य भन्दथे— ‘ज्ञान नभएका कर्मले एकदम थोरैमात्र फल दिन्छ । ज्ञान, सर्वोच्च साधन हो, त्यस अक्षर ब्रह्मलाई हामी हेर्न सक्दैनौं, तर त्यो छ, त्यसको सामान्य छनक हामीले गाढा निद्रा (सुषुप्ति) मा पाउँदछौं ।’
सर्वश्रेष्ठ ब्रह्मज्ञानी याज्ञवल्क्य यज्ञको वेद (यजुर्वेद) को मुख्य आधार तथा यजुर्वेदको कर्मकाण्डीय ब्राह्मण— शतपथ ब्राह्मण— को महान् कर्ता भए ।