- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विश्वविद्यालयका एक मित्रले फेसबुकमा राखेपछि यस तस्बिरबारे फेरि याद आयो । पत्रकारिता पढ्दा र पढाउँदा यसबारे निकै नै चर्चा पनि गरियो । यो तस्बिर सन् १९९३ मा दक्षिणी सुडानको आयोडमा खिचिएको हो । तस्बिर खिच्ने थिए, दक्षिण अफ्रिकाका लोकप्रिय फोटो पत्रकार केभिन कार्टर ।
यो तस्बिरमा देखिएकी बालिका भोकले छट्पटाएर यस स्थानबाट करिब आधा माइल टाढा रहेको संयुक्त राष्ट्रसंघको खाद्य वितरण शिविरतिर जाने क्रममा बाटोमा अशक्त अवस्थामा पुगेकी थिइन् । यो छेवैको गिद्द बालिकाको स्वास गएपछि आफू पेट भरौंला भनेर पर्खिरहेको थियो । गिद्दको आचारसंहिताले जिउँदो प्राणीमाथि आक्रमण गर्न दिँदैन । त्यसैले यो भोको पन्छी अर्को प्राणीको अन्त्य पर्खिरहेको छ । यस हृदयविदारक दृश्यले अर्को एउटा हट्टाकट्टा प्राणीकोसमेत ज्यान लियो ।
अर्को दिन यो तस्बिरले विश्वकै सञ्चार माध्यमको मूख्य समाचार तस्बिर बन्ने अवसर पायो । फोटोको शीर्षक थियो, स्ट्रगलिङ गर्ल अथवा मृत्युसँग लड्दै गरेकी केटी ।
फोटो पत्रकार कार्टरले त्यसको एक वर्षपछि पुलिट्जर पुरस्कार पाए । यस पुरस्कारलाई अमेरिकाको नोबेल पुरस्कार मानिन्छ । अमेरिकाका आदिपत्रकार जोसेफ पुलिट्जरको सम्मानमा पुरस्कार स्थापना गरिएको हो ।
केही पछि ती अशक्त नाबालक बालिका नभइ बालक थिए भन्ने पनि कुरा आयो । त्यसपछि ती बालकको कथा त्यत्तिकै हरायो । मरे वा बाँचे कसैलाई मतलब पनि भएन ।
पुरस्कार पाएपछि कार्टरको विश्वव्यापी लोकप्रियता त बढ्नै भयो । यसै क्रममा एकजना अर्का पत्रकारले कार्टरको फोनबाट अन्तर्वार्ता लिए । उनले कार्टरलाई सोधे, ‘त्यो बालकको अवस्था कस्तो रह्यो होला’, कार्टरले स्वभाविक उत्तर दिए, ‘मलाई त्यसबारे खोज्ने फुर्सद कहाँ थियो र मलाई त तस्बिर सञ्चारमाध्यममा पुर्याउन नै हतार थियो ।’
फेरि अन्तर्वार्ता लिनेले प्रश्न तेर्स्याइ हाले –त्यसो भए त्यस तस्बिरमा दुईवटा गिद्द रहेछन्, एउटा बालकको मृत्यु पर्खिरहेको र अर्को क्यामेरा बोकेको होइन त ?’
यस प्रश्नले भने कार्टरलाई निरुत्तर बनायो । उनलाई निरुत्तरमात्र बनाएन, उनी डिप्रेसनमा गए र दुई महिनापछि उनले आत्महत्या नै गरे ।
यसरी एकजना लोकप्रिय पत्रकारको जीवन गयो ।
आज कतिपय मानवतावादीहरु यदि केभिन कार्टरले तस्बिर खिचेपछि त्यो बालकलाई मात्र आधा माइल दूरीमा रहेको खाद्य शिविरमा पुर्याइदिएका भए संभवतः त्यस बालकको जीवन बाँच्थ्यो । केभिन यसै लोकप्रिय भएकै थिए, उनले आफ्नै पनि जीवन बचाउँथे । आज पनि उनी विश्वका लोकप्रिय फोटो पत्रकारका रुपमा रहन्थे ।
आखिर उनले प्राप्त गरेको पुरस्कारको के अर्थ रह्यो र जब उनको आफ्नै जीवन नरहेपछि । यो त यी यसरी गफ गर्ने मेलो मात्र बन्यो । अब अर्को पत्रकारको कुरा गरौं ।
मिडिया टाइकुन ओपराको । ओपरा विन्फ्रे हाल विश्वकी धनी मिडिया सञ्चालकमा पर्दछिन् । उनलाई विश्वकै पहिलो काला जातकी अर्बपति महिला पनि मानिन्छ ।
ओपराको जन्म मध्यअमेरिकाको मिलवाकी ग्रामीण क्षेत्रमा एकल आमाबाट भएको थियो । उनीमाथि किशोरावस्थामा चरण यौन शोषण भयो ।
१४ वर्षकै उमेरमा गर्भवती भइन्, छोरो पनि जन्माइन् तर बचाउन सकिनन् । पेट पाल्न सञ्चार क्षेत्रमा आवद्ध भइन् । उनको प्रस्तुतिले यति छिटो बजार लियो कि उनलाई हार्वार्ड र ड्युक जस्ता विश्वविद्यालयले विद्यावारिधिको सम्मानसमेत दिन पछि परेनन् ।
अब यताकै कुरा गरौं ।
हाम्रोतिर अहिले सामाजिक सञ्जाल, युट्युब, समाज सेवा, स्टन्ट प्रयाङ्क आदिलाई खुब नाम र दाम कमाउने भाँडाका रुपमा लिइछ ।
सडक दुर्घटना भएका ठाउँमा, मानिसको अन्त्येष्टि हुँदै गरेका ठाउँमा, मानिस भावविह्वल भएका ठाउँमा, मानिसले प्रेमालाप गरेका ठाउँमा अगाडि वा पछाडि उभिएर सेल्फी खिचेर रमाइलो गर्ने परिपाटी निकै बढेको छ ।
पीडितलाई सहयोग गरेको नाममा उसलाई दुई दाना स्याउ दिएर क्यामेरातिर हेरेर, फिंगर क्रस गरेर तस्बिर खिचेर समाजसेवीको परिचय बनाउने होड चलेको छ ।
पछिल्लो समय राजधानीमा लामो समयसम्म आफू र आफ्नो छोराको अधिकारका लागि लड्दै आएकी एक युवतीबारे चर्चा गरेर लोकप्रियता जमाउने प्रयास पनि भइरहेको देखिन्छ ।
वास्तविकता यो स्तम्भकारलाई पनि थाहा छैन । तर समाज सेवाका नाममा, मानव अधिकारकर्मीका नाममा तथा ती युवतीलाई सहयोग गरेको नाममा तिनको सन्तान बलात्कारपछि भएको गर्भधारणबाट जन्मेको हो भनेर दाबी गर्ने क्रम खुवै बढेको छ ।
यस्तो अफवाह बन्द गरौं ।
हुन पनि सक्छ । उनीमाथि बलात्कार नै भएको थियो होला । तर भोलि वयष्क भएपछि त्यो बालकले ‘मेरो बुबा र आमाबीच भएको खटपट र आमाले न्यायका लागि आत्मदाह सम्मको प्रयास गरेर न्याय पाएको विषयलाई यिनीहरुले बलात्कारबाट बसेको गर्भबाट म जन्मेको भनेर हल्ला फिँजाए भने यी अभियन्ताको हालत के होला ?
यी बालकले वयष्क भएपछि आफ्नो फेसबुकमा यी यी मानिसले हाम्रो वाध्यताको लाभ उठाउर नाम कमाएका हुन् भनेर लेख्दा कस्तो होला ?
उनले यस्तै अन्तर्वार्ता दिएर युट्युब बनाउँदा आजका समाजसेवीको हालत कस्तो होला ?
किनभने कच्चा उमेरमै अन्तरजातीय विवाहपछि दुवै परिवारले स्वीकार नगरेका ती दम्पतीबाट ‘त्यो बालक जन्मेर पनि २–३ महिनाको हुन्जेल उनीहरुसँगै बस्थे । पछि घरपट्टीका आफन्तको दबाबमा ती पुरुषले आफ्नो सन्तान अस्वीकार गरे । कथित उच्च घराना तथा राजनीतिक संरक्षणको भरमा उनले आफ्नै पत्नी र छोरामाथि अत्याचार गर्दै आएको छ ’ भन्नेहरु पनि छन् ।
एकजना अभिनेत्रीले त फेसबुकमै लेखिन् । यस स्टाटसको पक्ष र विपक्षमा प्रशस्त प्रतिक्रिया पनि आएका छन् ।
भोलि तपाई हामीलाई ती बालकले केभिनलाई झैं क्यामेरा बोकेको गिद्दको संज्ञा देलान् । अहिले उनीहरुसँग फोटो खिचेर सामाजिक सञ्जालमा राखेकै घटनाले भोलि तपाई हाम्रै जीवनमा केभिनलाई जस्तो नहोस् ।
यसको अर्थ ती युवतीलाई सहयोग नगरौं भन्ने होइन । तपाई हामी सबैले तिनको अधिकारका लागि आवाज उठाउनुपर्दछ ।
राज्यले कुनै पनि नागरिकलाई विभेद गर्नुहुन्न । त्यसमा पनि महिला, बालबालिका, अशक्त तथा ज्येष्ठ नागरिकमाथि अझ सम्वेदनशील हुनुपर्दछ ।
त्यसमा पनि घर तथा माइतबाट निकालिएकी सन्तानकी आमाले त राज्यबाट स्वतः पालनपोषण तथा उचित सम्मानसहितको न्याय पाउनै पर्दछ ।
तर ती युवतीको अधिकार स्थापित गर्न अधिकारवादी तथा समाजसेवीहरुले चालेको कदमले बालकको मानसिकतामा असर पार्नुभएन । यसै त बाबुको मायाबाट वञ्चित हुन वाध्य उक्त बालक तपाई हाम्रो अभियानले अझ पीडित नबनोस् ।
केभिनको कथाबाट सिक्ने कि ओपराबाट भन्ने छनोट हामीमै निहीत छ ।
भर्खरै परिचयको खोजीमा पलाएको टुसालाई निरोगी बनाउनेतर्फ प्रयास गरौं । ती बालकलाई थप पीडा नदिऔं । पीडितहरुलाई न्यायका लागि सरकारमाथि दबाब दिऔं ।