arrow

प्रतिनिधि सभा निर्वाचन – २०७९

मोरङ ३ का मतदाताले किन चाहन्छन् डा सुनील शर्मालाई ?

मन्त्री बनेरसमेत काम नगरेका ढकालसँग मतदाता रुष्ट, शिक्षा र स्वास्थ्यमार्फत दिनरात सेवा गरेका शर्मालाई फाइदा पुग्ने विश्वास  

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ भदौ ९ बिहिबार
dr-sunil-sharma-nobel-hospi.jpg

मोरङ । निर्वाचन आयोगले निर्वाचनको मिति मंसिर ४ गते तोके सँगसँगै संघीय संसद र प्रदेश संसदको सम्भावित उम्मेदवारको चर्चा हुन थालेको छ । निर्वाचनको मिति तोकिएसँगै जिल्लाका १७ वटै पालिकामा निर्वाचनको माहोल छाउँदै गरेको देखिन्छ । जसमा मोरङ क्षेत्र नम्बर ३ लाई यस पटक रोचक ढंगले हेरिएको छ  ।

वामपन्थीहरुको बलियो आधार मानिएको ३ नम्बरमा यस पटक नेपाली कांग्रेसले दाबी गरेको देखिन्छ । गत निर्वाचनमा २०७४ सालमा झिनो मतान्तरले हारेका डा. सुनील शर्मा यस पटक पनि मैदानमा उत्रने तयारीमा रहेका छन् । अघिल्लो पटकझैं यस पटक पनि नेकपा एमालेबाट भानुभक्त ढकाल र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सुनील शर्माबीच नै प्रतिस्पर्धा हुने स्पष्ट देखिएको छ । गठबन्धनबीच एमालेले जितेको क्षेत्रमा दोस्रो भएकाले मौका पाउने सहमतिअनुसार डा. शर्माले टिकट पाउने पक्का जस्तै छ । 

गत निर्वाचनमा प्रदेश नम्बर १ मा एमालेको सबैभन्दा सुरक्षित क्षेत्र मानेर पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नजिक भएकै कारण तेह्रथुमबाट भानुभक्त ढकाललाई मोरङ क्षेत्र नम्बर ३ मा ल्याइएको थियो । 

सोही अनुसार खसेको ९१ हजार ६ सय ६ मतमध्ये ढकाल ४२ हजार ४ सय १३ मत ल्याएर विजयी बनेका थिए भने उनका निकटतम प्रतिस्पर्धी डा. सुनील शर्माले ४० हजार ५ सय ६ मत ल्याए । 

पटक पटक शक्तिको आडमा मन्त्री बनेका भानुभक्त ढकालले यो पाँच वर्षे अवधिमा आफ्ना मतदातालाई दिएको बाचा पूरा गरेनन् । 

त्यसको बदलामा विवादै विवादमा परे । तेह्रथुमका भएर उनले आफ्नो गृहजिल्लामै कार्यक्रम लिएर गएका छन् । मोरङ ३ का लागि केही गरेनन् । कानेपोखरीका एक मतदाता भन्छन्, ‘उनले हामीमाथि बेइमानी गरे । चुनाव जित्नलाई आएका टुरिष्ट परे । हामी लोकल मान्छे टुरिष्टको भर पर्दा पाँच वर्ष पछाडि परियो । अब त्यस्तो हुन दिइन्न । टुटिष्ट भनेको टुरिष्टै रैछ । आफ्नो भनेको आफ्नै हुन्छ ।’

पथरीका अर्का एक मतदाताका अनुसार उक्त क्षेत्रमा उनलाई कमिशनखोरका रुपमा चिनिने रहेछ । भानुभक्त ढकाल स्वास्थ्य मन्त्री हुँदा कात्रोमासमेत कमिशन खाने मन्त्रीका रुपमा परिचित रहेछन् । ती मतदाताले भने, ‘ज्यूँदै छँदा कसैले नदेख्ने कात्रोमा त उनले कमिशन खान छोडेनन् अब उनलाई के खानका लागि फेरि यहाँबाट जिताउने ?’

अर्थात् मोरङ ३ का मतदातामा अहिले एमाले सांसद ढकालमाथि आक्रोश बढी छ । कोरोनाको महामारी चलेका बेलामा उनले कात्रोमा कमिशन खाएको आरोप लाग्यो । चीनबाट कोरोना विरुद्धका स्वास्थ्य सामग्री ल्याउँदा पनि उनले मोटो रकम कमिशन खाएको आरोप लागेको हो । 

तर आफैंले सांसद बनाउन तेह्रथुमबाट मोरङमा ल्याएका एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ढकालको काँध थापे । कुनै अनुसन्धान गरेनन् । 

पथरीकै अर्का एक वौद्धिक स्थानीय भन्छन्, ‘ओलीले काँध नथापेको भए त ढकालको हालत पनि गोकुल बास्कोटाको जस्तै हुने थियो ।’

एकातिर सांसद ढकाल विवादै विवादमा फसेका छन् भने अर्कातिर चुनाव हारेका डा. शर्मा भने निरन्तर तिनै जनताको सेवामा लागिपरेका छन् । आफूले चुनाव हारेर उनले त्यो ठाउँ छाडेनन् । आजका दिनसम्म निरन्तर सेवा गरिरहेका छन् । 

डा. शर्माले नोबल अस्पतालमार्फत स्वास्थ्य र शिक्षामा जोड दिँदै आएका छन् । उनले मोरङ ३ मा कोही पनि रोग लागेर उपचार नपाएर मर्न नपरोस् भन्दै सेवा गरिरहेका छन् । 

निःशुल्क स्वास्थ्य शिविर चलाइरहेका छन् । वृद्धवृद्धालाई त शिविरबाट उपचार सम्भव नभएर अस्पतालमा आफैंले ल्याउने उपचार गराउने र फिर्ता पनि लगेर घरमै छाडिदिने काम गर्दै आएका छन् । 

यद्यपि उनलाई कांग्रेसभित्र आन्तरिक रुपमा एक खालले पेल्ने क्रम रहेको छ । गत वर्षको पार्टीको १४ औं महाधिवेशनमा पनि उनलाई केन्द्रीय तहमा पुग्नबाट रोक्ने क्रम चल्यो । 

पार्टीको आन्तरिक व्यवस्थापन गर्न सक्ने हो भने उनले टिकट पाउँदा कांग्रेसले जित्ने निश्चित जस्तै छ । गठबन्धनका नाममा कांग्रेसले माओवादीलाई सिट दिएन र उनलाई सिट दियो भने उनी मोरङ्गमा सबैभन्दा भारी मतले विजयी हुने आंकलन गरिएको छ । 

यदि माओवादीलाई सिट दिइए गठबन्धनका नाममा उनलाई पछाडि धकेल्ने कांग्रेस संस्थापन पक्षकै दाउ रहेको भनी बुझ्दा हुन्छ । 

हक्की स्वभावका उनी कहिलेकाहिँ विवादमा पनि आउँछन् । तर मतदाताले यही कुरालाई सकारात्मक पक्षका रुपमा बुझेका छन् । सकिन्छ भने हुन्छ भनिदिने र सकिँदैन भने हुन्न भनिदिने उनको साँचो बानी मतदाताले बुझिसकेको बताउँछन् । 

डा. शर्मालाई मर्दा पर्दा भेटिने नेताका रुपमा मतदाताले बुझेका छन् । उनी अहिले स्थानीयको रोजाइमा रहेका छन् । तर पनि सिट पाउने निश्चित भने छैन । स्थानीय एक कांग्रेस नेताले भने, ‘डा. साब्लाई हामी सबैले चाहेका छौं । तर जसरी महाधिवेशनताका प्रहरी लगाएर घेराबन्दी गरियो त्यस्तै अहिले पनि भयो भने त सिंगो मोरङ्ग ३ लागि दुर्भाग्य हुनेछ ।’ 

के छ प्रदेशको अवस्था ?   
२०७४ सालमा मोरङ ३ को क्षेत्रको प्रदेश सभा अन्तर्गत ‘क’ मा नेपाली कांग्रेसका सुयर्माराज राई विजयी भएका थिए । उनले २० हजार २ सय ९९ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी वाम गठबन्धनकी गीता तिम्सिनाले १९ हजार ३ सय ९९ मत ल्याएकी थिइन् । 

त्यस्तै सोही क्षेत्रको प्रदेश सभा अन्तर्गत ‘ख’ मा वाम गठबन्धनबाट राजकुमार ओझा विजयी भएका थिए । ओझाले २२ हजार ८ सय २० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ललित श्रेष्ठले २० हजार २ सय ८७ मत ल्याएका थिए । 

 आगामी निर्वाचनमा प्रदेश ‘क’ तर्फ नेपाली कांग्रेसका मानबहादुर लिम्बु, शेखर चन्द्र थापा र सुयर्माराज राई देखिएका छन् भने नेकपा एमालेबाट रामकुमार बस्नेत, ताराबहादुर काफ्ले र युवराज बास्कोटा देखिएका छन् । 

त्यसैगरी प्रदेश ‘ख’ तर्फ नेपाली कांग्रेसको तर्फबाट नगेन्द्र जम्मरकट्टेल, ललित श्रेष्ठ, राजेन्द्र ढकाल, राजेन्द्र अधिकारी र भोजराज बस्नेतको नाम चर्चामा रहेको छ भने नेकपा एमालेको तर्फबाट ज्ञानेन्द्र सुवेदी, राजकुमार ओझा र सुदन चौहानको नाम चर्चामा रहेको छ । माओवादी केन्द्रबाट सावीत्री कुमार काफ्लेको नाम चर्चामा छ । 

तर यस पटक प्रदेश ख मा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीको भागमा पर्ने सम्भावना देखिन्छ । समाजवादीको भागमा गए प्रदेश ‘क’ मा चण्डी राई र चन्द्र गुरुङ मध्येबाट र प्रदेश ‘ख’ मा पाए सेवन्तराज भण्डारी, लक्ष्मी कु श्रेष्ठ र लोकबहादुर बोगटी मध्येबाट हुने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ