arrow

रुपन्देही २ मा गठबन्धनमा आ–आफ्नै दाबी, एमालेबाट फेरि विष्णु पौडेल

logo
नारायण वली,
प्रकाशित २०७९ भदौ १० शुक्रबार
congress-uml-maobadi-as-jasapa.jpg

रुपन्देही । हरेक निर्वाचनका बेलामा केन्द्रीय स्तरसम्मको राजनीतिलाई एकखालको तरंग दिँदै आउने एक निर्वाचन क्षेत्र हो रुपन्देहीको क्षेत्र नं–२ । जसले निर्वाचनताका स्थानीयदेखि केन्द्रीय स्तरसम्मको राजनीतिक दलका नेताहरुको ध्यान केन्द्रित गर्छ । 

०५४ सालदेखि ०७४ सम्म स्थानीय तहको निर्वाचनमा आफ्नो वर्चस्व जमाउँदै आएको नेकपा एमाले, केन्द्रीय राजनीतिमा भने २०६४, २०७० र २०७४ मा लगातार जित्दै आएको छ । ६४ देखि हालसम्म चुनाव जित्दै आएका एमालेका नेता हुन्, विष्णुप्रसाद पौडेल । उनको निर्वाचन क्षेत्र रुपन्देहीको–२ पकेट जस्तै मानिन्छ ।

जुन क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लगातार छक्का हान्दै आएको भनी परिचित छ । तर आगामी मंसिर ४ गते हुने निर्वाचनमा भने ५ दलीय गठबन्धन एमालेका लागि भारी हुन सक्ने आँकलन गर्न थालिएको छ ।

प्रतिनिधि सभामा लगातार विजयी हुँदै आएका एमाले उपाध्यक्ष पौडेललाई गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनलाई फर्केर हेर्दा एमालेको लालकिल्ला मानिने बुटवलमा ६ हजार मतले जितेको थियो । 

क्षेत्र नं –२ मा यसपालिको निर्वाचनमा एमालेबाट पुरानै नेता पौडेल लड्ने पक्का जस्तै बनेको देखिन्छ भने सत्तारुढ गठबन्धनले हालसम्म कसलाई उठाउने भन्ने बारे टुंगो लगाउन नसकेको तर गठबन्धनका प्रमुख दलहरु नेपाली कांंग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एसका) नेताहरुले आ–आफ्नै व्यक्तिगत स्तरबाट उम्मेदवार बन्नका लागि चुनावी लबिङलाई जोड दिँदै आएको बुझिएको छ ।

गठबन्धन पक्षबाट एकीकृत समाजवादी एसका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले रुपन्देही क्षेत्र नं –२ मा एमालेका उपाध्यक्ष एवं यस क्षेत्रका उम्मेदवार पौडेल विरुद्ध आफूले उम्मेदवारी दिने जिकिर गरेका छन् । साथै उनका समर्थक कार्यकर्ताहरुमार्फत् गठबन्धनको साझा उम्मेदवार भन्दै सामाजिक सञ्जालमासमेत चुनावी प्रचारप्रसार थालेको पाइएको छ । नेता गुरुङ एमालेका नेता पौडेलका लागि गठबन्धन पार्टीभित्रका बलिया उम्मेदवार मानिएको उनी निकट नेताहरुको भनाइ छ । तर गठबन्धन पक्षबाट नेपाली कां‌ग्रेस र माओवादी केन्द्रले कसलाई उम्मेदवार घोषणा गर्ने भन्नेबारे ठोस निर्णय गर्न सकेका छैनन् ।

पार्टीले निर्णय गर्न नसकेका बेला नेपाली कां‌ग्रेसबाट नेता युवराज गिरी प्रमुख दावेदार देखिएका छन् । ०७४ को चुनावमा टिकट पाएका गिरी एमालेका विष्णु पौडेलसँग २२ हजार मतान्तरले पराजित भएका थिए । पार्टीभित्र इमान्दार, वैचारिक वक्ताको रुपमा गिरी चिनिन्छन् । 

यता माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वसंविधान सभा सदस्य विनोद पहाडीले उम्मेदवारीका लागि इच्छा देखाएको पाइएको छ । बुटवल एमालेको बलियो संगठन, गठबन्धन भित्र उत्पन्न असन्तुष्टिका साथै आफू पटक–पटक मन्त्री बन्दा भौतिक प्रगति गरेको भन्दै आफ्नो जित हुनेमा ढुक्क भएको समर्थकहरुको बुझाइ छ । उपाध्यक्ष पौडेल खेलकुद मन्त्रीदेखि गृहमन्त्रीसमेत भएका व्यक्ति हुन् । ०६४ सालमा माओवादीका भक्ति पाण्डे, ०७० सालमा तत्कालीन समयका माओवादी नेता डा.बाबुराम भट्टराई र ०७४ मा कांग्रेसका नेता युवराज गिरीलाई पराजित गरेका थिए ।

 क्षेत्र न‌ं २ मा बुटवल उप–महानगपालिकाका १ देखि १३ नम्बर वडासम्म, सैनामैना नगरपालिकाका १ देखि ४ नम्बर वडाहरु र तिलोत्तमा नगरपालिकाका १ देखि ६ नम्बर वडा पर्दछन् । पौडेलको चुनावी क्षेत्रमा पर्ने २३ वटा वडाहरुमध्ये गत स्थानीय तहमा कांग्रेसले ११ वटा वडा जितेको थियाे भने एमालेले ६ वटा मात्रै वडामा जित्न सफल भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ