arrow

पृथ्वी मानिसको पेवा हो ? 

logo
डा. बद्रीप्रकाश ओझा,
प्रकाशित २०७९ भदौ ११ शनिबार
dr-badri-prakash-ojha-article-4.jpg

उत्तरी डेनमार्कको फारो टापुमा गत वर्ष एकैदिन १४ सयभन्दा बढी डल्फिन मारिए । डल्फिनलाई मानवको अति मिलनसार साथी मानिन्छ । खासगरी कुनै प्राणी डुबेको जानकारी पाउनासाथ डल्फिनले आफ्नो ढाडमा राखेर तैराइ दिने हुनाले मायालु प्राणीका रुपमा लिइएको हो, भनिन्छ । 

तर फारोको स्थानीय परम्परा अनुसार वर्षमा एक पटक डल्फिन र ह्वेल माछालाई सामूहिक रुपमा मारिन्छ । मार्न पनि कति निर्दयी पाराले मारिन्छ भने ती जलचरलाई आफ्नो कुनै साथी कठिनाइमा परेको भान हुने आवाज निकालिन्छ । निर्दोष जलचर साथीको उद्दारमा आउँछन् । जब उनीहरु जम्मा हुन्छन्, तब आक्रमण गरिन्छ । समुद्रको पानी नै रगतले रातो हुन्छ । भन्नलाई मासु खान र संस्कृति जोगाउन यसो गरिएको हो भनिन्छ । 

यता हाम्रोतिर यस्तै अर्को परम्परा छ, त्यो हो धामीहरुले मयूरको प्वाँख लगाएर नाच्ने । अहिले आएर श्रीकृष्ण जन्माष्ठमीमा आफ्ना स–साना बालबालिकालाई मयूरको प्वाँख लगाएर कृष्ण र राधा बनाइन्छ । यसरी हाम्रा कलिला नानी बाबुहरुको शिर सजाउन निर्दोष मयूरलाई जालमा पारेर मारिन्छ । पूरै जंगलमा जाल हालेर ठूलो संख्यामा मयूरका भाले सखाप पारिन्छ । ती भालेका प्वाँखहरु हाम्रो घरभित्रसम्म आइपुग्छन् । 
हो, आदर्शकै कुरा गरेर मात्र पुग्दैन । 

व्यवसायिक रुपमा मासुकै लागि पालिएका पशुपन्छी तथा जलचर नमारेर के गर्नु त भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । कुरा पनि ठीकै हो तर मार्ने तरिका हुन्छ । कमभन्दा कम पीडामा कुनै मासुको स्रोत मारिए मासु नै स्वस्थ्य हुने विज्ञानले प्रमाणित गरिसकेको छ । 

विश्वमा वार्षिक ३ खर्ब पशुपन्छी तथा जलचर मासुका लागि मारिन्छन् । तीमध्ये २० करोड त ठूला जनावर नै पर्छन् । सबैतिर पशुपन्छी मारिन्छन् तर मार्ने तरिकामात्र फरक छ । सकेसम्म मर्नेले मर्दैछु भन्ने नजानी अथवा ऐया भनेर विलाप गर्न नपाए मार्नेलाई पनि मन अमिलो नहुने र यसरी मारिएका प्राणीको मासु खाँदा खानेहरुको शरीर पनि अमिलो नहुने प्रमाणित भइसकेको विषय हो । 

अर्को कुरा हाल बिरामी परेका धनीमानी र कतिपय अवस्थामा सर्वसाधारणले पनि मिर्गौला फेरिरहेको देखिन्छ । ज्यानै जाने भएपछि त फेर्नु पनि पर्यो तर कसले दिएको मिर्गोला फेरियो भन्ने मुख्य प्रश्न हो ।

तपाईलाई कोही आफन्त, कोही शुभचिन्तकले मिर्गौला दिए त राम्रो भैगो । आफू कमजोर भएरै पनि अर्काको खासगरी घरपरिवारका सदस्य तथा आफन्तको ज्यान जोगाउनु अति नै राम्रो कुरो हो । तर यदि बजारबाट मिर्गौला खरीद गरिन्छ भने अथवा बजारबाट सिधै खरीद गर्दा कानून लाग्ने डरले विदेशमा गएर, अझ हाम्रोतिर भन्ने हो भने भारत गएर कसैले मिर्गौला फेरेर आयो भने सम्झनुहोस्, त्यो मानिसले अप्रत्यक्ष रुपमा कसैको हत्या गराएको छ । यसको पेटमा रहेको मिर्गौला कसैको प्राण हो । 

अहिले भर्खर अमेरिकामा सँुगुरको मुटु मानिसमा प्रत्यारोपण गरेको घटनालाई मिडियाले खूब चर्चामा ल्यायो । यो राम्रो कुरा हो । अब भविष्यमा सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गर्न सके सुँगुरको व्यवसायिक उत्पादनमा वृद्धि हुन्छ । यसरी उत्पादन गरिएका सुँगुर मारिँदैन । सुँगुर मरे मुटु पनि मर्दछ । त्यसैले उसलाई लठ्याएर चिरफार गरी मुटु निकालिन्छ  र ऊ स्वभावतः मर्दछ । 

यता हाम्रोतिर पशुपन्छी बलि दिने परम्परा कायमै छ । भारततिर हाम्रो काठमाडौंस्थित नरदेवी मन्दिरलाई नरबलि दिने स्थान हो भनिँदो रहेछ । एक पटक भारत भ्रमणमा रहेका बेला २–४ जना बुज्रुकले यसै भने । 

काठमाडौं आएर यसबारे खासै खोज गर्ने हिम्मत भने गरिएन । मानिसकै बलि भनेपछि त्यहाँ चासो राख्ने हिम्मत कहाँ हुनु ? यदाकदा समाजमा बेपत्ता भएका बालबालिका भारतमा निर्माण हुने ठूलठूला पूल तथा पूर्वाधार निर्माणस्थलमा बलि दिन लगिन्छ भन्ने पनि सुनिन्थ्यो । कस्तो डरलाग्दो कुरो । कतिपय हराएका बालबालिका भारतका सर्कसमा भेटेर ल्याइन्छ । 

अहिलेको विश्वमा सबैभन्दा धेरै पशुको बलि दिने मुलुक भनेर नेपालको नाम लिइन्छ । हरेक एक निश्चित समयको अन्तरालमा लाग्ने गढीमाई धार्मिक मेलामा ठूलो संख्यामा राँगा, बोकाको बलि दिइन्छ । विदेशी सञ्चारमाध्यमले सन् २००९ मा साढे दुई लाखदेखि पाँच लाखसम्म राँगा बलि दिएको समाचार प्रसारण गरेका थिए । 

यी पशुको बलिका लागि दुई सय ५० कटुवा नियुक्त गरिएको पनि समाचाहरुले उल्लेख गरेका थिए । उनीहरुले अब सन् २०२४ मा फेरि लाग्ने मेलामा यसभन्दा बढी राँगा काटिने आशंका गरेका छन् । 

हाम्रैमा मात्र होइन, पशुपन्छीमाथि गैरमानवीय व्यवहार विश्वका धेरै भागमा गरिन्छ । प्रायः सबै संस्कृतिमा बलिको प्रथा छ । 

खासगरी गल्ली तथा घरका कुनाकाप्चामा बस्ने सामुदायिक कुकुरहरुको अवस्था अझ दयनीय छ । उनीहरु चोरेर वा कसैले फालेको खाना खान वाध्य छन् । एकातिर फालिएको खानाले वातावरण प्रदुषित पारेको छ । फोहोरमाथिको राजनीतिले जरो गाढेको छ भने हरेक घर तथा रेस्टुरेन्टमा फालिने खाना त्यहीं बाहिर बसेको कुकुरलाई दिन सक्ने फुर्सद हामीमा छैन । यो कस्तो व्यस्तपन हो ?

बुढा गाई र बहरहरु सडकमै छोड्ने एउटा अमानवीय प्रणाली विकास भएको छ । दूध दिइन्जेल आमा मानिने र दूध आउन छोडेपछि सडकमा छोडिने प्रथाले गौमाताहरु दयनीय अवस्थामा बाँच्छन् । 

बंगलादेशमा एक पटक यस्तो भएको थियो । विश्वकै घना जनसंख्या भएको उक्त मुलुकमा विषालु सर्पको बिगबिगी बढ्यो ।  त्यसपछि सरकारले सर्प मार्नेलाई पुरस्कारको व्यवस्था गर्यो । केही वर्षमा मार्ने होडबाजीका कारण सर्प सखाप भए । 

त्यसपछि मुसाको बिगबिगी भयो । अस्ति सर्पले मुसा खान्थ्यो । प्राकृतिक रुपमा सन्तुलन थियो । अब सर्प सकिए, मुसा बढे । फेरि सरकारले मुसा मार्नेलाई पुरस्कार दिन थाल्यो । अब फेरि अर्को समस्या पर्ला । 

यी पशुपन्छीले मानिसले जति वातावरणलाई पनि निवास गरेका छैनन् । कमसेकम उनीहरु गाडी त चढ्दैनन् ।  न त परमाणु भट्टी नै खोल्छन् । अनि किन हामी पशुपन्छीप्रति संवेदनशील बन्दैनौं ? के पृथ्वी मानिसकै लागि पेवा हो ? 


 



नयाँ