arrow

विष्णु पौडेलसँग भिड्न तयार मनोरोग विशेषज्ञ निकोलस

logo
नारायण वली,
प्रकाशित २०७९ भदौ २० सोमबार
99.jpg

रुपन्देही । शिक्षण अस्पताल महाराजगन्जको नसा तथा मनोरोग विभागका आवासीय चिकित्सक हुन् डा निकोलस भुषाल । स्वास्थ्य क्षेत्र अन्तर्गत डाक्टर पेशामा ०७४ सालदेखि शुरु गरेका रुपन्देहीका डा निकोलसको नाम आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि रुपन्देही क्षेत्र  २ मा यतिबेला चर्चा पाएको छ । 

एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र २ बाट लगातार तीन पटक चुनाव जित्दै आएर आफ्नो चुनावी पकेट क्षेत्र बनाएका नेता विष्णु पौडेलसँग स्वतन्त्रबाट भिड्न खोजेका डा–निकोलस रुपन्देहीबासी हुन् । ०५० सालमा अर्घाखाँचीको मालारानी गाउँपालिका वडा न–२ डाँडाकटेरीमा जन्मेका उनी प्राथमिक शिक्षा अर्घाखाँचीमा, निम्न माध्यमिक शिक्षा रुपन्देहीको सैनामैनामा, उच्च शिक्षा भारतको ब्याङ्गलोर, मेडिकल साइन्स एमबीबीएस लुम्बिनी मेडिकल कलेज पाल्पा र एमडी काठमाडाैंस्थित टिचिङ्ग अस्पतालमा अध्ययन गरेको उल्लेख छ । 

करिब ५ वर्षसम्म स्वास्थ्य क्षेत्रमा काम गरेका डा निकोलस व्यवसायिक पेशालाई निरन्तरता दिने बेलामा थाँती राख्दै स्वतन्त्रबाट राजनीतिक यात्रा तय गर्दैछन् । देशमा हालसम्म दलीय तन्त्रले राज्य सञ्चालन गर्दै आएको बेलामा उनी एमालेका उपाध्यक्ष पौडेलसँग निर्वाचन प्रतिष्पर्धामा उत्रेर आगामी मंसिरमा हुने निर्वाचनमा आफूलाई प्रतिनिधि सभामा उभ्याउन लागिपरेका छन् । 

डा निकोलस सामाजिक संस्थाहरुमा आवद्ध हुँदै आएको बताइएको छ । राष्ट्रका लागि युवा संस्थाको निवर्तमान संस्थापक अध्यक्ष भएको, युवा चिकित्सक संघका संयोजक, इन्टरनेशनल युथ सोसाइटीमा आवद्ध रहँदै गर्दा उनले भने 'चिकित्सक काममा लागेको म राजनीतिमा पैसा कमाउन भन्दा पनि दलीय तन्त्रले देशको स्थिति पछिल्लो समय बिगार्दै लगेकाले देश र जनताको विकासका लागि अब युवा पुस्ताहरु स्वतन्त्र भएर जाग्नुपर्ने आवश्यकता समयले मागेकाले स्वतन्त्र उम्मेदवारी दिने घोषणाका साथ तयारीमा जुटेको छु ।' 

देशको सामाजिक, आर्थिक रुपान्तरका लागि लामो समयदेखि निरन्तर प्रयासमा युवाहरुलाई समेट्दै स्वास्थ्य क्षेत्रमा नेपालको विकट पहाडी तथा हिमाली जिल्लाहरुमा रहेका अपाङ्गता तथा अन्य व्यक्तिहरुको स्वास्थ्य जाँच निःशुल्क रुपमा गर्ने गरी पूर्व झापादेखि पश्चिम दार्चुलासम्मका धेरैजसो गाउँमा पुगेर स्वास्थ्य सेवामा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले एउटा शिविर नै सञ्चालन गरेर हिंडेको उनी बताउँछन् । 

फोहोरबाट मोहोर उत्पादन गर्नुपर्छ भनेर युवापुस्तालाई साथमा लिएर अभियान चलाउन खोजेका डा भुषालले ०७२ सालको भूकम्प, त्यसपश्चात् आएको विनाशकारी हावाहुरी, बाढिपहिरोदेखि हरेक प्राकृतिक विपत्त्मा सहयोगी भूमिका निभाउँदै आएको र कोरोना भाइरस महामारीका बेलामा सरकारले सामान्य स्वास्थ्य जाँच गर्नसमेत चासो नदिएका बेलामा स्वास्थ्य उपचारका सामग्री मिलाउनेदेखि, चेकजाँच गर्ने, नेपाल–भारत सीमा क्षेत्रमा सचेतना कार्यक्रमदेखि अक्सिजन प्लान्ट बनाउने लगायत काम गरेको उनको भनाइ छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ